यसरी बन्दैछ देशकै अग्लो २५ तले बहुचर्चित ‘दमक भ्यूटावर’ (भिडियाे)

यसरी बन्दैछ देशकै अग्लो २५ तले बहुचर्चित ‘दमक भ्यूटावर’ (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

झापा जिल्लाको दमक नगरपालिका ३ दापागाछीमा करिब ५ बिघा क्षेत्रफलमा निर्माणाधीन दमक भ्यूटावरको चर्चा पछिल्लो समयमा निकै चुलियो । अहिले पनि यसको चर्चा सेलाएको छैन । हुन त भ्यूटावरले चर्चा मात्रै हैन विवाद पनि कमायो । गाँस, बास, कपासका साथै स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा समेत जनताको पहुँच नपुगेको अवस्थामा भ्यु टावरहरु किन निर्माण गरिदैछ भन्ने प्रश्न खडा भएको थियो । त्यसमा पनि तत्कालिन प्रधानमन्त्री केपी ओलीकै निर्वाचन क्षेत्र दमकमा एकाएक २५ तले भ्यूटावर बनाउने भन्ने समाचार आएसँगै यसले थप चर्चा पाउनु स्वाभाविक थियो । 

दमकको भ्यूटावरबाट के हेर्ने त ? यो प्रश्न सहितका थुप्रै आक्षेप धेरैले लगाए । तर यो भ्यूटावर आम जनताले बुझे जस्तो मात्र होइन भन्ने कुरा आयोजनालाई नजिकबाट बुझेपछि थाहा पाउन सकिन्छ । बहुउद्येशिय ब्यापारिक कम्प्लेक्स सहितको यो भ्युटावरलाई विदेशका अग्ला अग्ला कर्पोरेट टावर संरचनासँग दाज्न सकिन्छ । जसले भव्य र व्यवस्थित शहरीकरणको अभ्यासलाई नमुनालाई प्रति बुझ्ने भन्नेहरुको जमात पनि ठूलैछ । भ्यू टावरलाई व्यापारिक कम्प्लेक्स सहितको विभिन्न कामका लागि उपयोग गर्न सकिने निर्माण कम्पनीको भनाइ छ । 

के के रहन्छ त २५ तले भ्यू टावरमा ?

भ्यूटावारको २५ तलामध्ये १८ तलामा विभिन्न व्यापारिक भवन रहने छ । बाँकी रहेको ७ तलामा भ्यूटावरको संरचना रहने छ । जसमा १८ तलासम्म आरसिसी संरचना रहन्छ भने त्यो भन्दा माथि २८ मिटरसम्म स्टिलको संरचना रहने छ ।  भवनको अन्डरग्राउन्डमा पार्किङको व्यवस्था गरिएको छ भने भुँइ तला देखी तेस्रो तलामा रिटेल सप रहने परिकल्पना गरिएको छ । त्यस्तै चौथो तलामा सेमिनार हल रहनेछ । 

भवनको पाँचौँ देखी आठौँ तलसम्म व्यवसायीका कार्यलयहरु रहने छन् ।जसमा विभिन्न बैंकिङ संघ संस्थाहरु लगायतले निश्चित मूल्य तिरी भाडामा लिन सक्नेछन् । त्यस्तै ९ औँ तलादेखि १२ औँ तलासम्म एक्जिविसन ग्यालरी रहने छ । 

भवनको १३ औँ तलामा लज एण्ड बार रहने गरी भवन निर्माण भइरहेको छ । त्यस्तै १४ औँ तलामा रेस्टुरेन्ट र क्याफे रहने छ । त्यस भन्दा माथिको दुई तलाबाट भने दमक बजार र आसपासको क्षेत्र हेर्न र बुझ्न सकिनेछ । 
 

भ्यूटावरको पार्किङ क्षमता

दमक भ्यूटावरमा ४० वटा चार चक्के गाडी पाकिंङको क्षमता रहेको छ भने दुई सय वटा दुई चक्के सवारी साधनपार्किङ गर्न सकिन्छ । भ्यूटावरको अन्डरग्राउन्ड पार्किङ अपर्याप्त भएको खण्डमा भवनको पश्चिम तर्फ पनि स्थान छुट्टाइएको छ ।

कति सम्पन्न भयो निर्माण कार्य ?

निर्माण कार्यमा कोभिडको प्रभाव पर्यो । जसका कारण काम केही सुस्त हुन पुग्यो । यद्यपि निर्माण व्यवसायीहरूले सुरक्षाका प्रवधानहरु अपनाएर कामलाई निरन्तरता दिएकाले हालसम्म १३ तलासम्मको काम भने सम्पन्न भएको निर्माण कम्पनी बताउँछ । 

हल्लाका कारण विवाद

जनताले सोचे जस्तो उपयोगविहीन भने यो टावर नहुने दाबी सरकारी पक्षको छ । फरक कामको विरोध गर्नेहरुले फैल्याएको हल्लाका कारण भ्यू टावल निर्माण विवादमा आएको प्रमुख इन्जिनियर राजेन्द्र खतिवडा बताउँछन् । जनताले भ्यूटावर भनेर भ्यू मात्र हेर्ने टावरको रूपमा बुझेकाले विवाद आउने गरेको उनको बुझाइ छ ।सर्वसाधारणले भ्यूटावरको वास्तविकता बुझे कुनै पनि विवाद नआउने उनको भनाइ छ । भ्यूटावरको संरचना कस्तो बन्ने हो ? यसको निर्माणको उद्देश्य के हो ? कुन प्रयोजनका लागि प्रयोग हुन्छ र यसबाट स्थानीयले पाउने लाभको बारेमा बोध गराउन आवश्यक रहेको उनको भनाई छ ।
 

कस्तो बन्छ भ्यूटावर ?

भ्यूटावरका १६ वटा तला विभिन्न प्रयोजनका लागि छुट्टाइएको छ । त्यस भन्दा माथिका दुई वटा तलाबाट वरिपरिका दृश्य अवलोकन गर्न सकिने छ । जसमा ढल्किएर अथवा बसेर अवलोकन गर्ने गरी संरचनाको विकास हुनेछ । अवलोकन गर्न जाने ठाउँसम्म पुग्न २ वटा लिफ्टको व्यवस्था समेत गरिएको छ । भवनमा अन्य दुई वटा लिफ्ट समेत रहेन छन् जुन अन्य प्रयोजनका लागि व्यवस्थापन गरिने छ । १८ तला भन्दा माथि २५ तलासम्म स्टिलको संरचना रहनेछ । जसले भवनलाई टावरको आकार दिन मद्दत गर्छ । उक्त स्टिलको संरचना केवल नमुनाको लागि मात्र निर्माण हुने बताइएको छ । जसले भवनलाई टावरको स्वरूपमा परिणत गर्नेछ ।
 

सुरक्षाको लागि प्रशस्त खुल्ला ठाउँ

भवनको मापदण्ड अनुसार खुल्ला क्षेत्र आवश्यक पर्ने र करिब २ हजार जना मानिसहरू एकै समयमा रहन सक्ने गरी संरचनाको विकास गरिएकाले सुरक्षा तर्फ पनि ध्यान दिइएको छ । कुनै प्राकृतिक विपत्ति भूकम्प अथवा आगलागी जस्तो समस्या आएको खण्डमा प्रशस्त रूपमा खुल्ला स्थानको व्यवस्थापन गरिएको छ ।
 

भ्यूटावरसँगै व्यवस्थित सहरीकरण 

भ्यूटावरमा निर्माणसँगै वरिपरिका वस्तिहरूलाई व्यवस्थित रूपमा सहरीकरण गर्ने योजना समेत सरकारको रहेको छ । भ्यूटावरको वरिपरि रहेको स्थानका सर्वसाधारणको स्वामित्व रहेका खुल्ला जमिनहरू सरकारीले अधिग्रहण गरेर बाटो, बिजुली, खानेपानी, आवास र खुल्ला स्थान सहितको वस्ति विकास गर्ने कार्य समेत अघि बढिसकेको छ । जसका लागि स्थानीयले सरकारलाई जग्गा उपलब्ध गराउने र विकसित तथा व्यवस्थित सहरीकरणको नमुना निर्माण गर्ने कार्यमा सहयोग गर्ने भएका छन् ।
 

कहिले सम्म सम्पन्न हुन्छ निर्माण कार्य ?

भ्यूटावर निर्माणको कार्य ३० महिनाको अवधिमा सम्पन्न हुनुपर्ने सम्झौता रहेको थियो । जसअनुसार २०७८ पुससम्ममा निर्माण सम्पन्न हुनुपर्ने थियो । तर कोभिडको कारण काममा अवरोध भएकाले तोकिएको समयमा निर्माण सम्पन्न हुन सकेन । जसकारण सरकारले साढे ७ महिनाको समय थप गरेको छ । यससँगै २०७९ साउन १५ सम्ममा निर्माण सम्पन्न हुनुपर्ने हुन्छ ।

यद्यपि थपिएको समयमा पनि काम नसिकिने निर्माण व्यवसायीको तर्फबाट प्रोजेक्ट म्यानेजर रहेका सरतल विडारि बताउँछन् । उनका अनुसार २०७९ को चैत्र मसान्तसम्ममा निर्माण कार्य सम्पन्न हुनेछ ।

 

Skip This
Skip This
Logo