बैंकिङ कसूरमा फरार दुई जना पक्राउ

बैंकिङ कसूरमा फरार दुई जना पक्राउ


बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी रहेकी छन्। उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।  

उनीहरूमध्ये कवितालाई उच्च अदालत पाटनले २०७६ फागुन ६ गते  उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो। लिनालाई २०७६ माघ १९ गतेको फैसलाले १५ दिन कैद र ५४ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। 

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले कवितालाई काठमाडौं कालोपुल र लिनालाई काठमाडौं नयाँबस्तीबाट पक्राउ गरेको हो। 

उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसाला गरेको हो। 

उनीहरूलाई फैसाला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ।  

Logo