नबिल बैंकले सार्वजनिक शौचालय सञ्चालन गर्ने

नबिल बैंकले सार्वजनिक शौचालय सञ्चालन गर्ने


नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ।

काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । नगर कार्यपालिकाको ०७९ जेठ १६ को निर्णयअनुसार सार्र्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप नबिल बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो ।

महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचनासहितको संकेतबोर्ड प्रष्ट देखिने गरि बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ । 

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच बर्ष अवधिको लागि गरिएको हो ।

नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि ऐक्यबद्घता जनाएको बताए । “नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढि रहन्छौं । नबिल बैंकले दीगो बैंकिङको अवधारणा अनुरुप काठमाडौँको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं ।”, उनले भने ।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार चार महिनामा गर्नेछ । यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ। 

Logo