काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिए।
उनले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिँदै नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगाली र स्पेनी भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गरे ।
पर्यटनमन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययिता कायम गर्न र विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिए । उनले पर्यटन बोर्डका पदाधिकारीलाई कोभिड–१९ को महामारीका समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्वसम्पदा, हिमाल, पदयात्रा, सिमसार, सङ्ग्रहालय, निकुञ्ज लगायत भर्चुअल टुरको सामग्री तयार गर्न पनि आग्रह गरे ।
मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण प्रतिवेदन तथा पर्यटकीय क्षेत्रका वृत्तचित्र लगायत सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै कोरोनाका कारण पर्यटन व्यवसायी, पर्यटन मजदूर लगायतमा देखिएका समस्या तथा पलायन रोक्नका लागि मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिए ।
उनले विभिन्न देशका रहेका पर्यटन डेस्कलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका सङ्घसंस्थासँग सञ्जाल विस्तार गर्नसमेत आग्रह गरे । मन्त्री भट्टराईले कोभिड– १९ महामारी अन्त्यपछि पर्यटन उत्थानका योजना बनाउनसमेत आग्रह गरे ।
मन्त्री भट्टराईले नेपालमा स्वास्थ्य, शिक्षा र खेलकूद पर्यटनको सम्भावनाबारे अध्ययन अनुसन्धान गर्न आग्रह गरे । छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीले आर्थिक वर्ष २०७६/७७ को प्रगति र ७७/०७८ का कार्यक्रमकाबारे जानकारी दिएका थिए।































प्रतिक्रिया