मोडिफाइड मोटरसाइकलबाट ध्वनी प्रदूषण गर्ने ७६ चालक नियन्त्रणमा, ट्राफिक प्रहरीको कडाइ

मोडिफाइड मोटरसाइकलबाट ध्वनी प्रदूषण गर्ने ७६ चालक नियन्त्रणमा, ट्राफिक प्रहरीको कडाइ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन (मोडिफाई) गरिएका तथा अत्यधिक आवाज निकाल्ने मोटरसाइकल सञ्चालन गर्ने चालकहरूमाथि कारवाहीलाई तीव्र बनाएको छ। यस्ता सवारीसाधनले शहरी क्षेत्रमा ध्वनी प्रदूषण र सार्वजनिक असहजता बढाएको भन्दै ट्राफिक प्रहरीले विशेष निगरानीसहित तीन दिनको अभियान सञ्चालन गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, जेठ २० देखि २२ गतेसम्मको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ७६ वटा मोडिफाइड मोटरसाइकलसहित सम्बन्धित चालकहरूलाई नियन्त्रणमा लिइएको छ। ती सबैलाई यातायात व्यवस्था विभागमा कारवाहीका लागि पठाइएको जानकारी दिइएको छ।

शहरका सडकहरूमा हो–हल्ला गर्ने, साइलेन्सरबाट ठुलो आवाज तथा आगोको झिल्का निकाल्ने जस्ता गतिविधि गर्दै मोटरसाइकल चलाउने प्रवृत्ति पछिल्ला दिनहरूमा बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले नागरिकहरूलाई त्यस्ता सवारीसाधन देखेमा तुरुन्त जानकारी दिन आग्रह समेत गरेको छ।

प्रहरीले भनेको छ, “यदि यस्तो मोटरसाइकल तपाईंको वडा वा एरियामा चलिरहेको देख्नुभयो भने, ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० नम्बरमा जानकारी गराउनुहोस्।” प्रहरीले जनताबाट प्राप्त हुने यस्ता सूचनालाई पूर्ण रूपमा गोप्य राखिने पनि स्पष्ट पारेको छ।

ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक हितको लागि अभियानलाई अझ कडा बनाउँदै लैजाने र नियम विपरीतका सवारी साधनलाई कानुनी दायरामा ल्याउने बताएको छ।

Skip This
Skip This
Logo