क्यूआर कोड वितरणः बैंकहरु आक्रामकरुपमा अगाडि बढ्दै

क्यूआर कोड वितरणः बैंकहरु आक्रामकरुपमा अगाडि बढ्दै


 

पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशभरका मुख्य सहरी क्षेत्रका तरकारी बजारहरु तथा सार्वजनिक यातायातका क्षेत्रमा डिजिटल भूक्तानी क्यूआर काेड बोकेर बैंकहरु आक्रामक रुपमा अगाडि बढेका छन् ।

कोरोना महामारीपछि अनलाइन सिस्टम अर्थात विद्युतिय कारोबार बढ्दै गएको छ । महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बाहिर निस्कन नपाउँदा मानिसहरुले घरमा नै बसेर इन्टरनेटको पहुँचमा रहेका सबैले अनलाइनमार्फत कारोबार तथा रकम भूक्तानी गर्न थालेसँगै डिजिटल भूक्तानी बढ्दै गएको छ ।

यसैको प्रभावसँगै बैंकहरुले अब क्यूआर कोडमार्फत डिजिटल कारोबार बढाउनको लागि विभिन्न तरकारी बजार, ठूला डिर्पाटमेन्ट स्टोर, सुपर मार्केटहरुका क्यूआर कोड बोकेर चहारिरहेका छन् ।

गत पुष १० गते सानिमा बैंकको अगुवाइमा काठमाडौँको नक्सालस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेको थियो । त्यसको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । उनले क्यूआर काेडमार्फत भूक्तानीको शुभारम्भ गर्दै नगदरहित कारोबारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अगाडि बढाएकाले यसलाई बढवा दिनु पर्ने आवश्यकता औल्याउँदै यो अभियानलाई देशैभर पुर्याइने बताएका थिए ।

त्यही अनुरुप पछिल्लो समय काठमाडौँ उपत्यकाका तरकारी बजारहरु समेत प्रविधिमैत्री बन्न थालेका छन् । डिजिटल कारोबार विगत पाँच वर्ष यता ठूला सुपर मार्केट, होटल तथा सपिङ मलहरुमा सामान्य जस्तै रहेको छ । तर तरकारी बजार तथा चिया पसलहरुमा यो असम्भव देखिए पनि पछिल्लो समय सहज बन्दै गएको छ ।

विभिन्न बैंकहरु पुष १० गतेपछि ठेला गाडादेखि फलफूल तथा तरकारी पसलहरुमा क्यूआर कोड बोकेर पुग्न थालेका छन् । यसरी बैंकको क्यूआर कोड राखेपछि नगद बोक्नु पर्ने बाध्यता हट्ने देखिएको छ । यो अभियानमा राष्ट्र बैंकका गभर्नर नै कम्मर कसेर लागेका देखिन्छ । गभर्नर अधिकारीले तरकारी बजारमा एक किलो तरकार र चिया पसलमा चियाको पैसा क्यूआर कोडबाट नै भूक्तानी गरेका थिए ।

बैंकहरुको यो अभियानले अब समग्र रकम भुक्तानी प्रणालीलाई नै प्रविधिमैत्री बनाउन योगदान पुग्ने देखिन्छ । राष्ट्र बैंकको नीति नै कारोबार भूक्तानीलाई डिजिटलाइज गर्ने भएका कारण पछिल्लो समय सबै बैंकले डिजिटल कारोबारलाई प्राथमिकतामा राखेर क्यूआर भूक्तानीलाई समेत आक्रमक रुपमा अगाडि बढाएका छन् ।

क्यूआर कोड एक डिजिटल प्रविधिबाट सुरक्षित सुसुचित तवरले तथा सहज र सुलभ ढंगले भुक्तानी गर्ने नवीनतम माध्ययम भएको नेपाल बंगलादेश बैंकका नायव कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बताए । उनका अनुसार अहिले नेपालमा विभिन्न बैंकहरुमार्फत अलग अलग नामबाट प्रयोगमा आएका क्युआर कोडहरु भोलिका दिनमा (एनसिएचएल)बाट एउटै साझा ब्राण्डबाट अन्तर्क्रियात्मक बनाएको अवस्थामा क्युआर कोडबाट भविष्यमा नेपालका बैंकहरुले ठूलो कारोबार गर्न सक्ने भएकाले प्रमुख प्राथमिकतामा राखिएको छ ।

क्यूआर कोडबाट धेरैभन्दा धेरै सर्वसाधारण लाभान्वित हुन भन्ने उद्देश्यले बैंकको चावहिल शाखा अन्तर्गत चन्द्रविनायक मन्दिर परिसरमा रहेका तरकारी बजार तथा रेडिमेड गार्मेण्ट पसल व्यवसायीहरुलाई क्युआर कोड वितरण गरिएको श्रेष्ठको भनाइ छ ।

त्यस्तै, राष्ट्र बैंकको सहकार्यमा बैंकहरुले उपभोक्ताहरुलाई सहज तरिकाले रकम भूक्तानीका लागि नोटरहित बनाएर डिजिटल कारोबारलाई बढावा दिनको लागि नै क्यूआर कोड विस्तारलाई प्राथमिकता दिएको बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भूवन दाहालले बताए ।

उनका अनुसार कोरोना महामारीपछि बैंकिङ क्षेत्रमा आएको नयाँ टेक्नोलोजी नै क्यूआर कोड रहेकाले पछिल्लो समय यसका प्रयोगकर्ता पनि अत्याधिकरुपमा बढ्दै गएका छन् । जसले गर्दा अब काठमाडौँ उपत्यकाका मूख्य फलफूल तथा तरकारी बजार जाँदा नगद बोक्नै पर्ने बाध्यता हटाउँदै डिजिटल कारोबारको युगको सुरुवात भएको उनको बताए ।

त्यस्तै, यता नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा क्यूआर कोड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने तर एटिएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने भएकाले क्यूआर कोड प्रयोग गर्दा कसैलाई पनि घाटा नहुने बताउँछन् ।

उनका अनुसार विगत लामो समयदेखि सानादेखि तारे होटल, पसलहरुमा क्यूआर कोड प्रयोग हुँदै आए पनि पछिल्लो समयमा सबै बैंकले तरकारी बजारमा तथा चिया पसलमा संकेत वितरण गर्ने गरि यसलाई अभियान नै सुरु गरेका छन् । यो अभियानमा सबै नलाग्दा डिजिटल प्रविधिमा पछाडि पर्ने भएकाले पनि बैंकहरु आक्रामकरुपमा नै लाग्नु पर्ने देखिएको उनको भनाइ छ । यो अभियानले बैंक तथा उपभोक्ता सबैलाई फाइदा नै हुन्छ । उनले भने, यसको लागि इन्टरनेट चाहिन्छ । तर ३० सेकेन्डको लागि मोबाइल डाटा चलाउँदा र पकेटबाट पैसा निकाल्न उतिकै समय लाग्ने भएकाले यसलाई झन्झट मान्न हुँदैन ।

त्यस्तै, सेञ्चुरी बैंकका नायव कार्यकारी अधिकृत मनोज न्यौपानेले पछिल्लो समय केन्द्रीय बैंकहरु धेरै मार्केटिङ गर्नेहरुमा पर्ने बताएका छन् । उनका अनुसार अहिले प्रायः सबै बैंकहरु देशका ७७ वटै जिल्लाका शाखाहरुले समेत क्यूआर कोड वितरणलाई प्राथमिकता दिएका छन् । यसले गर्दा बैंकहरुको कारोबार रकम पनि धेरै राम्रो देखिएकाले अबको बैंकिङ क्षेत्रमा डिजिटल कारोबारका लागि क्यूआर काेड र मोबाइल एपहरु नै धेरै उपयोगी हुँदै जाने उनले बताए ।

यस्ता मोबाइल एप, क्यूआर कोडमार्फत बैंकहरुले कारोबार गर्दा देशमा भएको पैसा देशभित्रै बस्ने, बाहिरबाट आयात पनि गर्न नपर्ने आफैंले जेनेट गर्न सकिन्छ । अहिले एटिएम मेसिनहरुमार्फत बाहिर पैसा गइरहेको छ । क्यूआर कोड नेपालमा नै बनाउन सक्ने र पैसा पनि देशभित्रै रहने भएकाले बैंकहरुले क्यूआर कोड वितरणलाई व्यापकता दिँदै जाँदा सेञ्चुरी बैंक पनि यसबाट अछुतो रहन नसक्ने उनको भनाइ छ ।

त्यस्तै, सेञ्चरी बैंकका क्युआर कोड प्रमुख यूनिस पुरीका अनुसार यस बैंकले पनि सातै प्रदेशका शाखाहरु मार्फत क्यूआर कोड वितरण गर्ने योजना बनाइ रहेको बताए ।

उनका अनुसार बैंकले प्रदेश नम्बर १ मा १२० वटा, प्रदेश २ मा ६७ वटा, बागमतीमा २९४, गण्डकीमा ११२, लुम्बिनीमा १३९, कर्णालीमा १६ र सुदुरपश्चिममा ७१ गरी ८१९ वटा क्यूआर कोड वितरण गरेको छ ।

उनका अनुसार बैंकले यसभन्दा अघि यो सुविधा लिएको थिएन । तर अहिले अन्य बैंकको भन्दा नयाँ प्रविधिको क्यूआर कोड प्रयोग गर्ने पहिलो बैंक सम्भवतः सेन्चुरी बैंक भएको उनले बताए । अहिलेसम्म ८ सयभन्दा बढी क्यूआर कोड वितरण गरेको र बैंकको सानो क्षेत्र भए पनि फलफूल तथा तरकारी पसल, चिया पसल, होटल, रेष्टुरेण्टहरुमा वितरणको कामलाई तिव्रता दिइएको उनले बताए ।

त्यस्तै, सिभिल बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अब हरेक कारोबार क्यासलेस बनाउने राष्ट्र बैंकको अभियानलाई सार्थकता बनाउनका लागि तथा डिजिटल कारोबार बढाउनका निम्ति सिभिल बैंकले पनि क्यूआर कोड वितरण अभियानमा गएको बताए ।

उनका अनुसार अब उपभोक्ताले कुनै झन्झटरहित सहज तरिकाले कारोबार गर्नका लागि क्यूआर कोडले महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने बताए । यसरी क्यूआर कोडमार्फत अब मानिसहरुले टेम्पो भाडा, मन्दिरमा भेटी दान, फलफूल/तरकारी तथा अन्य सामान खरिद गर्दा मोबाइलबाटै भुक्तानी गर्न सक्ने सिइओ गुरुङको भनाइ छ ।

क्यूआरबाट कारोबार गर्दा क्यास बोक्नु पर्ने समस्या हट्ने, पैसा हराउने डर नहुने, चोरी हुने डर पनि हराउने, कोरोना तथा सरुवा रोग/महामारी फैलिने डर पनि नहुने भएकाले यो सबैको लागि उपयोगी बन्दै गएकाले क्यूआर वितरणमा तिव्रता दिएको उनले बताए ।

कुन बैंकले कहाँ-कहाँ सुरु गरे क्यूआर कोड भूक्तानी सेवा ?

सानिमा बैंक

सानिमा बैंकले गत पुष १० गते काठमाडौँको नक्सालस्थित नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरु गरेको थियो । क्यूआर कोडसँगै नक्सालको तरकारी बजारमा किनमेल गर्नेहरुले नगद बोक्नै पर्ने झन्झट हटेको छ । तरकारी बजारका हरेक पसलमा क्यूआर कोड राखिएका छन् । ती कोड स्क्यान गरेर उपभोक्ताले भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा नेपालमै पहिलोपटक राष्ट्र बैंकका गभर्नर अधिकारीले शुभारम्भ गरेका थिए ।

साथै, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं बैंकर्स एसोशियसनका अध्यक्ष भूवन दाहालले राष्ट्र बैंकको अभियान सफल बनाउन सबै बैंकसँग सहकार्यका लागि तयार रहेको बताएका छन् ।

नबिल बैंक

नबिल बैंकले काठमाडौँ कुलेश्वरको फलफूल बजारबाट क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेशन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको फलफूलको रकम भुक्तान गरी क्यूआर कोड राखिएको छ । नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लोपटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यवसायिक प्रतिष्ठानहरु रहेको बैंकले जनाएको छ । त्यस्तै, बैंकले तनहुँको तनहुँ सेवा अस्पतालमा पनि बैंकका डिसीईओ सुजितकुमार शाक्यले क्यूआर कोड हस्तान्तरण गरेका छन् ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले पनि यस अघि नै चावहिलको चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ । नगदरहित कारोवारलाई प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यले बैंकको चावहिल शाखाद्वारा सो स्थानमा नगदरहित भुक्तानी सेवा सुरु गरिएको बैँकले जनाएको छ । उक्त शुभारम्भ नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणी सिवाकोटीले गरेका थिए । उनले शुभारम्भ गर्दै डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगदरहित कारोबार गर्दा  फाइदा हुने बताएका थिए । ग्राहक तथा व्यापारी वर्गहरुको सुविधालाई ध्यानमा राखी उक्त स्थानमा ब्रोडलिंक कम्युनिकेशनसँगको सहकार्यमा निःशुल्क वाईफाईसमेत जडान गरिदिएको बैंकले जानकारी दिएको छ । त्यस्तै, यस बैंकले देशभरका शाखा कार्यालयहरुबाट विभिन्न संस्था तथा व्यवसायिक क्षेत्रमा क्यूआर कोड वितरणलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

माछापुच्छ्रे बैंक

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले काठमाडौँको तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याइसकेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडको उद्घाटन गरेका थिए । क्युआर कोड सेवा सुरु भएसँगै हरित कृषि बजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरि आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । त्यस्तै, बैंकले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले काठमाण्डौँ उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रालिसँग क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकालले उक्त सेवाको शुभारम्भ गरेका थिए । नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरि डिजिटलरुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाइने, नोटको हिफाजतमा वृद्धि हुनुका साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले पनि बल्खु तरकारी बजारमा नगदरहित क्यूआर कोड भुक्तानी सेवा गत माघबाट नै शुरु गरेको छ । बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले क्यूआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको उल्लेख गरेको छ । त्यस्तै, साना तथा मझौला उद्यमीलाई विगतदेखि मुख्य केन्द्रमा राखेर सहकार्य गर्दै आएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनतर्फ केन्द्रीत भई नगदसहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख भएको बताए । त्यस्तै, एनएमबि बैंकले झापाको विर्तामोड कृषि बजारमा क्यूआरकोड सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले पनि नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रम शुरु गरिसकेको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले पनि कालिमाटी फलफूल तथा तरकारी बजारमा क्युआर कोडमार्फत नगदरहित विद्युतीय भुक्तानीको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकको समन्वयमा कालिमाटी तरकारी तथा फलफूल बजारमा विद्युतीय भुक्तानीको शुरुवात गरेको थियो । त्यस्तै, बैंकले मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौँ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो । सो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।

सिभिल बैंक

क्यासलेस अभियान क्यूआर कोड भुक्तानी सिभिल बैंकले पनि सिन्धुलीको कमलामाई नगरपालिकाबाट शुरु यसलाई अगाडि बढाएको छ । यस अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पो चालक र अटो रिक्सालाई क्यूआर कोड वितरण गर्दै यसको शुभारम्भ गरेका थिए । यसरी सिभिल बैँकको क्यूआर कोडमार्फत सिन्धुलीमा कुनै व्यक्तिले टेम्पो भाडा तिर्न तथा नगरपालिका क्षेत्रमा मन्दिरमा भेटी दान गर्न समेत सक्ने भएका छन् । यसरी बैंकले देशैभरका शाखाहरुबाट क्यूआर कोड वितरण व्यापक बनाउँदै लैजाने तयारीमा बैंक रहेको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका थिए ।

कुमारी बैंक

कुमारी बैंकले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरिएको छ । कुमारी बैंकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको छ । यस प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् ।

त्यसैगरी, व्यवसायीहरुले हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाईराख्नु पर्ने तथा खुद्रा पैसा बोक्नु पर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराए । क्यूआर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको जनाएको छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार सीमामा पुनरावलोकन गर्दै

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कोरोना महामारीका कारण बैंकिङ प्रणालीमा विद्युतीय कारोबार बढ्दै गएको तथा सरकारको नीति पनि डिजिटल कारोबार बढाउने उद्देश्य रहेको भन्दै राष्ट्र बैंकले समय अनुसार कारोबार रकमको सीमा परिवर्तन गर्ने तयारी गरेको हो । जसमा क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रवर्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था पनि गरिने उल्लेख गरेको छ । विद्युतीय कारोवारको प्रवर्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने समेत उल्लेख गरेको छ ।

राष्ट्र बैंकबाट हालसम्म ९ वटा भुक्तानी प्रणाली सञ्चालक अर्थात् क्यूआर नेटवर्कले सञ्चालनको लागि अनुमति लिएका छन् । तर हालसम्म फोन पे, स्मार्ट क्यूआर (एसटीसी) र फस्ट पे गरी ३ वटा क्यूआर स्क्यान नेटवर्क सञ्चालनमा छन् । जसमा विभिन्न बैंक तथा वित्तीय संस्था भुक्तानी प्रदायक कम्पनीहरुले आपसी सम्झौता गरि क्यूआर कोड स्क्यान सेवा आफ्ना ग्राहकलाई दिइरहेका छन् । साथै, राष्ट्र बैंकबाट १८ वटा भुक्तानी सेवा प्रदायक अर्थात् वालेट कम्पनीहरुले सञ्चालनको अनुमति लिएका छन् । यी कम्पनीहरुले पनि आआफ्नै क्यूआर कोड स्क्यान सेवा सञ्चालनमा गरेका छन् ।

 

Logo