चौथो ‘कौसी क्वीन’ प्रतियोगिताका लागि खुल्यो आवेदन

चौथो ‘कौसी क्वीन’ प्रतियोगिताका लागि खुल्यो आवेदन


चौथो ‘कौसी क्विन’को आवेदन खुल्ला गरिएको छ। प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले कौसी खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले तीन वर्षदेखि कौसी क्वीन प्रतियोगिता गर्दै आएको छ ।

आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठका अनुसार विजेताले कौसीमा ग्रीन हाउस पुरस्कारबापत पाउनेछन् । त्यसैगरी क्यानडामा हुन लागेको कृषि अवार्डमा कौसी खेती विद्याबाट सिँधै भाग लिन जान पाउनेछन् ।

कौसी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा भाग लिनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा १० वटा तस्वीर र १० मिनेटसम्मको तस्वीर पठाउनुपर्नेछ । फोटो र भिडियोहरु हलोखबर डटकमको इमेल आईडीमा पठाउन सकिने जनाइएको छ ।

सामाजिक सञ्जाल र निर्णायकको तर्फबाट ५०-५० प्रतिशत नम्बरका आधारमा उत्कृष्टहरु छनोट हुनेछन्। प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए। साथै सहभागी भएबापत एक हजार बराबरको कौसी खेतीका सामग्रीहरु पाउनेछन्।

सर्वोत्कृष्ट पुरस्कार अर्थात् कौसी क्वीन हुनेले ३० हजार रुपैयाँ मूल्य बराबरको कौसीमा ग्रीन हाउस तथा फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप हुनेले क्रमशः २०, १५ र १० हजार रुपैयाँ बराबरको कौसी खेतीमा आवश्यक सामग्री पाउनेछन्।

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ। आवदेनका लागि भदौ १५ गतेसम्मको समय तोकिएको छ। भदौ मसान्तसम्ममा भोटिङ हुने र असोज तेस्रो साता विजेता घोषणा गरिने जनाइएको छ।

फोहोर व्यवस्थापनको उत्तम विकल्प मात्रै नभएर हरियाली कौसी, अर्गानिक कौसी खेती मात्रै नभएर जीवनको उत्तरार्धमा टेकेकाहरुलाई कौसी खेती व्यायामको समेत विकल्प हुन सक्ने आयोजकले जनाएको छ।

 

Logo