नगरकोटमा नमूना बस्तीको उद्घाटन

नगरकोटमा नमूना बस्तीको उद्घाटन


भक्तपुर,
चाँगुनारायण नगरपालिकाको नगरकोट फेदीमा ५२ घर रहेको बस्तीलाई नमूनाबस्ती घोषणा गरिएको छ । नमूना बस्तीको बुधबार नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नुभयो ।

नगरकोटका बस्तीलाई नमूनाबस्ती बनाउने र घरवाससमेतको विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले निश्चित् मापदण्ड पूरा गरेका बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्दै घोषणा गर्न थालेको हो । कार्यक्रममा नमूनाबस्ती अवलोकनका लागि अष्ट्रेलियाको वास फर ओमेन अर्गनाइजेसनबाट सार्क राष्ट्रलगायत विभिन्न देशको प्रतिनिधित्व गर्दै आएका २५ सदस्यीय टोलीलाई नगर प्रमुख मिश्रले चाँगुनारायण विकासका लागि गर्न सकिने सम्भाव्यताका विषयमा जानकारी दिनुभएको थियो ।

उहाँले बस्तीमा सुधार गर्नुपर्ने पक्षका विषयमा विदेशी टोलीलाई जानकारी गराउँदै यो ठाउँको विकासका लागि सधैँ नगरपालिकाको साथ र सहयोग रहेको जानकारी गराउनुभयो । नगर प्रमुख मिश्रले नमूनाबस्ती मात्र नभइ यहाँका बस्तीलाई विदेशी तथा स्वदेशी पर्यटकका लागि आकर्षक आगमनस्थलको रुपमा विकास गर्नका लागि सरसफाइमा ध्यान दिई जैविक खानेकुराको मात्रै प्रयोग गरी घरवासका रुपमा विकास गर्ने सम्भाव्यता रहेको जानकारी दिनुभयो ।

‘सफा सुग्घर घर आँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ , चाँगुनारायणको माटो’ भन्ने मूलनाराका साथ पूर्ण सरसफाइ तर्फ अग्रसर नगरकोटको फेदि नमूनाबस्तीमा ५२ घरले ५२ सदस्य टोली बनाइ आफ्नो ठाउँलाई स्वच्छ सफा दिसापिसाबमुक्त हराभरा ठाँउ र विषाधिमुक्त तरकारी तथा जैविक खानेकुराको थालनी गर्न तयारी गरेको वडा नं–६ का वडा संयोजक नानुमैया गिरीले जानकारी दिनुभयो ।

नमूनाबस्तीमा पनि दुई घरमा घरवास सञ्चालन शुरु गरिएको छ । यसलाई विस्तार गर्ने योजना रहेको छ । नगरकोटको बाँस्तोला गाउँमा सञ्चालनमा रहेका १७ घरमा घरवासमध्ये २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि अहिले आठ घरवास सञ्चालन भइरहेका नगरकोट सामुदायिक होम स्टेका उपाध्यक्ष तथा होमस्टे एशोसिएशन नेपालका केन्द्रीय सदस्य राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

टोलीले बस्तीको अवस्था, सरसफाइ, शौचालयको सफाइ, साबुनको प्रयोग, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, घरबाट निस्कने फोहरको व्यवस्थापन, अर्गानिक साग सब्जी तरकारीको प्रयोग र नमूना समुदायभित्र घरवास सञ्चालन भएको लगायतको अवलोकन गरेका थिए । नमूना बस्तीका टोल संयोजक रुपा गजुरेलले अबका दिनमा नमूनाबस्तीले बनाएको आचारसंहिता अनुसार सरसफाइलाई ध्यान दिई जैविक खानेकुरामा प्राथमिकता दिने र यो ठाउँलाई भक्तपुर जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउने बताउनुभयो ।

Logo