दरबार हाई स्कुलमा विद्यार्थीको आकर्षण

दरबार हाई स्कुलमा विद्यार्थीको आकर्षण


कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) मा अहिले विद्यार्थीको चाप बढेको  छ । 
 
भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । अझै पनि आफ्ना छोराछोरीलाई यसै विद्यालयमा भर्ना गराउन आग्रह गर्दै अभिभावक विद्यालय आउने क्रम रोकिएको छैन । हरेक वर्ष कक्षा सुरु हुने बेलामा मात्र भर्ना लिन सकिने र सबै कक्षामा विद्यार्थी सङ्ख्या पूर्ण रहेकाले तत्काल नयाँ विद्यार्थी भर्ना लिन सक्ने अवस्था भने छैन् ।    

गोर्खा भूकम्पकले पूर्णरुपमा क्षति भएकोे यस विद्यालयमा नयाँ भवन निर्माणसँगै विद्यार्थी आउने क्रम रोकिएको छैन । राजधानीको मुटुमा रहेको यस विद्यालयको अहिले सबै कक्षामा विद्यार्थी भरिभराउ छ । विद्यार्थीको सङ्ख्या अत्यधिक रहेकाले कक्षा ७, ८ र ९ लाई विभाजन गरेर (सेक्सन बनाएर) सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले बताए ।  यहाँ ३० शिक्षक कार्यरत छन् ।  

कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छौँ प्रधानाध्यापक पौडेलले भने । “नयाँ भवन, सुविधायुक्त प्रयोशाला, सफा खाजा घर तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयमा हरेक दिन विद्यार्थी बढिरहेका छन् । अब नयाँ भर्ना हुन आउने विद्यार्थीका लागि स्थान छैन”, उनले भने । 

आगामी आर्थिक वर्षका लागि अहिले नै आउँछन् 
यस विद्यालयमा अहिलेका लागि मात्रै होइन आगामी शैक्षिक सत्रका लागि पनि सिट सुनिश्चित गर्नुप-यो भन्दै अभिभावक आउने गरेका छन् । अहिले सबै कक्षा भरिभराउ भएको र तत्काल भर्ना गर्न नसकिने कुरा विद्यालयले भनेपछि आगामी वर्षका लागि सिट रोक्नका लागि अभिभावकबाट अहिले नै अनुरोध हुने गरेको छ । 

ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी, स्थानीयवासीका छोराछोरी बढी छन् । 

हाल शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा आगामी वर्षदेखि १२ कक्षासम्म पढाउने गरी तयारी भएको कामपाले जनाएको छ । 

विद्यालय भवन ठूलो रहेको हुँदा सहयोगी कर्मचारी एकजना मात्रले सरसफाइको काम गर्न भने समस्या भएको बताइएको छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा सम्बन्धित विषय शिक्षकको पनि अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताए । निकट भविष्यमै  ललितकला क्याम्पससँग सहकार्य गरेर आर्ट कक्षा सञ्चालन गर्नेतर्फ छलफल भइरहेको पनि उनले सुनाए ।

नमुना विद्यालय दरबार हाई स्कुल 
हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमुना विद्यालयका रुपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय परेका छन् । ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रुपमा सञ्चालन गर्न चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले कामपाले आवश्यकअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको उनले जानकारी दिए । प्रमुख सुवेदीले भने, “नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ त्यसका लागि कामपा लागिरहेको छ ।” नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा  ४० कक्षाकोठा छ । 

गाभिने सम्भावना छैन भानु र संस्कृति मावि 
आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । मुख्यतः विद्यार्थी सङ्ख्या कम भएकै कारण भानु र संस्कृति माविलाई एकापसमा गाभी भानु–संस्कृति माध्यमिक विद्यालय (दरबार हाई स्कुल) बनाउन गरिएको तयारी तत्कालका लागि टरेको छ  । 

यसअघि पनि एउटै भवनमा पठनपाठन गराइरहेका यी दुई विद्यालयमा कम विद्यार्थीे सङ्ख्या र अन्य व्यवस्थापनको पाटोलाई समेत दृष्टिगत गरी एकापसमा  गाभ्न लागिएको थियो । दुई विद्यालयलाई एकापसमा गाभी एउटै बनाउँदा दुवैको छुट्टाछुट्टै अस्तित्व नरहने हुँदा फरक फरक तरिकाबाट नै व्यवस्थापनको काम गर्न लागिएको हो ।  एउटा माध्यमिक विद्यालय सञ्चालन हुनाका लागि ग्रामीण क्षेत्रका  प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानुनी व्यवस्था छ । 

विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त  विद्यालय स्थापना भएको थियो ।  विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि  विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको थियो । सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्की (माटो र चुनबाट बनेको निर्माण सामग्री) को प्रयोग भए पनि बीचमा मर्मत गर्दा बाहिरी आवरणमा सिमेन्टको प्रयोग गरिएको थियो । 
 
चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । उक्त भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको थियो । स्कुल पुनर्निर्माणको शिलान्यास २०७५ साल साउन १८ गते गरिएको थियो । 

रु ८५ करोड ५९ लाखको  लागतमा निर्माण गरिएको दरबार हाई स्कुलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले उपलब्ध गराएको थियो । विसं २०७७ गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणसँगै सो विद्यालय भवन उद्घाटन गर्नुभएपछि दरबार हाई स्कुल पुनः सञ्चालनमा आएको हो । 

Logo