यी हुन् आईटीका दक्ष जनशक्ति उत्पादन गर्ने कलेज

यी हुन् आईटीका दक्ष जनशक्ति उत्पादन गर्ने कलेज

केन्द्रबिन्दु
0
Shares

कम्प्युटर एशोसिएशन नेपाल (क्यान)महासंघले आयोजना गरेको इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ भृकुटीमण्डपमा चलिरहेको छ । इन्फोटेक विभिन्न कम्पनीले ल्याएका नयाँ उत्पादन र सेवासम्बन्धी जानकारी गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो । 

नेपालमा सूचना तथा प्रविधिसम्बन्धी वार्षिकरुपमा आयोजना हुने इन्फोटेक देशकै ठूलो प्रदर्शनीका रुपमा स्थापित छ । मेलामा विभिन्न सूचना तथा प्रविधिका स्टलहरु राखिएका छन् । जसमध्ये स्कुल तथा तालिम केन्द्रका स्टलमा विद्यर्थाीहरुको भिड लाग्ने गरेको छ ।  

माघ २९ गतेसम्म चल्ने मेलामा विभिन्न कलेज तथा तालिम केन्द्रले विद्यार्थीका लागि सूचना प्रविधिको नयाँ विषय ल्याएका छन् ।  

आजको युग सूचना प्रविधिको युग हो । नेपालमा विभिन्न कलेजमा सूचना प्रविधिका विषयमा पढाई हुन्छ । जसले सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन् । अहिलेको समयमा उपयुक्त हुने सूचना प्रविधिको कोर्सहरु ल्याइएको कलेजहरुले जनाएका छन् । 

यसैबीच लर्ड बुद्ध एजुकेशन फाउन्डेसन कलेजले उक्त प्रदर्शनीमा अहिलेको युगलाई आवश्यक पर्ने क्लाउड इन्जिनियरिङको कोर्सको बारेमा विद्यार्थीलाई जानकारी दिएको कलेजका अध्यक्ष पंकज जलान बताउँछन् । उनले भने, “नेपालमै पहिलोपटक आईटी एजुकेशन सुरुवात गरेको यस कलेजले विगत लामो समयदेखि बीएससी आईटी र एमएससी आइटीका कोर्सहरु सञ्चालन गर्दै आएको छ । तर, अहिले क्लाउड इन्जिनियरिङको ठूलो मार्केट भएका कारण स्नातक तहमा यसको कोर्स सञ्चालनमा ल्याएका छौँ । अर्को तर्फ स्नाकोतर तहमा पनि प्रविधिलाई हामी दैनिक गर्ने काममा प्रयोग गर्न सिकाउने कोर्स सञ्चालनमा ल्याएका छौं ।”

सूचना प्रविधि भनेको नै शीप हो त्यसैले डिग्री दिने भन्दा शीप दिनेमा बढी विश्वास राख्ने अध्यक्ष जालनको भनाई छ । उनले भने, “कक्षा कोठामा मात्र पढाउने भन्दा विद्यार्थीलाई फिल्डमा गएर काम गर्न बढी फोकस गरेका छौँ ।”

अर्कोतर्फ, नेपालकै पहिलो अन्तर्राष्ट्रिय आईटी कलेज पीसीपीएस कलेजले पनि विद्यार्थीलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाउन ठूलो भूमिका निर्वाह गरेको पाटन कलेज फर प्रोफेसनल स्टडीजकी रोजी खतिवडा बताउँछिन् । “प्लस टुमा म्यानेजमेन्ट र साइन्स विषय लिएर २.२ जीपीएका साथ उत्तिर्ण हुने विद्यार्थीले स्नातक तह आईटीमा भर्ना गर्न सक्छन् ।” उनले भनिन् । 

उनका अनुसार आईटीमा ३ वटा इन्टेक हुन्छ र हाल मार्च इन्टेकको लागि भर्ना खुलिसकेको छ । स्नातक तहमा आईटीको ३ वर्षे कोर्स हुन्छ । पहिलो वर्ष पीसीपीएस कलेजमा पढेर दोस्रो वर्षदेखि कुनै पनि देशको विभिन्न विश्वविद्यालय पढ्न जानको लागि अप्लाई गर्न सकिन्छ ।  

यसैगरी, आईटी क्षेत्रका तालिम केन्द्रले पनि नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । जसमध्ये एक आइएसएस ट्रेनिङ इन्स्टिच्युट पनि हो । यस इन्स्टिच्युटले नेपालमै दक्ष जनशक्ति उत्पादन गरेर नेपालमै काम गर्ने मौका दिँदै आएको इन्स्टिच्युटकी बिजनेस हेड सविना पराजुली बताउँछिन् । 

अहिलेको समयमा आईटीको माग धेरै छ । नेपालमा चाहिने आईटीका जनशक्ति नेपालमै उत्पादन गर्ने उद्देश्यका साथ २ वर्षदेखि यस संस्था सञ्चालनमा ल्याएको पराजुली बताउँछिन् । उनले भनिन्, “हामीले यस संस्थाबाट सूचना प्रविधिको आवश्यक ट्रेनिङ दिएर प्रमाण पत्रहरु पनि उपलब्ध गराउँदै आएका छौं ।” 

मेलामा धेरै भन्दा धेरै विद्यार्थीहरु अवलोकन गर्न आएकाे जनाइएको छ । उक्त मेलाबाट विद्यार्थीहरुले विभिन्न कलेजका स्टलहरु भिजिट गरी आफूलाई चाहिने ज्ञान हासिल गरेर प्रदर्शनीको लाभ उठाइरहेको सञ्चालन पक्षहरुको दाबी छ । 

Logo