नेपालको शिक्षा थप खस्केको भन्दै सरोकारवालाले तत्काल सुधारको आवश्यकता औल्याएका छन् । उच्च शिक्षाका हासिल गर्ने नाममा ठूलो संख्यामा युवाशक्ति विदेशिनु गम्भीर विषय भएको भन्दै उनीहरुले शिक्षाको स्तरमा व्यापक सुधार आवश्यक रहेको बताए ।
उनीहरुले अध्ययनका लागि विदेश जान चाहानेहरुलाई एनओसीमा कडाईं गरेर रोक्न नमिल्ने तर्क गर्दै फर्केर आउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालमा उच्च शिक्षा अध्ययनको अवस्था र वैदेशिक शिक्षा आर्जनका अवसर र चुनौती विषयमा केन्द्रित रहेर नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले काठमाडौंमा गरेको ‘एडुक्लेभ’मा सहभागी वक्ताहरूले वैदेशिक शिक्षाबाट विद्यार्थीलाई बञ्चित गर्न नहुने बताए ।
नेपालको शिक्षा थप खस्केको भन्दै सरोकारवालाले विदेश जान चाहानेहरुलाई एनओसीमा कडाईं गरेर रोक्न नमिल्ने तर्क गर्दै फर्केर आउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा तीन वटा प्यानल डिस्कसन भएका थिए । हाम्रो शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यकता’ शीर्षकमा पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्र विक्रम थापा, इक्यानका अध्यक्ष प्रकाश पाण्डे र अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवालले आ–आफ्ना भनाइ राखेका थिए ।
नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले एनओसी दिन बन्द गर्नुभन्दा विश्वविद्यालयमा अध्यापनको स्तर राम्रो बनाउन आवश्यक रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयले समयमा परीक्षा नतिजा प्रकाशन गर्यो भने मात्रै पनि उच्च शिक्षा हाँसिलका लागि विदेश जाने विद्यार्थीको संख्या घट्ने बताए ।
राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ ।
यसैगरी, पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालमा कुनै पनि विद्यार्थीले बाहिरको जस्तो गुणस्तरीय शिक्षा खोज्नु जायज भएको बताउँदै गुणस्तरीय शिक्षाको ग्यारेन्टी दिनु सरकारको दायित्व भएको बताइन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सिर्जना गर्नसक्नुपर्ने बताए । उनले अहिलेको राज्यको नेतृत्व समयानुकूल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरु बन्ने गरेको धारणा राखे ।
विद्यार्थीको आवश्यक्ताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरु विदेश जाने क्रम बढेको र एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने उनको भनाइ थियो । अध्यक्ष पाण्डेले नेपालको शिक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
यस्तै, ‘विदेशिने नेपाली विद्यार्थीः अवसर वा जोखिम’ शीर्षकमा पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, शैक्षिक अभियन्ता सविन जोशी, डिस होम मिडियाका सञ्चालक सुदीप आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरे र ग्लोबल इक्वालिटीका फाउन्डिङ म्यानेजिङ पार्टनर मनिष झाबीच अन्र्तक्रिया भएको थियो ।
नेपाली युवा अध्ययनका लागि विदेशिने क्रम बढेकाले नेपाल वौद्धिक हिसाबमा टाट पल्टने अवस्था आउन सक्छ ।
छलफलमा भाग लिँदै एमाले सचिव योगेश भट्टराईले नेपाली युवा अध्ययनका लागि विदेशिने क्रम बढेकाले नेपाल वौद्धिक हिसाबमा टाट पल्टने अवस्था आउने सक्ने चेतावनी दिए । नेपालीहरु बाध्यता, देखाशिखी र रहरले विदेश जाने गरे पनि चर्को ब्याजमा रकम लिएर विदेश अध्ययन गर्न जाने अवस्थाले थप चिन्तित बनाएको भट्टराईको भनाइ थियो ।
यसैगरी डिस होम मिडियाका सञ्चालक सुदीप आचार्यले नेपालीहरु विदेश गएर फर्की नआउनुको कारण नेपालमा अवसरको कमी भएको बताए ।
शैक्षिक क्षेत्र उकास्न निजी शैक्षिक क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्छ ।
पूर्वराजदूत लक्की शेर्पाले शैक्षिक क्षेत्र उकास्न निजी शैक्षिक क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताइन् । उनले विद्यार्थीहरु पढन मात्र विदेश गए पनि आफ्नो करिअर, पारिवारिक अवस्थालगायत कारण नेपाल नफर्कने गरेकाले ठुलो समस्या निम्तिएको जिकिर गरिन् ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले विदेश पढ्न जाने कुरा समाजमा प्रतिष्ठाको विषय बन्दै गएको बताए । ‘पल्लो घरको भाइ गयो, दिदी गइन् हामी किन नजाने भन्ने आउँछ,’ उनले थपे, ‘सामान्य परिवारको विद्यार्थी विदेश पढ्न जाँदा घर बन्दकी राख्नुपर्छ । त्यसरी घर बन्दकी राखेर विदेश गएपछि उसका लागि मनोवैज्ञानिक दबाब हुन्छ । पैसा नतिरी फर्कन्न भन्ने हुन्छ ।’
एडुक्लेभको आयोजक वानअपका सीईओ रविशंकर झाले राज्यले शैक्षिक परामर्श केन्द्रहरूलाई सम्मानको दृष्टिले नहेरेको गुनासो गरे । उनले विदेश पढ्न जान चाहने विद्यार्थीलाई सहायता, परामर्श गर्ने शैक्षिक परामर्श केन्द्र र व्यवसायीहरुलाई नकारात्मक चित्रण गरेर कसैलाई फाइदा नहुने बताए ।
विदेश पढ्न जाने विद्यार्थीलाई सहायता, परामर्श गर्ने शैक्षिक परामर्श केन्द्र र व्यवसायीहरुलाई नकारात्मक चित्रण गरेर कसैलाई फाइदा हुँदैन ।
शैक्षिक परामर्श व्यवसायलाई अझ मर्यादित र व्यवस्थित गर्दै लैजान, यस क्षेत्रका अवसर र चुनौतीबारे बहस गर्न एडुक्लेभमा सरोकारवाला, विज्ञ, नीति निर्माता, विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श केन्द्रहरुलाई एकै थलोमा भेला गरेर अन्तरक्रिया गराइएको थियो ।





























प्रतिक्रिया