कान्तिपुर हिसान एडुफेयरको आठौं संस्करण भृकुटीमण्डपमा सुरू

कान्तिपुर हिसान एडुफेयरको आठौं संस्करण भृकुटीमण्डपमा सुरू


कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला)को आठौं संस्करण बिहीबारदेखि सुरू भएको छ । हिसान एडुफेयर -२०२३ काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेला सुरु भएको  हो । 

कार्यक्रममा प्रमुख अथितिको रूपमा सभामुख देवराज घिमिरे उपस्थित रहेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै उनले विदेशीने विद्यार्थीलाई हिसानले धेरै सहयोग गरेको बताए । उनले नेपालमा विदेशको जस्तो शैक्षिक प्रणाली लागू भए मात्र विदेशीनेको संख्या कम हुने समेत बताए । त्यसका लागी विद्यार्थीलाई नेपालमा हुने शिक्षाको बारेमा बुझाउन सक्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै, हिसानका अध्यक्ष  रमेश कुमार सिल्वालले विदेशी लगानी भित्र्याउन सकिएमा हिसानले नेपालका मात्र नभएर विदेशी बिद्यार्थी समेत पढाउनसक्ने बताए । उनले यस मेलाले विद्यार्थीलाई धेरै फाईदा भएको बताउँदै १० हजार विद्यार्थीले छात्रवृत्ति पाएको पनि बताए ।

एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू छन्  । मेलामा निःशुल्क प्रवेश गर्न सकिने व्यवस्था मिलाइएको छ । 

चार दिने एडुफेयरमा विद्यार्थी, अभिभावकलाई शैक्षिक परामर्श दिइने छ । कक्षा ११ र स्नातक तह (ब्याचलर) मा भर्नाको तयारीमा रहेका विद्यार्थी, अभिभावकलाई पढ्ने संकायरविषय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजकले जनाएको छ । शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग मेलामा आउने विद्यार्थीले छलफल र परामर्श लिन सक्ने व्यवस्था गरिएको छ ।

एडुफेयरमा पहिलो पटक काठमाडौं विश्वविद्यालयको पनि सहभागिता रहेको छ । त्यसबाहेक कक्षा ११ र १२ पठनपाठन गराउने विद्यालयहरूसहित त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम विश्वविद्यालय र सीटीईभीटीबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूको सहभागिता रहेको छ ।

कान्तिपुर पब्लिकेसन्स र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन् । मेलाको नारा ‘उत्कृष्ट शिक्षा नेपालमै’ रहेको छ।

वर्षैपिच्छे आयोजना हुँदै आएको शैक्षिक मेला भूकम्प र कोभिडको वर्ष भने हुन सकेको थिएन । विगतका वर्षमा २ लाखभन्दा बढीले मेला अवलोकन गरेको तथ्यांक छ । सुरुका मेलामा २०र३५ वटा शैक्षिक संस्था मात्रै सहभागी हुने गरेकोमा सहभागिता वृद्धि भएर ७५ भन्दा धेरै पुगेको आयोजकले जनाएका छन् । मेलामा सहभागीमध्ये एक हजारभन्दा बढी विद्यार्थीले पूर्ण तथा आंशिक छात्रवृत्तिको अवसर पाउनेछन् ।

Logo