यो वर्ष धेरै हिसाबले एसइईको नतिजा राम्रो देखियोः अध्यक्ष शर्मा

यो वर्ष धेरै हिसाबले एसइईको नतिजा राम्रो देखियोः अध्यक्ष शर्मा


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गत वर्ष भन्दा यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा धेरै राम्रो आएको बताएका छन्। बिहीबार नतिजा प्रकाशनपछि पत्रकार सम्मेलनमा बोल्दै शर्माले धेरै हिसाबले यो वर्षको नतिजामा सुधार आएको बताएका हुन्। 

‘यस पटक बोर्डले केही फरक हिसाबबाट नतिजा प्रकाशन गरेको छ। अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत  प्रश्नपत्र प्रयोग गरेर यस पटकको परीक्षा सञ्चालन गरिएको थियो, त्यसैले गतभन्दा धेरै हिसाबबाट राम्रो भएको छ, रिजल्ट पनि देखियो,’ उनले भने। 

उनका अनुसार कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाए। त्यसैले पनि नतिजामा सुधार भयो। उनले विद्यालय, कक्षाकोठाको अवस्था सुधार र परीक्षा प्रणालीमा आएको सुधारका कारण पनि नतिजा राम्रो आएको बताए। 

यस वर्ष एसइईमा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ। २२ हजार ४७५ जनाले ३।६ देखि ४ जिपिए ल्याएका छन्। अध्यक्ष शर्माका अनुसार अघिल्लो वर्षको एसइईमा ९ हजार ६३३ जनाले ३।६ देखि ४ जिपिए ल्याएका थिए। बोर्डले २०७९ को एसइई परीक्षामा ४ लाख ८४ हजार ९३९ जना सहभागी भएको जनाएको छ। एसइई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

Logo