शैक्षिक क्षेत्र सशक्तिकरण गर्ने २० हस्ती केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मानबाट सम्मानित

शैक्षिक क्षेत्र सशक्तिकरण गर्ने २० हस्ती केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मानबाट सम्मानित


नेपालको शैक्षिक क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याएर शिक्षण क्षेत्रलाई सशक्तिकरण गर्न मुख्य भूमिका निर्वाह गर्ने २० जना व्यक्तित्वलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट शिक्षा सम्मान प्रदान गरिएको छ । उनीहरुको दशक बढीको शैक्षिक क्षेत्रमा रहेकाे योगदानलाई कदर गर्दै उक्त सम्मान केन्द्रबिन्दु डटकमले प्रदान गरेको हो । 

शैक्षिक क्षेत्रको सुधारका लागि बुलन्द आवाज होस् वा विश्व बजारमा प्रतिष्पर्धी गराउन विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिएर होस् अथवा शिक्षण क्षेत्रको नतिजादेखि अध्ययन अध्यापनको क्षितिज नै फराकिलो बनाएर समावेशी, समतामूलक बनाउन महत्वपुर्ण भूमिका खेल्ने व्यक्तित्वलाई नै केन्द्रबिन्दुले सम्मान दिएको हो । आ-आफ्नो क्षेत्रमा लगनशिल, प्रेरणाकाश्रोत, सुधारवादी र शिक्षाको ज्योति फैलाउन विशेष योगदान गर्ने व्यक्तित्व भएकाले सो अवार्डबाट सम्मान गरिएको हो । 

को-को भए सम्मानित ?

१. डा. विद्यानाथ कोइराला

नेपालको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण क्षेत्रमा महत्वपुर्ण नाम हो, प्रोफेसर डाक्टर विद्यानाथ कोइराला । शैक्षिक क्षेत्रको नतिजा होस् वा गुणस्तर सुधार गर्न निरन्तर आवाज बुलन्द बनाउन कोइराला निरन्तर अग्रसर हुनुहुन्छ । शिक्षाविद् कोइराला त्रिभुवन विश्वविद्यालयको शिक्षा केन्द्रीय विभागका प्राध्यापक तथा विभाग प्रमुख हुनुभयो । शैक्षिक संस्थाहरूको मूल्याङ्कन र परीक्षणको समेत लामो अनुभव संगाल्नु भएको छ । आफ्नो जीवन नै नेपालको शिक्षा सुधारका लागि खर्चनु भएका तपाई श्री प्रा.डा. विद्यानाथ कोइरालालाई सम्मान गर्न पाउँदा आज हामी पुलकित भएका छौं । 

२. युवराज शर्मा

गुणस्तरीय शिक्षा दिँदै आएको ह्वाइट हाउस कलेजका प्रिन्सिपल हुनुहुन्छ युवराज शर्मा । नेपालको शैक्षिक क्षेत्रमा उहाँको योगदान आगामी वर्षौसम्म स्वर्णिम अक्षरले लेखिनेछ । उहाँले नेतृत्व गरेको शैक्षिक संस्था हिमालयन ह्वाइट हाउसका विद्यार्थी देश तथा विदेश एवम् संसारका विश्वविद्यालयमा उत्कृष्ट भएर विभिन्न क्षेत्रमा उदाहरणीय बनेका छन् । नेपालको शैक्षिक क्षेत्रमा नविनतम ज्ञान बाँड्नु भएका शर्माको योगदानप्रति केन्द्रबिन्दु अनलाईन मिडिया प्रा.लि. नमन गर्दछ । 

३. नारायणप्रसाद कोइराला

नारायणप्रसाद कोइराला नेपालको शैक्षिक क्षेत्रमा अविष्मरणीय व्यक्तित्व हुनुहुन्छ । नेपालको शैक्षिक क्षेत्रलाई नयाँ गन्तव्य र गति दिलाएर शिक्षामै जीवन समर्पित गर्नुभएका अध्यापक हुनुहुन्छ, नारायण कोइराला । नेपालमा प्लस टु स्थापनाका लागि उहाँको भूमिका कालान्तरसम्म अविष्मरणीय रहनेछ । कक्षा ११ र १२ मा पनि कानुन संकायको अध्यापन सुरु गराएर उहाँले आफ्नो जागिरे जीवनको उत्तरार्धमा अर्को गुन लगाउनु भएको छ । शिक्षाका धरोहर तपाईं श्री नारायणप्रसाद कोइरालालाई सम्मान गर्न पाउनु हाम्रा लागि गर्वको विषयको बनेको छ। 

४. प्रा. डा उपेन्द्रकुमार कोइराला

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पुर्व उपकुलपति प्रोफेसर डाक्टर उपेन्द्रकुमार कोइरालाको योगदान नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय छ । शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान गर्नुभएका प्रोफेसर कोइरालाले विश्वविद्यालयमा शिक्षासँगै व्यवहारिक ज्ञान पनि आवश्यक छ भनेर स्थापित गराउनु भएको छ । निरन्तर शैक्षिक गन्त्वयमा पुर्याउन यहाँले डोराउनुभएका बाटो विद्यार्थी र समग्र शैक्षिक जगतका लागि उदाहरणीय छ । शिक्षाका दीप तपाई श्री प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई सम्मान गर्न पाउँदा आज हामी हर्षविभोर भएका छौं । 

५. प्रा. डा. तीर्थराज खनिया

त्रिभुवन विश्वविद्यालयका उपकुलपति रहिसक्नुभएका प्रोफेसर डाक्टर तिर्थराज खाँनियाको शैक्षिक क्षेत्रमा योगदान अभिन्न छ । उच्च माध्यमिक तहका उपाध्यक्ष समेत हुनुभएका खनियाँले कोरेका मार्गचित्रले आज नेपालको शैक्षिक क्षेत्रले एउटा गति समाउन सफल भएको छ । शिक्षा क्षेत्रको मियो तपाई श्री प्राध्यापक डा. तिर्थराज खनियाँलाई सम्मान गर्न पाउनु हाम्रा लागि गर्व अविश्मरणीय क्षण बनेको छ । 

६. दुर्गाप्रसाद अर्याल

शैक्षिक क्षेत्रमा क्रियाशिल बनेर राष्ट्रको सेवामा लाग्नुभएका व्यत्ति हुनुहुन्छ, दुर्गा प्रसाद अर्याल । राष्ट्रिय परीक्षा बोर्डका सचिव दुर्गा प्रसाद अर्याल शैक्षिक सूचना सरल स्पष्ट हुनुपर्छ भन्ने अभियानमा लामो सकयदेखि सक्रिय हुनुहुन्छ । शिक्षाका धरोहर तपाईं श्री दुर्गा प्रसाद अर्याललाई सम्मान गर्न पाउँदा आज हामी हर्षविभोर भएका छौं ।

७. उमेश श्रेष्ठ

शैक्षिक क्षेत्रमा ४२ वर्ष बढि विताइसक्नु भएका व्यक्तित्व हुनुहुन्छ उमेश श्रेष्ठ । निजी शैक्षिक क्षेत्रमा इतिहास बनाउन सफल लिटल एन्जल्स स्कुलका संस्थापक श्रेष्ठले शिक्षा राज्यमन्त्री समेत भएर शैक्षिक क्षेत्रको उत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्नुभयो । प्याबसनको नेतृत्प समेत सम्हालिसक्नु भएका श्रेष्ठ हिसानका प्रमुख सल्लाहकार समेत बन्नुभयो । नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका तपाईं श्री उमेश श्रेष्ठलाई सम्मान गर्न पाउनु हाम्रा लागि ऐतिहासिक क्षण बनेको छ ।

८. रमेश सिलवाल

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षा प्रणालीको स्तरोन्नति गरी नेपालमा उच्च शिक्षाको स्तरवृद्धि गर्न निरन्तर योगदान दिइरहनुभएको छ । शैक्षिक क्षेत्रमा होस् वा खेलकुद, सिलवालको योगदान महत्वपुर्ण छ । नेपाल उच्च शिक्षाको लागि एसियाको हब बन्नुपर्ने अवधारणालाई सधैं अंगाल्नु भएका तपाईं श्री रमेशकुमार सिलवाललाई आज सम्मान गर्न पाउँदा हामीले आफैंलाई भाग्यमानी महसुस गरेका छौं । 

९. महाश्रम शर्मा

नेपालको शैक्षिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएका डा महाश्रम शर्मा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष हुनुहुन्छ । शर्मा पूर्व शिक्षा सचिव समेत हुनुभयो । सामूहिक नेतृत्व र निर्णयबाट सफलता पाउन सकिने भएकाले त्यसैलाई आत्मसात गरेर अघि बढ्नु भएका शर्मा बोर्डमा कर्मचारीको वृत्तिविकासमा प्रतिबद्ध समेत हुनुहुन्छ । शिक्षा क्षेत्रका तारा तपाई श्री डा. महाश्रम शर्मालाई सम्मान गर्न पाउनु हाम्रा लागि गर्वको विषयको बनेको छ। 

१०. प्रा.डा. चन्द्रमणी पौडेल

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष समेत रहनुभएका प्रा.डा. चन्द्रमणि पौडेलले माध्यमिक शिक्षाको मूल्याकंन र सम्परीक्षणको कार्य स्वायत्त गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । त्रिविका पूर्व रजिष्ट्रार पौडेलले तथ्याङ्कशास्त्रका प्राध्यापकका रुपमा समेत लामो सयम सेवा दिनु भएको छ । शैक्षिक क्षेत्रलाई र्निदिष्ट गति दिन उहाँको योगदान अतुलनीय छ । चन्द्रमणिसर प्रति नमन । उहाँलाई यो सम्मान अर्पण गर्दैगर्दा हाम्रो खुशीले उन्माद बनेका छौं ।

११. प्रकृति अधिकारी

झण्डै तीन दशक अघि देखि निरन्तर शैक्षिक क्षेत्रमा कलम चलाउँदै आउनु भएका पत्रकार हुनुहुन्छ, प्रकृति अधिकारी । उहाँका कलमले नेपालको बिग्रदो शैक्षिक स्तरलाई गोरेटोमात्र देखाएन भड्किरहेको नेतृत्वलाई समेत चुनौती दिँदै ट्रयाकमा फर्काउन बाध्य गरायो । शैक्षिक क्षेत्र सुधारका लागि साढे दुई कोरी वर्षदेखि निरन्तर कलम चलाउँदै आउनु भएका तपाई श्री प्रकृति अधिकारीलाई सम्मान गर्न पाउनु केन्द्रबिन्दु अनलाईन मिडिया प्रालिका लागि ऐतिहासिक क्षण बनेको छ । सम्मानित तपाई सम्पूर्ण व्यक्तित्वप्रति केन्द्रबिन्दु अनलाईन मिडिया परिवार हार्दिक नमन गर्दै स्वस्थ र दीर्घजीवनको कमाना गर्दछ ।

१२. विक्रम राई

शैक्षिक क्षेत्रमा अनवरत रुपमा सक्रिय रहनु भएका श्री बिक्रम राईले उच्च मावि तर्फको शिक्षालाई आजको स्थितिमा पुर्याउन निभाउनु भएको भूमिका अतुलनीय छ । हरेक वर्ष उत्कृष्ट नतिजालाई निरन्तरता दिन र सहि गति दिन एक योग्य निर्देशको रुपमा उहाँको जिम्मेबारी कालान्तरसम्म अनुकरणीय रहनेछ । तपाईं श्री बिक्रम राईलाई आज यो सम्मान अर्पण गर्दैगर्दा हाम्रो खुशीले सीमा नाघेको छ । 

१३. गीता राना

३ दशक बढि समय शैक्षिक यात्रामा रहँदै नेपालमा अंग्रेजी माध्यमको विद्यालय शिक्षा स्थापित गराउन तपाई गीता राणाको योगदान महत्वपूर्ण छ । ग्यालेक्सी पब्लिक हाई स्कुलकी पथप्रदर्शक एवम्  प्रिन्सिपल गीता राणा निजी शैक्षिक क्षेत्रमा अलग पहिचान बनाउँदै शिक्षा क्षेत्रलाई समृद्ध बनाउन निरन्तर लागिरहनु भएको छ । विभिन्न आरोह अवरोह पार गर्दै निजी शैक्षिक क्षेत्रलाई नेपालको शिक्षामा अब्बल सावित गराउन अग्रणी भूमिका निर्वाह गर्ने तपाई श्री गीता राणालाई सम्मान गर्न पाउनु हाम्रो लागि ऐतिहासिक क्षण बनेको छ । 

१४. डा. ऋषि तिवारी

निरन्तर उत्कृष्टता हासिल गर्ने शिक्षण संस्था पिनाकल एकेडेमीका प्रिन्सिपल डा.ऋषि तिवारी तीन दशक बढी समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले नेतृत्व गर्नुभएको शैक्षिक संस्थाबाट उतिर्ण भएका विद्यार्थीले हरेक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै नेपालको नाम विश्वसामु चिनाएका छन् । शिक्षालाई ज्ञान र सिपसँग जोडेमात्रै व्यवहारिक बनाउन सकिन्छ भन्ने सिद्धान्त स्थापित गराउन सफल तपाई श्री डा. ऋषि तिवारीलाई सम्मान गर्न पाउनु हाम्रा लागि गर्वको विषयको बनेको छ । 

१५. इन्दिरा याक्थुम्बा

शिक्षा क्षेत्रमा चार दशक बढि समयदेखि सक्रिय व्यक्तिको नाम हो, इन्दिरा याक्थुम्बा । बालिका शिक्षा पनि नेपालमा अपरिहार्य छ भन्ने माग स्थापित गराउँदै कार्यान्वयनमा ल्याउन सफल इन्दिरा याक्थुम्बाले आफैं विद्यालय स्थापना गराएर विद्यार्थीलाई सुनौलो भविष्य दिनु भयो । चार दशकको यो यात्रामा उहाँले इन्दिरा गुरुआमाप्रति नतमस्तक हुने हजारौं विद्यार्थी जन्माउनु भएको छ । इन्दिरा गुरुआमाप्रति केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. पनि नमन गर्दछ ।

१६. रामबहादुर खड्का

तत्कालिन एच.एस.ई बीको सदस्य सचिव देखि कार्यबाहक प्रमुख सम्मको भूमिका निर्वाह गर्दा रामबहादुर खड्काले लागु गराउनु भएका योजना र नीतिनियम अहिले पनि प्लस टु शिक्षामा उदाहरणीय रुपमा लिने गरिन्छ । विद्यालय तह भित्रै प्लस टु पर्ने नेपाल सरकारको नीतिलाई मध्यनजर गर्दै सोही अनुकुल भर्ना र दश जोड दुई अध्ययन गर्ने उच्च माविका लागि नयाँ परिधि उहाँकै नेतृत्वमा कोरिएका हुन् । उच्च मावि अध्ययनमा तपाईं श्री रामबहादुर खड्काको योगदानको कदर गर्दै केन्द्रबिन्दु अनलाइन मिडिया प्रालि उच्च सम्मान अर्पण गर्दछ । 

१७. रामेश्वर अर्याल

विद्यालयदेखि स्नातकोत्तर तहसम्मको अध्यापन गराउने शैक्षिक संस्थामध्ये केएमसी फाउन्डेशनको नाम अग्रस्थानमा आउँछ । यही फाउन्डेसनका संस्थापकमध्येका एक हुनुहुन्छ, रामेश्वर अर्याल । हजारौं विद्यार्थीलाई सुनौलो भविश्य दिँदै शैक्षिक क्षेत्र उकास्न तराई श्री रामेश्वर अर्यालको योगदान नेपालको शिक्षा क्षेत्रमा अतुलनीय छ । तपाई श्री रामेश्वर अर्याललाई आज सम्मान गर्न पाउँदा हामी हर्षविभोर भएका छौं । 

१८. माधवप्रसाद बराल

देशविदेश घुम्दा पाएको अनुभवलाई नेपालमा लागु गराएर शैक्षिक स्तरलाई एउटा नयाँ उचाईमा पुर्याउन सफल नाम हो, माधवप्रसाद बराल । नयाँ र अन्तर्राष्ट्रिय शैलीमा अध्यापन गराउँदै उहाँकै अग्रसरतामा २०५० सालमा खुलेको नेशनल स्कुल अफ साईन्स एन्ड टेक्नोलोजी (निस्ट) ले उत्पादन गरेको जनशक्तिले अहिले देश तथा विदेशमा धेरै संघसंस्थाको नेतृत्व गरिरहेको छ । रोनास्टमा वैज्ञानिकका रुपमा समेत काम गर्नुभएका डा.बरालले शैक्षिक क्षेत्रमा विज्ञान विषय अध्ययन अध्यापन गर्ने पहिलो निजी शिक्षण संस्था स्थापना गराएर नयाँ अध्याय सुरु गर्नुभयो । शैक्षिक क्षेत्र सुधारका लागि तपाई श्री डा माधवप्रसाद बराललाई सम्मान गर्न पाउनु हाम्रो लागि अहोभाग्य हो । 

१९. कमलप्रसाद लाल कर्ण

झण्डै ३५ वर्ष लामो आफ्नो जागिरे जीवनमा कमलप्रसाद लाल कर्णले ६८ जिल्लाको भ्रमण गर्ने अवसर पाउनु भयो । शिक्षाबाट बञ्चित मनहरु बुझ्न पाउनु भयो । निरक्षर भएकै कारण अवसरहरु गुमाउँदाको पीडा नजिकबाट नियाल्न पाउनुभयो । तत्कालिन श्री ५ को सरकारको क्षेत्रीय शिक्षा निर्देशक भएका समय त्यही हुटहुटीलाई नीति र योजनामासमेट्दै उहाँले लागु गर्नु भएका कार्यक्रमको गारेटोले अहिले राजमार्गको रुप लिएको छ । तत्कालिन उच्च माध्यमिक परिषद्को सदस्य सचिव हुँदा होस वा जिल्ला शिक्षा अधिकारी भएर विभिन्न जिल्ला पुगेका बेला किन नहोस शिक्षा क्षेत्रलाई गति दिन उहाँको योगदान अतुलनीय छ । तपाईं श्री कमलप्रसाद लाल कर्णलाई यो सम्मान अर्पण गर्दै गर्दा श्रद्धाले हाम्रो शिर निहुरिएको छ । 

२०. रिता तिवारी

गुणस्तरीय, समावेशी तथा समतामुलक शिक्षामा जोड दिँदै लामो समयदेखि पद्मकन्या विद्याश्रम माविको नेतृत्व गरिरहनु भएको नाम हो, रिता तिवारी । शिक्षा र सीप मूलक अभ्यासलाई संगसंगै लगेर शैक्षिक रुपान्तरणमा क्रियाशिल प्रधानाध्यापक तिवारीको योगदान शैक्षिक क्षेत्रमा कसैसँग तुलना गर्नै सकिन्न । २०६१ सालबाट पद्मकन्यामा विज्ञान शिक्षकका रुपमा प्रवेश गर्नुभएकी तिवारीले सफल प्राचार्य बन्दै अहिले सोही संस्थाको नेतृत्व गरिरहनुभएको छ । किताबी ज्ञान र अतिरिक्त क्रियाकलापको योग नै गुणस्तरीय शिक्षाको द्योतकका रुपमा अगाडी बढाउनु भएकी तपाईं श्री रिता तिवारीलाई केन्द्रबिन्दु अनलाई मिडिया प्रालि उच्च सम्मान प्रकट गर्दछ । 

Logo