काठमाडौंको ज्ञानेश्वरमा अवस्थित इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी)कलेजले सन् २०२४ इन्टेकअन्तर्गत नयाँ विद्यार्थीहरुको लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजले बुधबार लाजिम्पाटस्थित दुसीट प्रिन्सेस होटलमा एक औपचारिक कार्यक्रम गर्दै दुई हप्तासम्म चलेको अभिमुखीकरण कार्यक्रम समापन गरेको हो । कार्यक्रममा नेपालसहित विभिन्न देशका विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिता जनाउन साल्जवर्ग युनिर्भसिटी अफ अप्लाइड साइन्स अस्ट्रियाका विद्यार्थी उल्फ ग्याङ पनि आएका थिए । २ हप्तासम्म चलेको अभिमुखीकरणमा विद्यार्थीहरुले विभिन्न होटलका अवलोकनका साथै, पर्यटनसम्बधी विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरुलाई हस्पिटालिटी क्षेत्रमा व्यवसायिक रुपमा काम गर्न सहजीकरण गर्नेे कलेजले विश्वास लिएको छ ।
कार्यक्रममा बोल्दै कलेजका निर्देशक तेजबहादुर ढकालले विद्यार्थीहरुलाई नेपालमै पढ्न आग्रह गरे । उनले भने, ‘हस्पिटालिटी क्षेत्र भनेको विदेश जाने होइन, विदेशीलाई नेपाल भित्र्याउने क्षेत्र हो ।’ साथै अबको ३० वर्षपछि हस्पिटालिटी क्षेत्रमा नेपालमै अध्ययनरत विद्यार्थीहरुले नै प्रभुत्व जमाउने उनको विश्वास छ ।
कलेजमा सन् २०२४ इन्टेकअन्तर्गत बीएचएम पढ्न चाहने विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले आईएसटी कलेज छानेकोमा धन्यवाद ज्ञापन गरिन् । उनले एकेडेमीक सर्टिफिकेट मात्र नभई विद्याथीहरुलाई व्यवसायिकता पनि सिकाएको बताइन् । कलेजका पूर्व विद्यार्थीहरुले हस्पिटालिटी क्षेत्रमा देश तथा विदेशमा प्रभुत्व जमाइरहेको उनले बताइन् ।
कार्यक्रममा सहभागिता जनाउन नेपाल आएका साल्जवर्ग युनिर्भसिटी अफ अप्लाइड साइन्स अस्ट्रियाका विद्यार्थी उल्फ ग्याङ नेपाल र अस्ट्रिया भूपरिवेष्ठित राष्ट्र भएपनि, हिमाल लगायतका पर्यटकीय स्थल भएकाले पर्यटकीय क्षेत्रमा राम्रो सम्भावना भएको बताउँछन् । साथै उनले हस्पिटालिटी क्षेत्र छानेको विद्यार्थीहरुलाई धन्यवाद दिँदै यस क्षेत्रमा राम्रो सम्भवना भएको पनि औंल्याए ।





























प्रतिक्रिया