मौलिक कला र संस्कृतिका विषयलाई पाठ्यक्रममा राख्न सुझाव

मौलिक कला र संस्कृतिका विषयलाई पाठ्यक्रममा राख्न सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज) को नियमित कार्यक्रम ‘कलाका कुरा’ को ३९ औँ शृङ्खलामा ‘कला शिक्षाको अवस्था र चुनौती’ विषयक बहसमा कला शिक्षालाई माटो सुहाउँदो बनाउन ध्यान दिनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

उक्त बहसमा काठमाडौं विश्वविद्यालय कला विभागका सहप्राध्यापक सुजन चित्रकार तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस ललितकला क्याम्पसका प्रमुख डा रमेश पोखरेलले नेपालमा कला शिक्षालाई समयापेक्षसँगै प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै नेपालको कला शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाका बारेमा आआफ्ना धारणा राखेका थिए ।

अनलाइनमार्फत गरिएको उक्त बहसमा उनीहरुले समय सान्दर्भिक रुपमा विश्वविद्यालयले कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे । डा पोखरेलले पछिल्लो परिस्थितिलाई ध्यान दिई आगामी दिनमा पठनपाठनमा चुनौती थपिएको बताए । नेपाली माटो सुहाउँदो कला शिक्षा हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘कोरोना भाइरसका कारण लगाइएको लकडाउनले कला विषय अध्यापनको पाटो निकै चुनौतीपूर्ण बनेको छ । प्राक्टिकल विषय भएकाले यसलाई कसरी अनलाइन तथा अन्य माध्यमबाट अध्यापन गराउने भन्ने बारेमा हामीहरु छलफलमै छौं ।’

आगामी दिनमा नेपालका मौलिक कला र संस्कृतिका विषयलाई समेत पाठ्यक्रममा समावेश गरिनुपर्ने धारणा राख्दै डा पोखरेलले विश्वविद्यालयसँगै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले कलाको महत्वलाई ध्यान दिई कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उनले नेपालमा खुलेका सबै विश्वविद्यालयले कला विषय अध्यापन गराउनु पर्ने पनि बताए ।

सहप्राध्यापक चित्रकारले कला शिक्षा समयापेक्ष हुनुपर्ने तथा यो जटिल नबनाई सरल बनाउनुपर्ने बताए । उनले भने, ‘अब कला शिक्षकभन्दा पनि फेसिलेटरका रुपमा विद्यार्थीको रुचिलाई मार्गनिर्देशन गर्नुपर्दछ ।’ काठमाडौं विश्वविद्यालयले दक्षिण एशियाली कला त्यसमा पनि नेपाली कलाका विविध शैली र धारालाई बढी जोड दिएको जानकारी उनले दिए । उनले भने, ‘पश्चिमी तथा पूर्वीय मान्यतामा आधारित कलाका विविध पक्षलाई ध्यान दिएर पाठ्यक्रम बन्नुपर्छ । यसले हामीलाई सीमित नराखी खुला र दक्ष बनाउन महत्वपूर्ण सघाउ पुर्याउँछ ।’

नेपालमा कला शिक्षाका बारेमा खासै बहस नभइरहेका बेला समाजले बहसको थालनी गरेको जानकारी दिँदै सोफाजका अध्यक्ष केशवराज खनालले कला शिक्षालाई विद्यालय तहदेखि लागु गर्न सकिए त्यसले नेपालको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा महत्वपूर्ण सघाउ पुर्याउने विश्वास व्यक्त गरे । समाजका महासचिव देवेन्द्र थुम्केलीको सहजीकरणमा भएको सो कार्यक्रमलाई आर्ट नेपाल र प्रोसी सोलुसनले प्राविधिक सहयोग गरेका थिए ।रासस

Logo