देशभरका क्याम्पस आजदेखि स्ववियुविहीन

देशभरका क्याम्पस आजदेखि स्ववियुविहीन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । बुधबार हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।

विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को फागुन ५ गते बसेको बैठकले बुधबारका लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो । त्रिविका कार्यबाहक रेक्टर शिवलाल भुसालले ०७३ सालमा भएका क्याम्पसका स्ववियु पदाधिकारीको पदावधि सकिएको जानकारी दिए ।

“प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ÷छ महिना गरी दुई पटक पदावधि बढाएका थियौं”, उनले भने, “तर बुधबार हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ ।” वि.सं ०७३ मा २२ आङ्गिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यसो त त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियु पदाधिकारीविहीन भएका छन् ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले स्ववियु निर्वाचन दश वर्षदेखि हुन नसकेको हो । त्रिविका कावा रेक्टर भुसालले अदालतले नै एक वर्षभन्दा बढी कार्यकाल थप्न नपाउने भनेपछि २०७३ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल यस वर्ष थप्न नसकिने बताए ।

प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति टपेन्द्र शाहीले क्याम्पसलाई स्ववियुविहीन बनाउन नहुने भन्दै चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा मिति तोकिनुपर्ने बताए । उनले स्ववियुले आजदेखि आर्थिक कारोवार मात्र गर्न नपाउने भन्दै शैक्षिक कार्यक्रम भने गरिने बताए।

 

Logo