कैलाली,
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताएका छन्। कैलालीको टीकापुरमा प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्को ३७ औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई शनिबार सम्बोधन गर्दै उनले सीपयुक्त जनशक्ति उत्पादनको परिकल्पनासहित सरकारले प्राविधिक शिक्षा ऐन ल्याउने जानकारी दिए ।
“सबैको लागि सीप भन्ने शिक्षाको अवधारणा रहेको छ । त्यस कारण प्राविधिक शिक्षाबाट प्राप्त ज्ञान र सीप व्यवहारमा लागू भएमा समृद्धि हुन्छ”, मन्त्री पोखरेलले भने, “प्राविधिक धारको शिक्षाको योग्यता निर्धारणका लागि सरकारले राष्ट्रिय शिक्षा पेशागत अभियान चलाउने योजनामा रहेको छ । यसको खाका बनाई कार्य अगाडि बढाइसकेको छ ।”
सरकारले ‘एक तह एक’ नमूना प्राविधिक शिक्षालयको अवधारणा राख्दै अहिले ६०४ वटा तहमा प्राविधिक शिक्षालय विस्तार गरिसकेको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद डा रणबहादुर रावलले टीकापुरलाई शैक्षिक नगरीका रुपमा विकास गर्न जोड दिए ।
प्रदेश सांसद रतन थापाले सीप र ज्ञानलाई व्यवहारमा लागू गर्ने खालको शिक्षाको आवश्यकता बढ्दै गएकाले यसले सफलता र समृद्ध हुन सघाउने बताए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्राविधिक शिक्षाको हेर्ने काम स्थानीय र प्रदेश सरकारको रहेकाले प्राविधिक शिक्षालय गाभिन धेरै विधाको शिक्षामा जोड दिन आग्रह गरे।
प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले परिषद्का गतिविधि जानकारी दिएका थिए । समीक्षामा ५९ प्राविधिक शिक्षालयका प्रमुखको सहभागिता थियो ।
रासस





























प्रतिक्रिया