काठमाडौं ।
कक्षा ११ को पाठ्यक्रमका कार्यान्वयनमा देखिएको अन्यौलले विद्यार्थी अभिभावक तथा शिक्षक मर्कामा परेका छन्।
पाठ्यक्रम विकास केन्द्रले तयार गरेर कार्यान्वयनमा समेत पठाइसकेको कक्षा ११ को पाठ्यक्रमलाई क्षेत्राधिकारको प्रश्न उठाउँदै तत्काल कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि अन्योल भएको हो।
विद्यालय तहमा एकलपथीय पाठ्यक्रम लागु गराउने क्रममा पाठ्यक्रम विकास केन्द्रले यसपटक कक्षा एक र एघारको नयाँ पाठ्यक्रम बनाएर कार्यान्वयनमा पठाएको थियो। तर पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई हुनुपर्ने दाबी गर्दै एक समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
गत भदौदेखि नयाँ पाठ्यक्रम अनुसार पढाइ सुरु भएपनि असोज २८ गते मात्रै अदालतमा रिट परेको थियो। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। त्यसपछि तोकिएको पेशी सातौंपटक स्थगित भइसकेको छ। अन्तिम पटक सोमबार सुनुवाइको मिति तोकिएको थियो। तर सुनुवाइ हुन सकेन।
सर्वोच्चको निर्णय कुर्दाकुर्दै शैक्षिक सत्रको ६ महिना बित्न लागिसकेको छ। अधिकांश स्कुलले असोजदेखि नै पढाइ शुरु गरेका थिए। उनीहरुमध्ये धेरैले अहिले पनि नयाँ पाठ्यक्रम अनुसार नै पढाइ सञ्चालन गरिरहेका छन्। तर कोर्स आधा हुन लागिसक्दा पनि पाठ्यक्रमको छिनोफानो हुन नसक्दा विद्यार्थीसंग शिक्षक र अभिभावक समेत तनावमा छन्। अहिलेको मिहेन खेर जाने हो कि भन्ने चिन्ताले सबै पक्षलाई सताएको छ।
नयाँ पाठ्यक्रम अनुसारको पुस्तक लेखक समेत समस्यामा छन्। अदालतबाट फैसला हुन ढिलाइ भएकै कारण सरोकारवाला सबैमा तनाव थपिएको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए।
२०८० सम्मका कक्षा एकदेखि १२ सम्मै नयाँ पाठ्यक्रम लागु गर्ने योजनाका साथ पाठ्यक्रमले यो पटक दुई वटा कक्षाको नयाँ पाठ्यक्रम बनाएको हो। लामो समयको छलफल तथा निकै मिहेनत गरेर पाठ्यक्रम बनाए पनि कार्यान्वयनमा देखिएको अन्यौलताले थप जटिलता थपिएको छ। साथै अबको तीन वर्षभित्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन गराउने योजना पनि तुहिने सम्भावना बढेको छ। केन्द्रका प्रवक्ता गणेश भट्टराईले भने, ‘सम्मानित अदालतको निर्णय सबैले मान्नैपर्छ। मुद्दाको छिनोफानो नै नभएको अवस्थामा तत्काल केहि भन्न सक्ने अवस्था छैन।’
अदालतको अर्घेल्याइले शिक्षक पनि समस्यामा परेका छन्। कलंकीस्थित एड्मार्क कलेजका शिक्षक गोविन्द भण्डारीले भने, ‘पढाइ सञ्चालन भएको पाँच महिना पुग्न लागिसकेको छ। यो समयमा आएर कुन पाठ्यक्रम अनुसार पढाउने भन्ने अन्यौलले विद्यार्थी तथा शिक्षकमा परेको तनावको हिसाबै छैन।’अन्नपूर्णबाट





























प्रतिक्रिया