काठमाडौं,
काठमाडौंको सोह्रखुट्टेस्थित पिपुल्स डेन्टल कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीबाट तोकिएभन्दा अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ ।
कलेजले प्रतिविद्यार्थी ३ लाख रुपैयाासम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको हो । आर्थिक वर्ष ०७३/७४ मा कलेजले १८ औं ब्याचबाट प्रतिविद्यार्थी २२ लाख ५० हजार रुपैयाँ शुल्क उठाएको पाइएको छ । जब कि सो समयमा सरकारले १७ लाख रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।
यसैगरी, कलेजले १९ औं ब्याचका विद्यार्थीलाई ३ लाख रुपैयाँ अतिरिक्त शुल्क तोकेको पाइएको छ । सरकारले १९ लाख ५० हजार रुपैयाँ तोके पनि कलेजले २२ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत उजुरी परेको छ । उजुरीपत्रमा सरकार र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले तोके भन्दा कलेजले प्रतिविद्यार्थी ३ लाख २७ हजार ३ सय ८८ रुपैयाँ अतिरिक्त शुल्क लिएको भनिएको छ ।
यस्तै, परीक्षामा अनुत्तीर्ण भएबापत १० हजार रुपैयाँ थप शुल्क लिएको कन्ट्रयाक्टमा उल्लेख भएको उजुरीपत्रमा भनिएको छ ।सो कलेजमा बर्सेनि ५० जना विद्यार्थी भर्ना हुने गरेका छन् । जसमध्ये प्रतिवर्ष पाँच/पाँच जनाले सरकारी कोटाबाट अध्ययन गर्दै आएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा मिलन गैरेले पिपुल्स डेन्टल कलेजले अतिरिक्त शुल्क लिएको पाइएको भन्दै फिर्ता गर्नुपर्ने बताए । उनले भने, ‘कसैले पनि मनोमानी तरिकाले शुल्क लिन मिल्दैन । सरकारको निर्देशन सबैले पालना गर्नुपर्छ ।’
राजधानीबाट





























प्रतिक्रिया