काठमाडौं डन बस्को कलेज र ट्रेनिङ प्वाइन्टबीच ३ वर्षे सहकार्य सम्झौता

काठमाडौं डन बस्को कलेज र ट्रेनिङ प्वाइन्टबीच ३ वर्षे सहकार्य सम्झौता

केन्द्रबिन्दु
84
Shares

काठमाडौं डन बस्को कलेज(केडिबिसी) र आइटी कम्पनी ट्रेनिङ प्वाइन्ट(वेबपोइन्ट सलुसन यूएसए)बीच एक महत्वपूर्ण सम्झौता भएको छ । बि.बि.ए.मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू बढाउने उद्देश्यले डन बस्को कलेज र ट्रेनिङ प्वाइन्टबीच मंगलबार सम्झौता भएको हो । कलेज र आइटी कम्पनीबीच उक्त सम्झौता ३ वर्षका लागि भएको हो ।

सम्झौतापत्रमा कलेजका कार्यकारी निर्देशक तथा प्रिन्सिपल रश्मी शर्मा मैनाली र ट्रेनिङ प्वाइन्टका सह–संस्थापक तथा कार्यकारी निर्देशक सोनाम शेर्पाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

सो अवसरमा कलेजकी प्रिन्सिपल मैनालीले पछिल्लो समय विद्यार्थीहरुको विदेश पलायनलाई केही हदसम्म रोक्नका लागि यस्तो अवधारणा ल्याइएको बताइन् । उनले भनिन्, ‘अहिले आइटीका धेरै विद्यार्थीले नेपालमै राम्रो कमाई गरिरहेका छन् । बाहिर गएकाहरु पनि स्वदेश नै फर्किएर आफ्नै घरमा बसेर राम्रो आम्दानी गरिरहेका छन् ।’

अबको विश्व भनेको आइटीमा आधारित हुने भएकाले विद्यार्थीहरुलाई पनि समयअनुसार सिपमुलक बनाउन कलेजमा आइटीको नयाँ अबधारणाको विकास गरिएको प्रिन्सिपल मैनालीले बताइन् ।

यस्तै, ट्रेनिङ प्वाइन्टका ट्रेनर नविन पौडेलले आफूहरुको चाहना नेपालमा आइटीको क्षेत्रमा सबल जनशक्ति उत्पादन गर्नु भएको र सोही उदेश्यअनुरुप काठमाडौं डन बस्को कलेजसँग सम्झौता गरेको उनले बताए । उनले सम्झौता अघि कलेजमा एक दिनको वर्कसप गरेको पनि बताए ।

सोही वर्कसप अनुरुप विद्यार्थीहरुको सुझाब र आवश्यकताको पहिचान गरी काठमाडौं डन बस्को कलेजमा बि.बि.ए. अध्ययनरत विद्यार्थीहरुका लागि ३ वर्षे कोर्ष डिजाइन गरिएको पनि उनले बताए ।

बि.बि.ए. पढ्ने विद्यार्थीहरुका लागि महत्वपूर्ण कोर्ष सावित हुने भएकाले उक्त सम्झाैता गरिएको डन बस्को कलेजकी कार्यक्रम प्रमुख जमुना कार्कीले बताइन् । बि.बि.ए.का विद्यार्थीहरुले पहिलो सेमेस्टर देखि छैठौं सेमेस्टरसम्म आइटीको कोर्स गर्ने हुनाले विद्यार्थीहरुको भविष्य निर्माणमा विशेष सहयोग पुग्ने उनको विश्वास छ ।

उनले भनिन् ‘बि.बि.ए.का विद्यार्थीहरुलाई गुणस्तर शिक्षा दिन सेमेस्टरअन्तर्गत विभिन्न ट्रेनिङ प्रोग्राम तय गरेका छौं । सोही प्रोग्रामअन्तर्गत ट्रेनिङ प्वाइन्टसँग सहकार्य गरेको हो । अब बि.बि.ए.का विद्यार्थीहरुले पहिले सेमेस्टरदेखि धेरै नै आइटीका कोर्सहरु गर्न पाउँछन् । जुन अहिले नेपाली बजारमा धेरै नै माग भइरहेको छ । यसका साथ–साथै हाम्रो चाहना अध्ययनपछि विद्यार्थीहरुले विदेशी बजारमा पनि आफ्नो सिपलाई बेच्न सकुन् भन्ने नै हो ।’

साथै कलेजका बि.बि.ए.का कार्यक्रम संयोजक बिश्वराज भट्टले बि.बि.ए.को म्यानेजमेन्टको कोर्समा म्यानेजमेन्टका सिपहरु मात्र सिकिन्छ भन्ने भाष्यलाई चिरेर अगाडि बढ्न काठमाडौं डन बस्को कलेज र ट्रेनिङ प्वाइन्टले साझेदारी गरेको बताए । आइटीको अबधारणालाई विद्यार्थीहरुले पनि सकारात्मक रुपमा लिएको उनको भनाई छ ।

Logo