दिगो विकास लक्ष्यको कोर्ष पूरा गर्ने कान्तिपुर सिटी कलेजका ३१ विद्यार्थी दीक्षित

दिगो विकास लक्ष्यको कोर्ष पूरा गर्ने कान्तिपुर सिटी कलेजका ३१ विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
3.4k
Shares

काठमाडौं । दिगो विकास लक्ष्य (एसडीजी) कार्यक्रमसँग जोडिएर काम गरेका कान्तिपुर सिटी कलेजका ३१ जना विद्यार्थी दीक्षित भएका छन् । एसडीजी अन्तर्गतको सोसल आरटिस्ट्रीसँग जोडिएका १४ र ग्लोबल सिटिजनसिप एजुकेशन (जीसीईडी)सँग जोडिएर काम गर्ने १७ जना विद्यार्थी दीक्षित भएका हुन् ।

कल्प एकेडेमी, कान्तिपुर सिटी कलेज र आईसीए नेपालद्वारा संयुक्त रूपमा शुक्रबार राजदूत स्नातक कार्यक्रमको आयोजना गर्दै विगत एक वर्षदेखि यस विषयमा जोडिएर काम गरी कोर्ष पूरा गर्ने विद्यार्थीहरुलाई दीक्षित गरेको हो । कल्प एकेडेमी अन्तर्गत रहेर निर्देशक तथा इन्जिनियर रवि खनालले नेतृत्वमा स्नातक तहमा विद्यार्थीहरूले एसडीजीभित्रका पाठ्यक्रममा जोडिएर अध्ययनसँगै काम गरेका थिए ।

एसडीजी र जीसीईडीका सिद्धान्तहरू एकीकृत गरी युवा मस्तिष्कलाई सशक्त बनाउने उद्देश्य राखी एसडीजी एम्बेसडसँग संलग्न भई काम गरिएको दीक्षित विद्यार्थी सुरक्षा खनालले जानकारी दिइन् । उनका अनुसार विद्यार्थीहरूले सामाजिक कलामा आधारभूत परिचय, २०३० एजेन्डा, लैङ्गिक समानता र समानता विपद् जोखिम व्यवस्थापन जस्ता विषयसँग जोडिएर काम गरेका थिए ।

यस्तै, दीक्षित विद्यार्थीलाई बधाई दिँदै कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री शक्ति बहादुर बस्नेतले दिगो विकास लक्ष्यले मुलुकको आर्थिक, सामाजिक र पर्यावरणीय परिवेश अनुसारको विकास कार्यान्वयनमा मद्दत पुर्याउने बताए ।

दिगो विकासको लक्ष्यले विश्वमा निकै प्राथमिकता पाएको छ, सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थीको यो विषयसँग जोडिएर काम गर्नु आफैमा सराहनीय छ, आफ्नो समुदायमा दिगो विकास गर्न सक्षम सामाजिक रूपमा सचेत र सक्रिय युवा पुस्तालाई प्रोत्साहन गर्नमा सरकार पनि तत्पर छ,’ उनले भने । सोही क्रममा उनले इन्जिनियर बढ्ने विद्यार्थीहरूका देशमा पर्याप्त अवसर भएको बताउँदै रोजगारीको खोजीमा बाहिर जानु नपर्ने पनि उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा प्रिन्सिपल राजु कट्टेलले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न विद्यार्थीहरूले चालको यो कदमले विद्यार्थीको भविष्य साथै आगामी यात्रामा सकारात्मक प्रभाव पार्ने बताए । ‘विश्व समुदायले अवलम्बन गरेको विश्वव्यापी विकासका साझा खाकामा टकेर विद्यार्थीले ज्ञान र विषय बुझ्नु आफैमा महत्वपूर्ण छ, किताबी सँगसँगै प्रयोगात्मक शिक्षा विद्यार्थीलाई दिन सकियो भने अझ उत्कृष्ट हुन्छ, विद्यार्थीहरूले गरेको यो काम प्रयोगात्मक शिक्षाको एउटा उदाहरण पनि हो,’ उनले भने ।

प्रिन्सिपल कट्टेलले यस कलेजमा अध्ययनरत अन्य विद्यार्थीको दिगो विकास लक्ष्यमा सशक्त भएर लाग्ने अपेक्षा लिएको पनि बताए । सो कार्यक्रम कल्प एकेडेमीका अध्यक्ष डा. प्रल्हाद कार्की, कान्तिपुर–सिटी कलेजका प्रोफेसर रामकृष्ण रेग्मी, संयुक्त राष्ट्र संघ नेपालका दिगो विकास सल्लाहकार सुवास नेपाली, आईसीए नेपालका अध्यक्ष डा. तत्त्वप्रसाद तिम्सिना, दिगो विकासका लागि राष्ट्रिय अभियान नेपालका निर्देशक दया सागर श्रेष्ठ र कृषि विकास विशेषज्ञ रत्न कार्कीको पनि सहभागिता थियो ।

Logo