धार्दिङ ।
आदर्श बहुमुखी क्याम्पस, धार्दिङको १५ औं क्याम्पस सभा तथा चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षता र नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको सभाले चौथो कार्यकालका लागि पुनः माननीय राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गरेको छ । निर्वाचित सञ्चालक समितिका सदस्यहरूमा पुरुषोत्तमदास श्रेष्ठ, प्रमोदराज रूपाखेती, शुक्लबहादुर उप्रेती, शोभा चेपाङ, इन्दिरा रेग्मी, पुष्पराज थपलिया, रङ्गप्रसाद थपलिया, मनोहरदास श्रेष्ठ, भूमिप्रसाद कँडेल, सीता श्रेष्ठ, माधव भण्डारी, विष्णुप्रसाद कोइराला (सदस्य–सचिव) रहेका छन् ।
यसका साथै क्याम्पसले अर्धवार्षिक रूपमा “आदर्श मञ्जरी” नामक पत्रिका प्रकाशनको थालनी गरेको छ । उक्त पत्रिकालाई कार्यक्रमका अध्यक्ष तथा विशिष्ट अतिथि लक्ष्मण शर्माद्वारा विमोचन गरिएको छ । क्याम्पसका नेपाली भाषा शिक्षा विभागका प्रमुख रमेश भट्टराई ‘सहृदयी’ प्रधानसम्पादक रहेको उक्त पत्रिकामा मा.राजेन्द्रप्रसाद पाण्डे र नेपालका उच्च बौद्धिक व्यक्तित्व तथा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको मार्मिक विचार समेटिएको अन्तर्वार्ता लगायत क्याम्पसभित्र र बाहिरका कवि, लेखक लगायतका सिर्जनालाई समेटिएको छ । यसका साथै क्याम्पसले यसै वर्ष आफ्नो वार्षिक प्रतिवेदनलाई पनि पुस्तकाकारका रूपमा प्रकाशनमा ल्याएको छ । गजुरी गाउँपालिकाले क्याम्पसका लागि विशेष योगदान प्रदान गरेको सन्दर्भ लगायतका विषयलाई समेटिएको उक्त प्रतिवेदनलाई क्याम्पस प्रमुख विष्णुप्रसाद कोइरालाले प्रस्तुत गरेका थिए भने गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना लगायतले समेत सो कुरामा धारणा व्यक्त गरेका थिए ।
यसका साथै कार्यक्रमका क्रममा क्याम्पस सभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि लक्ष्मण शर्माले उच्च शैक्षिक संस्थाले श्रमबजारमा सजिलै बिक्ने सीपयुक्त जनशक्ति उत्पादनमा तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालनमा जोड दिनु पर्ने र उल्लेखित कार्यमा आदर्श बहुमुखी क्याम्पसले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय राजेन्द्रप्रसाद पाण्डेले क्याम्पसको निर्माणाधीन भवनको निर्माण कार्य २०७७ फागुन ०६ सम्ममा पूर्णरूपमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता गर्ने र एक वर्षभित्र पूर्णरूपले प्रविधिमैत्री बनाउने दृढता व्यक्त गरे ।































प्रतिक्रिया