काठमाडौं । सिंगापुरको नेशनल युनिभर्सिटीका पूर्वउपाध्यक्ष प्रा. श्रीराम रामाकृष्णले नेपालमा आधुनिक र नवप्रवर्तनमुखी विश्वविद्यालय स्थापना गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याएका छन्।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)द्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै रामाकृष्णले यस्ताे बताएका हुन् ।
उनले भने,’म व्यक्तिगत रूपमा उपस्थित भएर तपाईंहरूसँग ‘सबैभन्दा यथार्थ भविष्य’ र तपाईंहरूसँग भएको ‘विशेष अवसर’ बारेमा प्रत्यक्ष कुरा गर्न चाहन्थेँ। सायद यो हामीमध्ये धेरैका लागि करियर र जीवनको सबैभन्दा महत्त्वपूर्ण काम हाे।’
उनले अमेरिकामा स्थापना गरिएको ‘एभरेस्ट फन्ड’को चर्चा गर्दै यस फन्डमार्फत अमेरिकाबाट नेपालमा परोपकारी सहयोग ल्याउन सकिने बताए । “अहिलेसम्म एभरेस्ट फन्डबाट प्राप्त हुने सहयोगको एकमात्र लाभार्थी तपाईँहरूको विश्वविद्यालय हुनेछ । यसको माध्यमबाट दाताहरूलाई कर छुटसहित सहयोग गर्न सजिलो हुन्छ,” उनले स्पष्ट पारे।
पूर्वउपाध्यक्ष रामाकृष्णले अमेरिकामा गत वर्ष मात्रै ५ खर्ब ७० अर्ब डलर बराबरको दान दिइएको र यो वर्ष ६ खर्ब डलरभन्दा बढी पुग्ने अनुमान रहेको जानकारी दिए। उनले भने, ‘त्यो रकम विभिन्न उद्देश्यका लागि खर्च गरिन्छ, र त्यसमध्ये करिब ५ प्रतिशत अर्थात् ३० अर्ब डलर अमेरिकाबाहिरका प्रयोजनहरूमा जान्छ।’
उनले अस्ट्रेलिया, क्यानडा र बेलायतजस्ता अन्य देशहरूमा पनि यस्ता फन्डहरू स्थापना गर्ने योजना रहेको बताए। ‘नेपालसँग सम्बन्ध भएका व्यक्ति, यहाँको भ्रमण गरी प्रेम गर्न पुगेका पर्यटक वा ठूला अन्तर्राष्ट्रिय संस्थाहरूलाई समेटेर हामीले विश्वविद्यालयको दीर्घकालीन र दूरदर्शी लक्ष्यमा लगानी गर्ने वातावरण बनाउँदैछौँ,’उनले थपे।
रामाकृष्णले विश्वभरका दाताहरूसँग सकारात्मक संवाद गर्न र उनीहरूलाई नेपालमा वास्तविक परिवर्तन ल्याउने लगानीको अवसर प्रदान गर्न आफू आतुर रहेको बताए।





























प्रतिक्रिया