काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले विज्ञान तथा प्रविधि ऐन कार्यान्वयन नभएको भए नेपालमा विश्वस्तरको विश्वविद्यालयको कल्पना पनि गर्ने सम्भव नरहेको बताएका छन्।
एमबीयुएसटीद्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डा. जोशीले ऐन ल्याउनु महत्त्वपूर्ण भए पनि यसको कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको औंल्याए । तर, उनले खुसीको खबर सुनाउँदै भने, “हामीले विश्वस्तरको विश्वविद्यालय बनाउने बाटो पहिल्याइसकेका छौं।”
उनले मुलुकमा व्याप्त निराशा र युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा मदन भण्डारी विश्वविद्यालय आशाको किरण बन्न चाहेको बताए ।’११–१२ जना विद्यार्थीहरू विश्वविद्यालयमा आएर हामी नेपालमै बस्न चाहन्छौं, नेपालका लागि काम गर्न चाहन्छौं भन्छन् । यो आफैमा ठूलो परिवर्तनको संकेत हो ।’ उनले भने ।
अध्यक्ष जोशीले अबको विश्वविद्यालय उद्योग, विकास र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिए । नेपालका धेरै विश्वविद्यालयहरूले बेरोजगार जनशक्ति उत्पादन गरिरहेको सन्दर्भमा मदन भण्डारी विश्वविद्यालयले यो समस्या समाधान गर्ने दिशामा काम गरिरहेको उनको भनाइ थियो।
विश्वविद्यालयले उद्योगहरूसँग सहकार्यलाई विशेष प्राथमिकता दिएको जानकारी दिँदै उनले एरिज मूसरुम फर्म उद्योगसँग एमओयूमा हस्ताक्षर गरिएको पनि बताए। यस सहकार्यले उद्योगका वास्तविक समस्या पहिचान गरी समाधान गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
जोशीले यस वर्ष तीन जना विद्यार्थी ‘मास्टर्स बाई रिसर्च’ उपाधिबाट दीक्षित हुने जानकारी दिए । तीमध्ये एकजना अर्गानिक मल, एकजना किवी र अर्को अर्गानिक तरकारीमा विशेषज्ञता हासिल गरेका छन्। दीक्षित हुन लागेकामध्ये दुईजनाले उद्यमशीलताको बाटो रोजिसकेको र उनीहरू बजार व्यवस्थापन तथा अर्गानिक तरकारी आपूर्तिमा सक्रिय रहेको पनि उनले जानकारी गराए ।
विश्वविद्यालयलाई विश्वस्तरको बनाउने स्पष्ट योजना तयार भइसकेको जानकारी दिँदै अध्यक्ष जोशीले समस्या बजेटको नभई संस्थागत संरचनाको भएको बताए । यदि ८–९ करोड रुपैयाँ जुटाउन सकिए यो लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।
विश्वविद्यालयले हालसम्म १ करोड ५५ लाख रुपैयाँ जुटाइसकेको छ । अध्यक्ष डा. जोशीले नेपालभित्रका व्यक्तिहरू र विज्ञान तथा प्रविधि मन्त्रालयलाई कम्तीमा १०० रुपैयाँ दान गर्न आह्वान गरेका छन्।





























प्रतिक्रिया