ललितपुर । काठमाडौं मोडेल कलेज (केएमसी) ललितपुरमा पूर्वविद्यार्थी भेला भव्य रुपमा सम्पन्न भएकाे छ । बालकुमारीस्थित कलेजको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ४०० पूर्व विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
केएमसी ललितपुर पूर्व विद्यार्थी समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष अच्युतम गौतमले गरेका थिए। कार्यक्रममा केएमसी नेटवर्क प्रालिका निर्देशक डा. दुर्गाजङ्ग केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सांस्कृतिक प्रस्तुति, आत्मीय जमघट र प्रेरणादायी मन्तव्यहरू समावेश गरिएको कार्यक्रमले सहभागीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको थियो।
भेलामा उपस्थित पूर्व विद्यार्थीहरूले एकआपसमा खुल्लमखुल्ला कुराकानी गर्ने अवसर पाएका थिए। कार्यक्रममा बोल्दै केएमसीका पूर्व विद्यार्थी एवं आईडीएसका प्रस्तोता सुदिप भाइ सुवेदीले केएमसीले दुई वर्षको अवधिमा किताबी ज्ञानका साथै जीवनोपयोगी संस्कार पनि प्रदान गरेकोले आफ्नो सफलतामा यस संस्थाको ठूलो भूमिका रहेको बताए।
कार्यक्रममा केएमसी ललितपुरका संस्थापक प्रिन्सिपल सुरेन्द्र सुवेदीले संस्था र विद्यार्थीहरूको सम्बन्धलाई ‘जीवनभर कायम रहने साझेदारी’को रूपमा व्याख्या गरे। उनले विद्यार्थी र अध्यापक तथा शैक्षिक संस्थाको सम्बन्ध विद्यार्थीहरूले संस्था छोडेर गएपछि पनि अटुट रहने र एकले अर्कालाई सफल बनाउन निरन्तर सहयोग गरिरहने बताए।
सुवेदीले भने, “हामीले सल्काएको शिक्षाको दियो, पूर्व विद्यार्थीहरूले नै संसारभर फैलाउने काम गर्नेछन्।”
अध्यक्ष अच्युतम गौतमले पूर्व विद्यार्थीहरूको यो सञ्जाल ‘सेवा हि परमो धर्म’को भावनालाई व्यवहारमा उतार्ने संकल्पमा आधारित रहेको बताए ।
कार्यक्रममा पूर्व विद्यार्थीहरूको सक्रियता र योगदानलाई औपचारिक संस्थागत स्वरूप दिन नयाँ कार्यसमिति चयन गरिएको छ।
भेलाले आदीप राउतलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा मेरियन कार्की र हिमाल विस्ट, सचिवमा सुनीता खड्का, कोषाध्यक्षमा सौरभ साह तेली र सहसचिवमा मिनेन्द्र यादव चयन भएका छन्। सदस्यहरूमा सत्यम् सुन्दर साह, दयालशरण सत्सङ्गी, आशिका भण्डारी, आविष्कार दाहाल, ऋजु कोइराला, सूचना केसी र सुजाता भट्टराई रहेका छन्।
नवगठित कार्यसमितिले पूर्व विद्यार्थीहरूलाई सामाजिक भेटघाटमा मात्र सीमित नराखी शैक्षिक सुदृढीकरण, करियर विकास र सामाजिक योगदानका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ । उपस्थित पूर्व विद्यार्थीहरूले कलेज र सञ्जालबीचको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा पूर्व शिक्षकहरूको पनि उल्लेखनीय उपस्थिति थियो। केएमसी ललितपुरका अध्यक्ष डा. दुर्गाजंग केसी एवं हिमालयन इन्जिनियरिङ कलेजका निर्देशक किशोर गौतमले नवगठित कार्यसमितिलाई शुभकामना दिएका थिए भने विगतको समितिको कार्यसम्पादनको उच्च मूल्याङ्कन एवं प्रशंसा गरेका थिए ।
केएमसी ललितपुरका प्राचार्य मुकुन्द कुमार गिरीले नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।





























प्रतिक्रिया