काठमाडौं । बालकुमारीमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजकी सीईओ ऋतु न्यौपाने विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध छिन् । सैद्धान्तिक ज्ञान मात्र नभई पढाई सकेर कलेजबाट निस्किँदा विद्यार्थीसँग शैक्षिक प्रमाणपत्रसँगै कुनै न कुनै सिप हुनुपर्छ र त्यहिअनुसार शैक्षिक संस्थाहरुले शिक्षा प्रदान गर्नुपर्छ भन्ने धारणा राख्ने न्यौपाने शिक्षाले सबै परिवर्तन सम्भव छ भन्ने दृढ सोचका साथ अघि बढिरहेकी छन् । एसईईको नतिजा प्रकाशन भइसकेको छ । यतिबेला विद्यार्थीहरूलाई कुन शैक्षिक संस्था रोज्ने ?, कहाँ पढ्ने ?, के पढ्ने ? भनेर उत्पन्न भएको द्विविधाको समाधानलाई मध्यनजर गरी कलेजकी सीईओ न्यौपानेसँग केन्द्रबिन्दुका लागि सरीता चौधरीले गरेको कुराकानीको सम्पादित अंश-
एक दशकदेखि शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्छ, के पहिले र अहिले फरकपन पाउनु भएको छ ?
-१० वर्षदेखि म यो शिक्षा क्षेत्रमा लागिरहँदा हरेक दिन नयाँ जस्तो लाग्छ । १० वर्ष अगाडिको विद्यार्थी भाइबहिनीहरू, अभिभावकहरूसँगको मेरो कुराकानी, अट्याचमेन्ट एकदमै नौलो लाग्छ । समय परिवर्तन सँगसँगै विद्यार्थी भाइबहिनीहरू पनि परिवर्तन, कलेजको व्यवस्थापन पनि धेरै कुराहरू अपडेट गरेर लैजानुपर्ने, धेरै कुराहरूको परिवर्तन भैरहेको छ ।
विद्यार्थीको व्यवहारमा चाँही कस्तो भिन्नता पाउनुहुन्छ ?
-पहिला १० वर्ष अगाडिको कुरा गर्दै हेर्ने हो भने विद्यार्थी भाइबहिनीहरू अलिकति बढी मेहेनत गर्ने, कुन फिल्डमा जान खोजेको हो, बुझ्ने गरेका थिए । शिक्षकले काउन्सिलिङ गर्दा पनि ध्यान दिएर सुन्थे । तर पछिल्लो समय टेक्नोलोजीको कारण घरमै बसेर धेरै कुराहरू बुझ्न सक्ने वातावरण बनेको छ । स्कुलमा बुझ्नुपर्ने कुराहरू घरमै बसेर बुझ्न सकिन्छ । त्यसैले शिक्षकहरूलाई म किन भेट्ने भन्नेमा परिवर्तन धेरै देखिन्छ, यो टेक्नोलोजी भनेको राम्रो विषय पनि हो ।
तर कहिलेकाहीँ चाहिँ साँच्चिकै हामी सही दिशातर्फ गइराखेका छौं त ? भनेर सोच्नुपर्ने भएको छ । यो १० वर्षको दौरानमा हामीले कोरोनाकाललाई पार गर्यौं । त्यो समयमा टेक्नोलोजीले शिक्षण सिकाइमा धेरै सहयोग भयो । विद्यार्थीको मानसिकता अहिले के छ भने, सानो कुराहरू घरमै बसेर नेटबाटै पाइन्छ । त्यसो भए स्कुल किन जाने, शिक्षकका कुरा किन सुन्ने भन्ने छ ।
तपाईं व्यवस्थापन संकाय अध्ययन गरेको विद्यार्थी शिक्षा क्षेत्रमा कसरी लाग्नुभयो ?
-म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आएपछि म्यानेजमेन्ट सेक्टरमै जानुपर्छ भन्ने अवश्य पनि होइन । अवसर भन्ने कुरा सबै क्षेत्रमा हुन्छ । मलाई पहिलादेखि नै एकदमै मनपर्ने शिक्षण पेसा हो । म एकताका स्वास्थ्य क्षेत्रमा पनि आवद्ध थिए । हरेक कुराको अवसरदेखि लिएर समाजमा सकारात्मक परिवर्तन शिक्षाबाटै हुन्छ त्यो कारणले पनि यहि क्षेत्रलाई रोजें ।
शिक्षामा अवसर पाइराख्दा म चाहिँ गर्न सक्छु है, एउटा नेतृत्व तहमा बसेर पनि धेरै कुराहरू परिवर्तन गर्न सकिन्छ भन्ने कुराले अलि बढी आकर्षित गर्याे । चाहे जति भएको छैन होला तर केहि हदसम्म परिवर्तन पनि गरेको छु ।
तपाईं अहिले ट्रिटन इन्टरनेशनल कलेजको सीईओको रूपमा कार्यरत हुनुहुन्छ, ट्रिटन इन्टरनेशनलमा शैक्षिक गतिविधिहरु कसरी सञ्चालन भैरहेका छन् ?
-ट्रिटनले नतिजालाई बढी प्राथमिकता दिन्छ । अभिभावकलाई पनि मेरो बच्चा पढिसकेपछि चाहिँ राम्रो नम्बर ल्याएर पास गरोस् भन्ने अवश्य हुन्छ । गुणस्तरकै कुरा गर्ने हो भने, नतिजालाई पनि आधार त पक्कै पनि बनाएको देखिन्छ । तर ट्रिटन चाहिँ शैक्षिक नतिजा मात्रै होइन व्यवहारिक पक्षहरूलाई पनि जोड दिएर अगाडि बढिरहेको छ । विद्यार्थीका लागि करिकुलम सँगसँगै व्यवहारिक पाटो एकदमै महत्वपूर्ण कुरा हो ।
अर्को, डिसिप्लिन हो । चट्ट कपाल काटेर आउने, ड्रेस लगाउने मात्रै डिसिप्लिन होइन । टाइम म्यानेजमेन्टको डिसिप्लिन होला । टिचर्सहरूसँग गरिने आज्ञाकारी व्यवहार डिसिप्लिन होला । यी पाटा र संस्कारलाई पनि जोडेर ट्रिटनले आफ्नो अध्यापन चाहिँ यसरी गराइराखेको छ ।
ट्रिटन इन्टरनेशनल कलेज कुन उदेश्यले र कसरी स्थापना भएको थियो ?
-वि.सं. २०५६ सालमा ट्रिटन एन्टरनेशनल कलेजको स्थापना भएको हो । कलेजको स्लोगन नै छ, ‘वि ट्रान्सफर्म यु’ । ट्रान्सफर्म भनेको विद्यार्थीको व्यावहारिक शिक्षामा ट्रान्सफर्म, रिजल्टको कुरामा ट्रान्सफर्म । विद्यार्थी विद्यालय आउँदा के थियो, के बन्न चाहन्छ, अभिभावकले कसरी आफ्नो छोराछोरीलाई बुझिराख्नुभएको छ, त्यो ब्रिजिंगको काम ट्रिटनले गर्छ । कलेजको उद्देश्य भनेको सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।
ट्रिटन इनटरनेशनल कलेजले विद्यार्थीलाई कसरी छात्रवृत्ति प्रदान गरिरहेको छ ?
-काठमाडौं महानगरपालिकाले सिफारिस गरेको आधारमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छौं । म केहि गर्छु भन्ने विद्यार्थीलाई आर्थिक अभावका कारण रोकिनु परेको छ भने, त्यस्तो विद्यार्थीलाई कलेजले छात्रवृत्ति प्रदान गर्ने गरेको छ । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्नेमा विश्वास राख्छौं ।
तर त्यसमा विद्यार्थीका लागि केहि क्राइटेरिया रहेको छ । स्कलरसिप पाएको छु भनेर विद्यार्थीले अल्छिपना गर्नुभएन । त्यहिअनुसार मेहनत पनि गर्नुपर्छ । मलाई त ट्रिटनले अवसर दियो अब त मैले जे गरे पनि हुन्छ भन्न चाहिँ पक्कै पाइँदैन ।
भौतिक संरचनामा ट्रिटन कति अब्बल छ ?
-शैक्षिक संस्थाको वातावरण कस्तो छ भन्ने विषयले महत्वपूर्ण भूमिका खेल्दछ । जस्तै, कक्षाकोठा डिजिटलाइजेसन छ कि छैन, कक्षाकोठाको वातावरण कस्तो छ, त्योसँगसँगै पढाउने शिक्षकहरु त्यहाँको वातावरणले धेरै ठूलो भूमिका खेल्छ ।
स्कुलको वातावरण यस्तो हुनुपर्छ जहाँ विद्यार्थीलाई धेरै समय बिताउन मन लागोस् । स्पोर्ट्सको एरिया छ कि छैन, क्लासरूम कम्फर्टेबल छ कि छैन भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । ट्रिटन इन्टरनेशनल कलेजको कुरा गर्दा भौतिक संरचनामा ल्याब, त्यसपछि पुस्तकालयहरू, अनिवार्य नै छ, त्यो एकदमै आवश्यक पनि हो । ज्ञानलाई व्यवहारमा लागु गर्नका लागि कोर्ष अनुसारको ल्याबको व्यवस्था पनि रहेको छ ।
पुस्तकालयले शिक्षण सिकाईमा कस्तो भूमिका निर्वाह गर्दछ ?
-विद्यार्थीमा अध्ययन गर्ने बानीको विकासका लागि पुस्तकालयको भूमिका निकै नै महत्वपूर्ण हुन्छ । विद्यार्थी पुस्तकालयमा जति समय बिताउँछ त्यति नै पढ्ने बानीको विकास हुन्छ । ट्रिटन इन्टनरनेशनल कलेजले विद्यार्थीलाई अनिवार्य रुपमा यति समय पुस्तकालयमा बिताउनु पर्छ भनेर नियम नै बनाएको छ । कक्षाकोठामा पाठ्यक्रममा आधारीत विषयवस्तुमा मात्र केन्द्रित हुन्छ भने, पुस्तकालयमा पाठ्यक्रमभन्दा बाहेकका विषवस्तुमा पनि ज्ञान आर्जन गर्न सकिन्छ ।
कतिपय अवस्थामा शिक्षकहरुले विद्यार्थीलाई दिएको गृहकार्य नगर्दा कलेजले ति विद्यार्थीहरुलाई पुस्तकालयमा गएर रिसर्च गर्नका लागि प्रोत्साहन गर्ने गरेको छ ।
ट्रिटन विद्यार्थी र अभिभावकको रोजाईमा पर्नुकाे कारण के हाेला ?
-पहिलो कुरा त कलेजले विद्यार्थीलाई सिकाउने अनुशासन र संस्कार हो । ट्रिटनले विद्यार्थीलाई सैद्दान्तिक ज्ञान मात्र दिँदैन, व्यवहारिक ज्ञानलाई पनि त्यतिकै महत्व दिएको छ । ट्रिटन कलेज यस्तो कलेज हो, जहाँ कुनै पनि अभिभावकले पहिलो बच्चालाई ट्रिटनमै पढाउनु भएको छ भने दोस्रो बच्चा अन्य कलेजमा पढाएको निकै नै कम छ ।
९५५ जना विद्यार्थी अध्ययनरत यस कजेजमा सबै विद्यार्थीहरुले अध्ययनलाई तिरन्तरता दिएका छन् । त्यसैगरी ट्रिटनले विद्यार्थीको रुचि र क्षमता अनुसार सर्वाङ्गिण विकासका लागि खेलकुदमा पनि सहभागी गराउने गरेको छ ।
सबैले हामी राम्रो छौँ त भनिहाल्छन् । तर साँच्चिकै त्यसलाई चाहिँ कसरी लिएका छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । विद्यार्थीलाई ‘टाइम एण्ड अगेन काउन्सिलिङ’ को जरूरी भइराखेको हुन्छ । त्यसको लागि पर्सनल काउन्सिलिङ आवश्यक हुन्छ, जुन ट्रिटनले प्रदान गर्दै आएको छ ।
निजी शैक्षिक संस्थाहरु विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि प्रोत्साहन गर्दै आएको र कन्सल्टेन्सीसँग सहकार्य गर्दै आएको भन्ने आरोप लाग्ने गरेको छ नि, यसराई कसरी खण्डन गर्नुहुन्छ ?
-कन्सल्टेन्सीसँग कलेजहरू सहकार्य गरेको छ भन्ने विषयमा त अध्ययन, अनुसन्धान हुन आवश्यक छ । किनभने निजी विद्यालयले त्यो प्राक्टिस त गरेको छैन । हामी त अझै नेपालकै विश्वविद्यालयमा विद्यार्थीले चाहे अनुसारको कोर्षहरु छन् । देशमै राम्रा विश्वविद्यालय छन् भनिरहेका हुन्छौं ।
आरोप त धेरै लाग्ने गर्छन् । वैदेशिक अध्ययनमा जाने, नजाने विद्यार्थीको अधिकार हो । यो ट्रेण्डलाई कसैले रोक्न त सक्दैन । त्यसैले पोलिसी लेभलबाटै काम हुनुपर्छ, पछिल्लो समयमा विद्यार्थीहरु देशमा अवसर नदेखेर पनि विदेशिरहेका छन् । बाहिर जाँदा राम्रो अवसर पाउँछु, त्यहाँ दुःख गर्दा त्यसै हिसाबको रिटर्न पाइन्छ भन्ने मानसिकता रहेको छ । तर यहाँ अवसर के छ त ? जीवनको चार, पाँच वर्ष खर्च गरेर अध्ययन गरेको छ ।
जागिर खान जाँदा त्यो एकेडेमिक सर्टिफिकेटको कुनै भ्यालु छैन जस्तो प्रतिकृया पाइन्छ । अनि देशमै अवसर छैन भन्ने भाष्य निर्माण हुन्छ । यसलाई चिर्न भने आवश्यक छ । मेहेनत गरेपछि अवसर पाइन्छ । जहिल अवसर पाइन्छ भन्ने छैन, आफैं पनि क्रियटिभ हुनुपर्छ ।
हामी ४०/५० लाख खर्च गरेर बाहिर जानका इन्भेस्ट गर्न पछि पर्दैनौं । तर देशमै पाँच, सात लाख रूपैयाँमा खर्च गरेर देशमै शिक्षा आर्जन गर्न सकिन्छ । अनि वैदेशिक शिक्षाको नाममा खर्च हुने रकममा त केहि नयाँ गर्न पक्कै सकिन्छ ।
हाम्रो विश्वविद्यालय, हाम्रो प्राइभेट कलेजहरूमा भएका कोर्सहरूलाई पनि विद्यार्थीहरूलाई त देखाउन नसक्या हो कि ? बुझाउन नसकेको होकी ? पछिल्लो समय नेपालमा त भविष्य नै छैन भनेर एकदमै निराशा छाएको छ, यो हटाउन जरुरी छ ।
ट्रिटनमा कुन–कुन कोर्षहरुमा अध्ययन भैरहेको छ ?
-ट्रिटनमा कक्षा ११ र १२ मा साइन्स, म्यानेजमेन्ट र ल पढाइ हुन्छ । स्नातक तहमा भने बीबीएस, बिएसडब्लु र बीसीए हुन्छ भने स्नातकोत्तरमा एमबीएसका कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।
कक्षा ११ र १२ अध्ययनका लागि शैक्षिक संस्था छनौट कसरी गर्ने विद्यार्थीहरुलाई तपाईंको सुझाव के छ ?
-सबैभन्दा पहिला त विद्यार्थी भाइबहिनीहरू साह्रै द्विविधामा हुनुहुन्छ । कक्षा ११ मा अध्ययनका लागि १० ठाउँमा बुझ्न जानु भएको छ । यो समयमा सबैले हामी राम्रै हो, हामी खतरा हो भन्नैपर्याे । हामी पनि त्यही नै भन्छौँ । आफ्नो ठाउँमा सबैले राम्रो गरि नै राख्नुभएको छ । सबैभन्दा बढी स्कलरसिपमा द्विविधा छ । तिमीले छात्रवृत्ति पायौ भनेर विद्यार्थीको मोवाइलमा मेसेज आउन थाल्छ । दुई दिनभित्र भर्ना गरिहाल्नुहोस् नत्र कोटा जान्छ, यस्तो यस्तो खालको प्रेसर पनि हुन्छ ।
विद्यार्थीहरुले जिपीएलाई आधार बनाउँछन् । सोचेको जस्तो जिपीए आएन, म त यो नपढेर यो पढ्छु भन्ने सोच हुन्छ । कतिपय अवस्थामा मैले सोच यो बनाएको थिएँ, मेरो जिपीए उच्च आयो, अब म त यता जान्छु भन्ने पनि सोच हुन्छ । जुन शैक्षिक संस्थाबाट पास आउट विद्यार्थीहरुले ल्याउने गरेको नतिजा मात्रै नहेरीकन अतिरिक्त कृयाकलापलाई कत्तिको महत्व दिएको छ, त्यो बुझ्न आवश्यक छ ।
साथै पास आउट विद्यार्थीले प्राप्त गरेको उपलब्धि, भौतिक पूर्वाधार, शिक्षण सिकाइको वातावरणलाई मध्यनजर गरि सिनियर र अभिभावकहरूसँग सुझाव लिएर शैक्षिक संस्था छनौट गर्दा उत्तम हुन्छ ।





























प्रतिक्रिया