जबसम्म नेपाली विद्यार्थी देशमै रोकिने अवस्था बन्दैन, तबसम्म शैक्षिक हबको परिकल्पना गर्न सकिँदैन -किशोर गौतम

जबसम्म नेपाली विद्यार्थी देशमै रोकिने अवस्था बन्दैन, तबसम्म शैक्षिक हबको परिकल्पना गर्न सकिँदैन -किशोर गौतम

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । नेपालको शिक्षालाई हेर्ने हो भने पहुँच र समावेशीतामा धेरै प्रगति गरेको देखिन्छ । तर डिजिटल शिक्षा गुणस्तर, संरचना, शिक्षकलाई योग्य बनाउने, व्यावहारिक शिक्षालाई प्रवद्र्धन गर्ने, उच्च शिक्षा र रोजगारीसँग सम्बन्धित सुधारमा अझै सोचे अनुसार हुन सकेको छैन ।समग्र शैक्षिक अवस्था, वास्तवमा गुणस्तरीय शिक्षा केलाई भन्ने, शिक्षा सुधारको बाटो के हुन सक्छ, के नेपाललाई शैक्षिक हव बनाउन सकिन्छ भन्ने विषयमा केएमसी एजुकेसन नेटवर्कका निर्देशक, हिमालय कलेज अफ इन्जिनियरिङका निर्देशक एवं प्याब्सनका केन्द्रिय उपाध्यक्षसमेत रहेका किशोर गौतमसँग केन्द्रबिन्दुका लागि सरीता चौधरीले गरेको कुराकानीकाे सम्पादित अंश-

यति बेला एसईईको नतिजालाई लिएर दुई थरिको धारणा बनिरहेको छ, कतिपयले नतिजामा आएको सुधारलाई सकारात्मक रुपमा लिएका छन् भने कतिपयले यस विषयमा आलोचना पनि गरिरहेका छन् तपाईं के भन्न चाहनुहुन्छ ?

-रिजल्ट राम्रो भएन भने नि आलोचना गर्ने, राम्रो आयो भने पनि आलोचना गर्ने यो त मानिसहरूको स्वभाव नै हो ।
कोभिडको समयमा शिक्षा क्षेत्रमा नराम्रो प्रभाव परेको थियो । उक्त समयमा विद्यार्थीलाई कक्षाकोठासम्म लैजाने वातावरण थिएन । शिक्षण सिकाई इन्टरनेटमा बढि केन्द्रित भएको थियो । शिक्षण सिकाईको वातावरण राम्रो बन्दै गएपछि शिक्षक, विद्यार्थी, व्यबस्थापन समिती, अभिभावकहरुको अथक मेहनतका कारण ६१.८१ प्रतिशत नतीजा आएको छ जुन सकारात्मक पक्ष हो ।

मैले बालेनलाई पढाए, सुनितालाई पढाए, आज गर्व लाग्छ । विद्यार्थी सफल हुनु भनेको शिक्षक सफल हुनु हो ।

यतिले पुग्दैन, वास्तवमा रिजल्ट अझै सुधार हुँदै जानुपर्छ । विद्यार्थी असफल हुनु भनेको शिक्षक, अभिभावक असफल हुनु हो । त्यसैले यस्तो परिस्थिति निर्माण हुनु हुँदैन ।

अहिले शिक्षा ऐनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समितीमा विचाराधीन रहेको छ ? संघीय संसदमा ऐनको ड्राफ्ट पेश भएको दुई वर्ष हुन लाग्दा पनि ऐन आउन सकेको छैन यस विषयलाई कसरी हेर्नुभएको छ ?

-शिक्षा ऐन ल्याउने भन्ने कुरा त्यति सजिलै टिपेर ल्याएर टप्प राख्ने जस्तो विषयवस्तु होइन । शिक्षक आन्दोलनले शिक्षा ऐन ल्याउनमा दबाब सिर्जना गरेको छ । शिक्षा ऐन अब आउँछ चाँडै नै आउनु पर्छ । त्यसमा त्यति ठूलो टिकाटिप्पणी गरिरहनुपर्ने विषय अब होला जस्तो लाग्दैन । केहि विषयमा सहमति हुन सकेको छैन । सरकारले समग्र शिक्षा क्षेत्रलाई ध्यानमा राखेर, शिक्षकहरुको मागलाई ध्यानमा राखेर विद्यार्थी, अभिभावक, शिक्षकमैत्री ऐन आउन आवश्यक छ ।

पछिल्लो समय विश्वविद्यालयको अवस्था खस्कदै गएको छ, विद्यार्थी नेताहरु अराजक बन्दै गएका छन्, त्रिविमा तालाबन्दीको तमासा सधैं उस्तै हुन्छ । विश्वविद्यालयको अवस्था यस्तो किन भयो र सुधारको बाटो के हुन सक्छ ?

-सरकारले सबैभन्दा पहिले के बुझ्नुप-यो भने विश्वविद्यालय चलाउने उद्देश्य के हो ? कस्तो विश्वविद्यालय बनाउन खोजिएको हो ? विद्यार्थीहरूलाई राजनीति गर्ने थलो विश्वविद्यालयलाई बनाउने कि नबनाउने ? विश्वविद्यालयको पदाधिकारी नियुक्ति गर्दा राम्रो मान्छे भन्दा पनि हाम्राे मान्छे नियुक्ति गर्ने प्रवृत्तीले विश्वविद्यालयको अवस्था नाजुक बनेको हो ।

‘नेपालमा बसेर केही पनि हुँदैन’ भन्ने जुन भाष्य निर्माण भयो, यसले बिगार्‍या हो अहिलेकाे परिस्थिति ।

विश्वविद्यालयमा आउने पदाधिकारीहरूलाई एउटा विश्वविद्यालयको स्वरूप कस्तो हो त ? विश्वविद्यालय त वास्तवमा आफ्नो तरिकाले चल्नुपर्ने, आफ्नै नीति नियमले चल्नुपर्ने, राज्यले त्यसको चाहिँ अनुगमन गर्नुपर्ने गरी लानुपर्ने हो यस विषयमा ध्यान दिन आवश्यक छ । सामान्य कुरामा विश्वविद्यालयमा ताला बन्दी गरिदिने हो भने जो पढ्नको लागि आफ्नो घरखेत बन्धकी राखेर पनि काठमाडौंमा आएर अथवा विभिन्न देशका कुना–काप्चामा बसेर उसले लगानी गरेर पढिरहेको छ भने त्यसकाे हालत के हुन्छ ? त्यस्ता विद्यार्थीहरूलाई पढ्ने वातावरण चाहिँ बनाइदिनुपर्छ ।

राजनीतिलाई विश्वविद्यालयबाट हटाउन त नसकिएला तर कम त गर्न सकिन्छ । यस्ता वेतिथिहरु विगतमा भन्दा धेरै कम पनि भएको छ । के बुझ्नुप-यो भने विद्यार्थी नेताहरूलाई कुन राजनीतिक दलले संरक्षण गरेको छ । राजनीतिक दलले संरक्षण गर्न छोड्ने हो भने अराजकता फैलाउने कुनै विद्यार्थीको हिम्मत नै हुँदैन ।

पछिल्लो समय नेपाललाई शैक्षिक गन्तव्य बनाउने बहस चर्किएको छ, के नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिन्छ ?

-२० औँ वर्ष पहिले अगाडिका कुरा हे-यौँ भने विद्यालय तहमा पढ्ने विद्यार्थी मित्र राष्ट्रमा कति जान्थे । ११, १२ पढ्नका लागि विद्यार्थी मित्र राष्ट्र कति जान्थे ? कति पैसा बाहिर जान्थ्यो ? तर आज देशमै विद्यार्थीले चाहे अनुसारको विषय अध्ययन गर्न पाउने वातावरणको सिर्जना भएको छ । देशकै विश्वविद्यालयमा क्वालिटी एजुकेसन रहेको छ । विदेशी विद्यार्थीलाई ल्याएर पढाउने वातावरण सरकारले सिर्जना गर्दिनुपर्याे । ‘नेपालमा बसेर केही पनि हुँदैन’ भन्ने जुन भाष्य निर्माण भयो, यसले बिगार्‍या हो अहिलेकाे परिस्थिति ।

अर्को कुरा अहिलेको युवाहरुमा मेहनत गर्नुपर्छ भन्दा पनि एकैपटकमा सफल हुनुपर्छ भन्ने छ । कुनै पनि अभिभावकले आफ्ना बालबालिकालाई वैदेशिक अध्ययनमा पठाउन चाहँदैनन् । ५ प्रतिशत अभिभावकले मात्र आफ्ना छोराछारीलाई वैदेशिक अध्ययनमा पठाउन चाहन्छन् । यहाँको शिक्षा, यहाँको माटो, यहाँको भौगोलिक अवस्था, सुहाउँदो शिक्षा लिएर, यो देशमा गर्न सक्ने कुराहरु थुप्रै कुराहरु छन् । गर्न सकिन्छ भन्नेतिर अहिले अभिभावक, सामाजिक, अभियन्ताहरु पनि लागिरहनु भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेतमार्फत सरकारले नेपालमा अध्ययन गर्न आउने विद्यार्थीलाई अध्ययन अवधिभर फ्रि-भिसा उपलब्ध गराउने भनेको छ, यो निकै नै सकारात्मक हो । तर निजी क्षेत्रले नेपालालाई शैक्षिक गन्तव्य बनाउनु पर्छ भन्ने विषयलाई ब्यापक रुपमा उठाइरहँदा सरकार भने मौन देखिन्छ नि किन होला ?

-सरकारले सबै कुरा गर्न सक्छ भन्ने पनि होइन । सरकारको आर्थिक अवस्था पनि कमजोर भएको अवस्था हो । बाहिरबाट नेपालमा एजुकेसनको लागि इन्भेस्ट गर्ने मान्छेहरु आउँछन् भने, सहजीकरण वातावरण निर्माण गरिदिनुपर्छ । नेपालको जग्गाहरु चाहिँ उनीहरुलाई लिजमा दिएर भौतिक पूर्वाधार तयार गर्नलाई दिने । लगानीकर्तालाई सरकारले तिमिहरु लगानी गर त्यसको सुरक्षा सरकारले गर्न सक्नुपर्छ ।

नेपाललाई शैक्षिक गन्तव्य बनाउनका लागि कस्तो कोर्षहरुको अध्ययन अध्यापन हुन आवश्यक छ ?

-नेपालमा कृषि विश्वविद्यालय छ, नेपालको मेडिकल शिक्षा उच्च स्तरको छ, इन्जिनियरिङ सेक्टर बलियो छ । विदेशी विश्वविद्यालयबाट आएका आइटी कोर्सहरु पनि यहाँ संचालन भइरहेका छन् । यिनै विषयहरुलाई प्राक्टिकल्ली कसरी लैजाने त ? पढ्दै कमाउँदै निती कार्यान्वयन गर्नुपर्छ । नेपाल एकदमै चाँडो हब बनिहाल्ने होइन कि, सबैभन्दा पहिले त नेपालमा भएका विद्यार्थीलाई बाहिर दिन जानलाई रोक्न सक्यौँ भने मात्र नेपाल एजुकेसनको हब बन्छ ।

अहिले विद्यार्थीहरुमा दुःख नगरिकन पढ्न सक्ने विषयहरू खोज्ने चाहना पनि बढ्दै छ । तर त्यसले सफलतामा लैजाँदैन । विद्यार्थीले मेहेनत गर्नैपर्छ ।

हिमालय कलेज अफ इन्जिनियरिङमा शैक्षिक कार्यक्रमहरु कसरी सञ्चालन भैरहेका छन् ?

-हिमालय कलेज अफ इन्जिनियरिङमा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्युनिकेशन एन्ड इन्फर्मेसन, आर्किटेक्चर, बि.एससी सीएसआइटी, बि.सि.ए. जस्ता छ वटा प्रोग्रामहरु सञ्चालनमा छन् । कलेजले विद्यार्थीलाई प्राक्टिकल, इन्टर्नसिपमा पठाउने गरेको छ । अभिभावकले तिरेको पैसा कम्तीमा पनि विद्यार्थीले पढेर रिटर्न गर्नु पर्छ भन्ने मान्यतामा केएमसी एजुकेसन नेटवर्ककै एउटा सोच हो । त्यसले गर्दा हिमालय कलेज अफ इन्जिनियरिङमा आफ्नो नियमित पठनपाठन हुने, विद्यार्थीहरुलाई बेलाबेलामा काउन्सिलिङ गर्ने, विद्यार्थीको पढाई र नतीजाको बारेमा अभिभावकलाई जानकारी गराउने गर्ने गरेको छ ।

पछिल्लो समय इन्जिनियरिङ विधामा विद्यार्थीको रुचि कस्तो देख्नुहुन्छ ?

-आइटी विषय अहिले विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । समयचक्र घुम्दै जाने हो, आज बजारमा केको माग छ त्यहि विषयमा विद्यार्थीको बढी रुचि हुने गर्छ । फेरि एउटा समय यस्तो आउँछ, आइटीका उत्पादन अधिकतम हुन्छन् । यो विषय फेरिडाइभर्ट भएर अब सिभिल इन्जिनियरिङतिर जाने, इलेक्ट्रोनिक्स तिर जाने हुन्छ ।

विश्वविद्यालयको पदाधिकारीमा राम्रो मान्छे भन्दा पनि हाम्राे मान्छे नियुक्ति गर्ने प्रवृत्तीले विश्वविद्यालयको अवस्था नाजुक बनेको हो ।

पछिल्लो समयमा विद्यार्थीहरु दुःख गर्न चाहँदैनन् । दुःख नगरिकन पढ्न सक्ने विषयहरू खोज्ने चाहना पनि बढ्दै छ । तर त्यसले सफलतामा लैजाँदैन । त्यसकारण विद्यार्थीले दुःख गर्नै पर्छ, मेहेनत गर्नै पर्छ । आफूले उद्देश्य बनाइसकेपछि त्यो सफलता पाउनको लागि संघर्ष त गर्नैपर्छ । समयअनुसार सैद्दान्तिक ज्ञान प्राक्टिकल र इन्टर्नलाई बढी जोड दिने हो भने विद्यार्थीको भविष्य निर्माणमा समस्या आउँदैन ।

केएमसी एजुकेसन नेटवर्कले शिक्षा क्षेत्रमा कस्तो भूमिका निर्वाह गरिरहेको छ ?

-२५ वर्ष पहिले विश्वविद्यालयमा पढाउने युवाहरू मिलेर शिक्षा क्षेत्रमा केहि फरक गरौं भन्ने उदेश्यले केएमसी नेटवर्कको स्थापना भएको हो । ६५ जना विद्यार्थीबाट सुरु गरिएको केएमसीले साढे दुई दशककाे यात्रामा हजारौं उत्कृष्ट विद्यार्थी उत्पादन गरिसकेको छ । आज केएमसी नेटवर्क अन्तर्गत आठ–दशवटा शैक्षिक संस्थाहरू स्थापना भैसकेका छन् । केएमसी एजुकेसन नेटवर्क आज यो स्थानमा आईपुग्नुको पछाडी शिक्षक, कर्मचारी र अभिभावकको विस्वासले महत्वपूर्ण भुमिका खेलेको छ । केएमसीको दुई –तीनवटा उद्देश्यहरू छन्, विद्यार्थी अनुशासित बन्नुपर्छ, नम्बर दुई, विद्यार्थी केएमसी भित्र आएपछि नपढ्न चाहिँ पाउँदैन ।

तपाईंले लामोसमय सम्म शिक्षकको भूमिका पनि निर्वाह गर्नुभयो, एउटा शिक्षकको लागि सबैभन्दा खुसीको क्षण कुन हुन्छ ?

-शिक्षक भनेको कस्तो चिज रैछ भने, मैले बालेनलाई पढाए, सुनितालाई पढाए, आज गर्व लाग्छ । विद्यार्थीले प्राप्त गरेको उपलब्धी देखेर पक्कै पनि खुसी लाग्ने नै भयो । विद्यार्थी सफल हुनु भनेको शिक्षक सफल हुनु हो । विद्यार्थी असफल हुनु भनेको शिक्षक असफल हुनु हो । शिक्षण पेशा यस्तो पेशा हो जुन कहिल्यै पूर्व हुँदैन । मन्त्री पूर्व हुन्छ, सचिव पूर्व हुन्छ, प्रधानमन्त्री पूर्व होला तर शिक्षक कहिल्यै पूर्व हुँदैन ।

राजनीतिलाई विश्वविद्यालयबाट हटाउन त नसकिएला तर कम त गर्न सकिन्छ । राजनीतिक दलले संरक्षण गर्न छोड्ने हो भने अराजकता फैलाउने कुनै विद्यार्थीको हिम्मत नै हुँदैन ।

मैले ३४–३५ वर्ष विद्यार्थीलाई पढाएर आज कुनै पनि सरकारी अफिस जाँदा आफ्नो विद्यार्थी भेट्छु । हस्पिटलमा जाँदा आफूले पढाएका डाक्टरहरू भेटिन्छन् । इन्जिनियर भेटिन्छन् खुसी लाग्छ । त्यो क्षणलाई व्याख्या गर्न कुनै शब्द छैन जस्तो लाग्छ ।
तर पछिल्लो समय अनुशासन, नैतिक पाटोहरूमा अलि धमिलिएको हो कि कम हो कि भन्ने देखिन्छ । तर मलाई विश्वास छ, जुन विद्यार्थी सफल हुन्छ, त्यो विद्यार्थीले भोलिका दिनमा आफूलाई पढाउने गुरुलाई खोज्न अवस्य जान्छन् ।

शिक्षण पेशा भनेको विद्यार्थीको सहि मार्गदर्शन गर्ने र विद्यार्थीको भविश्य निर्माण गर्ने पेशा हो, तपाइको अनुभवमा चुनौती के छ ?

-एउटा कक्षाकोठामा ५० जना विद्यार्थी छन् भने ५० जना विद्यार्थीको भविश्य काधमा लिएर गरि खाने पेशा सजिलो अवस्य छैन ।
पढाउनका लागि विद्यार्थीले भन्दा धेरै शिक्षकले मेहनत गर्नुपर्छ । जो व्यक्ति शिक्षण पेशामा रमाउँछ । उसले मात्र गर्न सक्ने पेशा हो । शिक्षण पेशामा लागेको व्यक्ति अनुशासित, अध्ययनशील, आफू कक्षा कोठामा गएर त्यो विद्यार्थीको अनुहार हेरेर विद्यार्थीको भविष्य निर्माण गरिदिने बाटोमा लैजान सक्नुपर्‍याे।

अभिभावकले तिरेको पैसा विद्यार्थीको अनुहार हेरेर सम्झिन सक्नुपर्‍याे । यी विविध पाटाहरू समेट्न सक्ने हो भने शिक्षक बन्ने हो । अहिलेका नयाँ युवाहरूलाई शिक्षण पेशा त्यति मन परेको देख्दैनौँ । नेपालमा विद्यार्थीको अभाव थियो भने अब विद्यार्थी नेपालमै बस्ने वातावरण हुँदा कतै शिक्षकको अभाव त हुने हैन भन्ने डर हामीलाई सधैँ भइरहेको छ ।

तपाईंले तिरेको पैसा बराबरको त्यो कलेजले रिटर्न दिन सक्ने अवस्थामा छ कि छैन? यी सबै कुराहरू अध्ययन गरेर मात्र शिक्षण संस्था रोज्नुपर्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

-एसईई पास गरेका विद्यार्थीहरूलाई शिक्षण संस्था रोज्दा अभिभावकले छोराछोरीलाई विषय रोज्न दिनुस् । उसले रोजेको विषय राम्रो छैन भने हामीले सल्लाह सुझाव दिएर उसलाई काउन्सिलिङ गर्नुपर्छ । तर विद्यार्थीले साथीभाइको लहैलहैमा लागेर फलानो कलेजले मलाई त यति पैसामा पढाउने भयो भन्दैमा, त्यसको हल्लामा लागेर अभिभावक नजानु होला । भोलिपल्ट तपाईंको बच्चा त्यो कलेजमा पठाउँदा कति सुरक्षित छ त ? तपाईंले तिरेको पैसाको त्यो कलेजले रिटर्न दिन सक्ने अवस्थामा छ कि छैन? यी सबै कुराहरू अध्ययन गरेर मात्र शिक्षण संस्था रोज्नुपर्छ ।

केएमसी बागबजार र केएमसी ललितपुरमा प्लस टु पढाइ हुन्छ । जुन संस्थामा जाँदा कम्तिमा संस्थाको इतिहास, ति संस्थाका विद्यार्थीहरूका गतिविधि, कति विद्यार्थी मेडिकलमा गए, कति इन्जिनियरिङमा गए, कति चार्टर्ड एकाउन्टेन्टमा गए, कति लयर बने ति सबै कुरामा अध्ययन गरेर मात्र शिक्षण संस्था छनौट गर्नुपर्छ ।

Logo