शिक्षकको बढुवामा अब तीन आधार

शिक्षकको बढुवामा अब तीन आधार

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० अन्तर्गत शिक्षकहरूको बढुवामा अब तीनवटा नयाँ आधार लागू गर्ने प्रस्ताव अघि सारिएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले परामर्श उपसमितिबाट तयार पारिएको संशोधन प्रस्ताव प्रस्तुत गरेका हुन् ।

नयाँ संरचना अनुसार, शिक्षकको बढुवा अब आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्यांकन, र कार्यक्षमताको मूल्यांकन गरी तीनवटा संयन्त्रबाट हुने व्यवस्था प्रस्तावित छ । यसअघि विधेयकमा आन्तरिक प्रतियोगिता र आवधिक (समय आधारित) बढुवाको व्यवस्था मात्र थियो ।

विभिन्न सरोकार पक्षसँगको छलफलपछि तयार गरिएको यो प्रस्तावले बढुवा प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धी र बहुआयामिक बनाउने अपेक्षा गरिएको छ । शिक्षण पेशाको गुणस्तर अभिवृद्धि र शिक्षकको पेसागत विकासमा समेत यसले नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ ।

हाल समितामा प्रस्तावमाथि गम्भीर छलफल जारी छ । सहमति जुटेपछि विधेयकलाई छिट्टै अन्तिम रूप दिई संसदमा पेस गरिने जनाइएको छ ।

Logo