निजी क्षेत्रमैत्री शिक्षा ऐन ल्याउन र ऐनबाट नै निर्देशित गराउन मेरो उम्मेद्वारी हो – लोकबहादुर भण्डारी

निजी क्षेत्रमैत्री शिक्षा ऐन ल्याउन र ऐनबाट नै निर्देशित गराउन मेरो उम्मेद्वारी हो – लोकबहादुर भण्डारी

केन्द्रबिन्दु
855
Shares

काठमाडाैं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का वर्तमान महासचिव लोक बहादुर भण्डारीले हिसानको नवौं राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्षको उम्मेद्वारी दिने भएका छन् । विगतमा हिसानको नेतृत्व तहमा रहेर खेलेको भूमिकाका कारण अध्यक्षका लागि उम्मेद्वारी दिएको भण्डारीले बताएका छन् । भण्डारीसँग केन्द्रबिन्दुले गरेको ५ प्रश्न-

हिसानको अध्यक्षमा तपाईंको उम्मेद्वारी किन ?

–निजी क्षेत्रबाट सञ्चालित स्वदेशी शिक्षालयहरुको संरक्षण, सम्बर्धन, हकहित र अधिकारका उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौं राष्ट्रिय महाधिवेशनमा आउनुभएका देशभरका प्रतिनिधि साथीहरुको आग्रहमा मैले अध्यक्षको उम्मेद्वारी दिएको हुँ ।

हिसानलाई एकिकृत ढंगले अगाडी बढाउनुपर्छ भन्ने आवाज उठिसकेपछि, त्यसको लागि साथीहरुले मलाई अघि सार्दै गर्दा नेतृत्व गर्न सक्छु भन्ने ठानेर उम्मेद्वारी दिने निर्णय लिएको हुँ ।

विगतमा लामो समय महासचिवको रुपमा यो संस्थामा नेतृत्व प्रदान गरिरहँदा मैले खेलेको भुमिकाले पनि मलाई अध्यक्षको दावेदारको रुपमा साथीहरुले प्रस्तुत गर्नुभएको हो । पछिल्लो समय निजी शैक्षिक संस्थाहरु मथि सरकार सहित विभिन्न पक्षबाट प्रहार भैरहेको वर्तमान परिप्रेक्ष्यमा सबै निजी शिक्षालयहरुलाई नगर, जिल्ला र प्रदेश समितिमार्फत संगठित गर्दै सशक्त बनाउन एवं हाम्रा विरुद्ध हुने सबै खालका आक्रमण विरुद्ध संघर्ष गर्न पनि हिसानलाई एकिकृत ढंगले अगाडी बढाउनुपर्छ भन्ने आवाज उठिसकेपछि, त्यसको लागि साथीहरुले मलाई अघि सार्दै गर्दा नेतृत्व गर्न सक्छु भन्ने ठानेर उम्मेद्वारी दिने निर्णय लिएको हुँ ।

हिसानमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने आवाज उठिरहेको छ, रोलक्रमका हिसाबमा पनि तपाईंभन्दा अगाडि रहनुभएका व्यक्तित्वले उम्मेद्वारी दिनुभएको छ, यसलाई कसरी हेर्ने ?

– हामी यतिबेला राष्ट्रिय महाधिवेशनको प्रक्रियामै छौं, सर्वसम्मत नेतृत्व हुनुपर्छ भन्ने मान्यतामा म पनि सहमत छु । यो हलमा उपस्थित प्रतिनिधि साथीहरुको मतलाई म लगायत सबै साथीहरुले स्वीकार गर्नुपर्छ । साथीहरुको भावनालाई प्रतिनिधित्व गर्दै सर्वसम्मतिबाट नेतृत्व चयन गर्दैगर्दा त्यसमा मेरो कुनै आपत्ति छैन, तर प्रजातान्त्रिक प्रकृयामा गएर निर्वाचन हुने अवस्था हुँदा मेरो उम्मेद्वारी कायम रहन्छ । अहिलेको अवस्थामा सिंगो राष्ट्रको शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न, निजी क्षेत्र मैत्री शिक्षा ऐन ल्याउन र ऐनबाट नै निर्देशित गराउनको निमित्त यो संस्था हरतरहबाट लाग्नुपर्ने आवश्यकताका कारण मैले नेतृत्व प्रदान गर्न सक्छु भन्ने बुझेर नै साथीहरुले मलाई अगाडी बढाउनुभएको हो ।

हिसान जस्तो व्यवसायिक संस्थामा गुट/उपगुट चलाउनु र पद वितरणको बाटो अपनाइनुलाई कसरी लिनुहुन्छ ?

–हिसान जस्तो संस्थामा गुटको राजनीति हुनुहुँदैन, त्यसमाथि तँलाई यो पद दिन्छु, अर्कोलाई यो दिन्छु भनेर भागवण्डा गरिनुहुँदैन भन्ने हाम्रो मान्यता हो । निजी शिक्षालयहरुको छाता संगठन हो यो, यसलाई मर्यादित बनाउनुपर्छ । हिसान भनेको मावि/कलेजहरुको मात्र नेतृत्वदायी संगठन होइन भन्ने आभाष दिलाउँदै विश्वविद्यालयका कार्यक्रमहरु समेत सञ्चालन गरेका संस्थाहरु समेत हिसान सदस्य भएको हुनाले यसको नेतृत्वदायी भूमिकामा रहने व्यक्तिले विश्वविद्यालय देखि प्राविधिक कार्यक्रम संचालन गर्ने शैक्षिक संस्थाहरु समेतलाई समेटेर विभिन्न शैक्षिक संघलाई आवद्ध गराएर वृहत महासंघ बनाउने बाटोमा जानुपर्ने आवश्यकता छ ।

सर्वसम्मतिबाट नेतृत्व चयन गर्दैगर्दा त्यसमा मेरो कुनै आपत्ति छैन, तर प्रजातान्त्रिक प्रकृयामा गएर निर्वाचन हुने अवस्था हुँदा मेरो उम्मेद्वारी कायम रहन्छ ।

हामी गुट भन्दा पनि हिसानलाई कसरी अझ बलियो बनाउन सकिन्छ भनेर त्यहि किसिमको केन्द्रिय नेतृत्व गर्ने टिम बनाउन सक्रिय छौं । म लगायत साथीहरुले कुनै पद वा भागवण्डा खोजेका छैनौं । नेतृत्वमा आएर काम गर्ने सबै साथीहरुलाई यथोचित भूमिका दिइनेछ । यदि कसैले गुट चलाउने र पद वितरण गर्ने काम गरेमा त्यसको ससक्त प्रतिवाद गरिनेछ ।

निजी क्षेत्रका शैक्षिक संस्थाले मनोमानी ढंगले शुल्क लिने र शैक्षिक क्रियाकलापलाई आम जनताले धान्न नसक्ने गरि महंगो गराएको आरोपलाई कसरी लिनुहुन्छ ?

–यहाँनिर तपाईंलाई केहि कुरा प्रष्ट पार्न चाहन्छु, निजी क्षेत्रका शैक्षिक संस्था भन्ने वित्तिकै यत्तिकै शुल्क असुल गर्ने कमाउने भन्ने किसिमको भाष्य खडा गरिएको छ, जुन एकदमै गलत छ, निजी शिक्षालयहरुले राष्ट्रको शिक्षा विकास तथा आर्थिक समृद्धिमा खेलेको भूमिका हेर्नुहोस् न, कुनै समय राम्रो शिक्षालय नहुँदा, शैक्षिक पाठ्यक्रम समयानुकुल परिवर्तन नहुँदा विद्यालय अध्ययन पश्चात नेपाली विद्यार्थी छिमेकी मुलुक भारत पुग्नुपर्थ्याे । आज ५ लाख हाराहारी विद्यार्थी निजी स्रोतबाट सञ्चालित माध्यमिक तथा उच्च शिक्षालयहरुमा अध्ययनरत छन् । १ लाख ५० हजार भन्दा बढिले रोजगार पाएका छन् ।

५० हजार विद्यार्थीले पूर्ण तथा आंशिक छात्रवृत्तिमा अध्ययन गर्न पाएका छन् । शैक्षिक गुणस्तरका हिसाबमा पनि निजी शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीको उत्तिर्ण प्रतिशत औसतमा ८० प्रतिशत भन्दा माथी छ । अभिभावकले गरेको लगानी सुरक्षित हुनुको साथै भविश्य सुनिश्चित भएको छ । निजी शिक्षालयमा पढेका विद्यार्थीले अन्तराष्ट्रिय क्षेत्रमा हासिल गरेको उपलब्धी उत्तिकै लोभलाग्दो छ, नेपाली शिक्षालयले विदेशिने ठूलो रकमलाई नेपालमै रोकेर जिडिपीमा उल्लेख्य योगदान गरेका छन् ।

निजी शिक्षालयहरुको योगदानलाई सबैले बुझ्न जरुरी छ ।

यी सबै कुराका बाबजुद राज्यले आवश्यक समयमा समय सुहाउँदो शैक्षिक नीति तथा पाठ्यक्रम र परीक्षा प्रणालीलाई चुस्त बनाउन नसक्दा विद्यार्थीहरु उत्कृष्ट शिक्षा र भविश्यको सूरक्षाका निम्ती विदेश जान बाध्य छन् । यसमा हामीले काम गर्नुपर्नेछ, आगामी दिनमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै यी समस्याको समाधान लिनुपर्नेछ । समग्रमा भन्दा निजी शिक्षालयहरुको योगदानलाई सबैले बुझ्न जरुरी छ ।

निजी शिक्षालयहरुलाई प्रतिनिधित्व गर्ने संघसंस्थाहरु धेरै नै भएजस्तो लाग्दैन ?

–निजी शिक्षालयहरुलाई प्रतिनिधित्व गर्ने संघसंस्था धेरै भए जस्तो देखिए पनि ति सबै संस्थाले आ–आफ्नो क्षेत्रलाई प्रतिनिधित्व गर्दछन् । विद्यालय शिक्षामा प्याब्सन, एनप्याब्सन, तत्कालिन उच्च माध्यमिक तह प्लस टु र त्यो भन्दा अगाडीको तह उच्च शिक्षालयहरुको लागि हिसान, प्राविधिक शिक्षालयहरुका लागि फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, विदेशी विद्यालयहरुको लागी आइप्यान, शैक्षिक परामर्शका लागि इकयान लगायत विभिन्न संघसंस्था छन् । पियुक्यान, ओपन लगायतका विभिन्न शैक्षिक संस्थासँग विभिन्न शैक्षिक मुद्धामा हिसानले निरन्तर रुपमा छलफल गर्दै आएको छ ।

अब आगामी दिनमा बृहत महासंघको अवधारणा बनाएर यी सबै संस्थासँग न्युनतम् आधारभूत आवश्यकताका आधारमा सहकार्य गर्दै अघि बढ्ने योजना हाम्रो छ । प्राज्ञिक गतिविधी र छलफललाई अझ बृहत्तर ढंगले अगाडी बढाइनेछ । निजी शिक्षालयहरुको हक हित संवर्धनका साथै मुलुक र समाजका निम्ती उल्लेख्य योगदान गर्नेगरि हिसान अघि बढ्नेछ ।

Logo