काठमाडौं । एउटा प्रतिष्ठित संस्था नियोजित रूपमा भ्रामक पर्चाबाजी र आधारहीन आरोपको कसरी सिकार बन्नसक्छ भन्ने ज्वलन्त उदाहरण हो, द ब्रिटिश कलेज । काठमाडाैंकाे थापाथलीमा रहेर डेढ दशक यता नेपाली विद्यार्थीहरूलाई स्वदेशमै बसेर विश्वस्तरीय डिग्री हासिल गर्ने अवसर प्रदान गर्दै आएको यस कलेज अहिले मिथ्या आरोपको भूमरीमा परेको छ ।
गत पौष ८ गते कलेजमा भर्ना नभएका विद्यार्थी र सङ्घको नाम प्रयोग गर्दै आएका बाह्य समूहका केही व्यक्तिहरूले अनधिकृत र भ्रामक भिडियोहरू सार्वजनिक गर्दै द ब्रिटिश कलेजमाथि शोषण वा मानव तस्करी गरेको आरोप लगाएपछि यो विवादको सुरुवात भएको हो । त्यहीदिन एउटा उक्साहट समूहले कलेजको कार्यालयमा तोडफोड गर्ने, तथा शैक्षिक गतिविधि अवरुद्ध गर्ने कार्यहरू गरेको थियो ।
के हो विवाद ?
ब्रिटिश कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँगको औपचारिक अनुबन्धमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त हुन्छन् ।
ब्रिटिश कलेज दुबईस्थित द वुलविच इन्स्टिच्युट (टिडब्लुआई) संयुक्त अरब इमिरेट्सको कानुनअनुसार मान्यता प्राप्त स्वतन्त्र शैक्षिक संस्था हो । यसबाट स्वीकृत शैक्षिक कार्यक्रम अर्न्तगत हस्पिटालिटी म्यानेजमेन्ट फाउन्डेसन लेभल अध्ययनरत विद्यार्थीहरूलाई टीडब्लूआई, दुबईमा हायर नेशनल डिप्लोमा कार्यक्रम अर्न्तगत विद्यार्थीको सैद्धान्तिक ज्ञान एवं सिप विकास अभिवृद्धि लागि अवसर प्रदान गरिन्छ । हायर नेशनल डिप्लोमा सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीहरूले शैक्षिक प्रदर्शन, संस्थागत मापदण्ड तथा भिसा नियमअनुसार लेभल ६ (टप-अप ब्याचलर डिग्री) दुबई, बेलायत वा अष्ट्रेलिया स्थित साझेदार विश्वविद्यालयहरू वा शिक्षण संस्थामा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
विद्यार्थीहरूको व्यावसायिक सीपहरू विकासको लागि इन्टर्नसिपको अवसर प्रदान गरिन्छ । तथापि इन्टर्नशिपको ग्यारेन्टी गरिँदैन र सो कुरा विद्यार्थीहरूलाई भर्ना पूर्व नै स्पष्ट रूपमा जानकारी गराइने गरिएको छ ।
यसैबीच इन्टर्नशिपको अवसर पाएर दुबई गएका करिब ५१ जना हस्पिटालिटी म्यानेजमेन्ट विद्यार्थीहरू मध्ये ९ जना विद्यार्थीहरू व्यक्तिगत असन्तुष्टिका कारण करिब तीन महिनापछि नेपाल फर्किएका थिए । विद्यार्थीहरू नेपाल फर्किएपछि कलेजले विद्यार्थी तथा अभिभावकहरूसँग तुरुन्तै औपचारिक परामर्श प्रक्रिया सुरु गर्यो ।
छलफलहरू पारदर्शी, सम्मानजनक र रचनात्मक वातावरणमा सम्पन्न गरिएका थिए। उक्त छलफलहरू आपसी समझदारी तथा अभिभावकका सुझावहरू अनुरूप अगाडि बढाइएका थिए। त्यस समयमा सम्बन्धित अभिभावक तथा फर्किएका विद्यार्थीहरू सन्तुष्ट रहेको प्रतिक्रिया प्राप्त भएको थियो। समस्या सकारात्मक संवादमार्फत समाधानको दिशातर्फ अघि बढिरहेको अवस्था थियो।
तर मंसिर २३ दिन केही एचएम विद्यार्थीहरूले कलेजको पूर्व अनुमति र स्वीकृति बिना प्रत्यक्ष छलफलको क्रममा सामाजिक सञ्जालमा सामग्री प्रसारण गरेका थिए। पौष ७ मा, अभिभावकहरूसँग छलफल भइसकेको अवस्थामा पनि, बाह्य संस्थासँग सम्बन्धित केही व्यक्तिहरूले विद्यार्थीको समर्थनको नाममा परिस्थिति अशान्त बनाउने प्रयास गरेका थिए ।
पौष ८ मा, समस्या समाधानका प्रयास जारी रहँदा पनि, हाल कलेजमा भर्ना नभएका व्यक्ति तथा विद्यार्थी सङ्घको नाम प्रयोग गर्दै आएका बाह्य समूहका केही व्यक्तिहरूले अनधिकृत र भ्रामक भिडियोहरू सार्वजनिक गरेका थिए । साथै, सामाजिक सञ्जालमार्फत अपुष्ट तथा दोषपूर्ण आरोपहरू फैलाउने, कलेजको कार्यालयमा तोडफोड गर्ने, तथा शैक्षिक गतिविधि अवरुद्ध गर्ने कार्यहरू गरिएको थियो।
कलेजले सम्बन्धित विद्यार्थीहरूसँग संवाद गर्न धेरै पटक औपचारिक प्रयास गरेको थियो । साथै तीन पटकभन्दा बढी औपचारिक बैठकमा सहभागी हुन आमन्त्रण गरिएको थियो । तर ती विद्यार्थीहरूले बैठकमा उपस्थित भई संवाद गर्न अस्वीकार गर्दै अनधिकृत गतिविधिमा संलग्न हुने बाटो रोजे र कलेजका विद्यार्थी तथा कर्मचारीहरूमा असहज परिस्थिति सिर्जना भएको छ ।
विद्यार्थीहरूको हितमा कलेज प्रतिबद्ध
हस्पिटालिटी म्यानेजमेन्ट फाउन्डेसन तहमा अध्ययनरत विद्यार्थीहरूलाई दुबईमा ‘हाइअर नेशनल डिप्लोमा’अन्तर्गत सैद्धान्तिक र व्यावहारिक ज्ञानका लागि पठाइने गरिएको कलेजले जनाएको छ। दुबई जाने विद्यार्थीहरूका लागि सुरुवाती समयमा तेस्रो पक्षमार्फत अस्थायी आवासको व्यवस्था गरिए पनि दीर्घकालीन रूपमा विद्यार्थीले आफ्नै व्यवस्था गर्नुपर्ने कुरा सम्झौतामै स्पष्ट गरिएको कलेजको दाबी छ। “विद्यार्थीहरूलाई बेघर बनाइएको वा अलपत्र पारिएको भन्ने दाबी पूर्णतः झुटो हो,” विज्ञप्तिमा भनिएको छ।
साथै कलेजले आफूमाथि लगाइएको ‘शोषण’ वा ‘मानव तस्करी’ जस्ता गम्भीर आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। यस्ता मानहानीपूर्ण आरोपहरूले संस्थाको प्रतिष्ठामा आघात पुर्याएको भन्दै कलेजले आफ्नो कानुनी र नैतिक मापदण्डप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
टिडब्लुआईकै विद्यार्थी भन्छन्- ‘कलेजमाथि मिथ्या आरोप मात्रै’
प्रतिसा लामा पनि ब्रिटिश कलेजकै टिडब्लुआईकी विद्यार्थी हुन् । हाल उनी दुबईमै छिन् । उनले सामाजिक सञ्जालमा सँगै गएका साथीहरुले जसरी भ्रम फैलाइरहेका छन्, त्यस्तो अवस्था नभएको प्रष्ट पारेकी छन् । यस्ता भ्रमपूर्ण खबरले आफू र आफ्नो परिवारमा मानसिक तनाव परेको उनको गुनासो छ ।
उनले भनेकी छन्, ‘म पनि एउटी केटी हुँ र यी कुराहरू देख्दा मलाई पनि नराम्रो महसुस हुन्छ । म कलेजमा पढ्दै छु र जब यस्ता नराम्रा हल्लाहरू आउँछन्, हामीले बोल्न जरुरी हुन्छ। त्यसैले, म सुरुदेखि नै के भन्न चाहन्छु भने, जुन दिन मैले आवेदन दिएकी थिएँ, त्यही दिन मलाई भनिएको थियो कि तपाईंले तयारी गर्नुपर्छ वा त्यहाँ गएर बोल्नुपर्छ। तपाईंको इन्टर्नसिप हुन्छ कि जागिर हुन्छ, हामी जानकारी दिनेछौँ। तर तपाईं त्यसलाई सफल पार्न सक्नुहुन्छ कि हुन्न, त्यो तपाईंमा भर पर्छ। यदि कलेज वा इन्टर्नसिपको नाममा कुनै पनि प्रकारको गलत व्यवहार भइरहेको छ भने, आफ्नो कुरा दृढताका साथ राख्नुपर्छ । अन्यथा भ्रम नफैलाउनुहोस् ।’
टिडब्लुआईमा डेढ वर्षदेखि पढिरहेकी सूचना पौडेल पनि कलेजप्रति फैलिएको खबरप्रति आपत्ति जनाउँछिन् । एउटै विल्डिङमा बसेका साथीहरुले लगाएको आरोपप्रति उनी भन्छिन्, ‘कोठामा आफ्नो अनुमति विना कोही पनि प्रवेश गर्र्दैनन् । यो मैले कतै फिल गरिनँ । यो सरासर झुटो हो ।’
पौडेलले आफूले पाउने सुविधामा अहिलेसम्म कुनै कटौती नभएको पनि बताएकी छन् । उनले आफू रिजर्भेसन काम गरेर पनि यसका अलावा एचआरमा गएर ट्रेनिङको अवसर पनि पाएकी छन् । अहिलेसम्मको अवस्थामा आफूलाई कलेज परिवारले हौसला प्रदान गरेको उनको भनाइ छ ।
यसैगरी दुबई पुगेर फर्किएकी अर्की विद्यार्थी तृप्ति भण्डारी पनि कलेजप्रति फैलिएको नियोजित आरोपप्रति चकित छिन् । उनकै नाम मुछेर जसरी प्रचार गरिएको छ, त्यसको उनी आफैंले खण्डन गरेकी छन् । गत वर्ष नै आफू बिरामी परेकोले इन्टर्नशिप छोडेर नेपाल फर्कनु परेकी बताएकी उनले पछि यो भ्रमपूर्ण खबर थापा पाएकी थिइन् । ‘मलाई लागेको थियो कि यसबारे गफ गर्नु सामान्य होला। मैले लामो समयसम्म यसबारे वास्ता गरिनँ। त्यसपछि धेरै ठूला समस्याहरू आइलागे। त्यो निकै नराम्रो विषय हो।’
पर्दा पछाडीबाट नाटक मञ्चन गरियो -निर्देशक महेन्द्रराज कँडेल
कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले कलेजविरुद्ध भइरहेका प्रदर्शन र आरोपहरूलाई ‘नियोजित नाटक’को संज्ञा दिएका छन् । अरुको प्रगति देख्न नसक्ने केही उक्साहट समूहले अनावश्यक रूपमा उचालेर कलेजको शैक्षिक वातावरण बिगार्न खोजेको उनको दाबी छ।
उनी भन्छन्, ‘के भूल थियो कलेजको ? अहिले जे भइरहेको छ, त्यो वास्तविक समस्या भन्दा पनि पर्दा पछाडिबाट कसैले मञ्चन गरेको नाटक जस्तो देखिन्छ । केही बाह्य तत्वहरूले विद्यार्थीलाई उकासेर संस्था र यसका कर्मचारीविरुद्ध आधारहीन आरोप लगाउने काम गरिरहेका छन्। यो सुनियोजित प्रहार हो ।’
अहिलेसम्म दशौं हजार विद्यार्थी उत्पादन गरिसकेको कलेजको विगतलाई स्मरण गर्दै कँडेल भन्छन्, यहाँ कैयौं विद्यार्थी विश्वका प्रतिष्ठित संस्थामा सम्मानजनक पदमा पुगेर काम गरिरहेका छन् । कतिले नेपालमा पनि जागिरदेखि व्यवसायमा आफूलाई स्थापित गरेका छन् । के यो सबै ‘फ्रड’ हो ? के भइरहेको छ यो नेपाली समाजमा ?’ साथै उनले यो सानातिना हावाले संस्थाप्रतिको विश्वास नहल्लिने पनि प्रष्ट पारेका छन् । अझै सशक्त भएर अघि बढ्ने उनको भनाइ छ ।





























प्रतिक्रिया