काठमाडौं । बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजले बीआईटी र बीबीए संकायका नवप्रवेशी विद्यार्थीहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षकहरुको उपस्थिती रहेको थियो ।
गएको शनिबार कार्यक्रमका लागि विद्यार्थीहरू बिहान कलेज परिसरमा उपस्थित भई आ–आफ्नो नाम दर्ता गरेपछि कलेजको बसमार्फत चन्द्रागिरिको केबलकार स्टेशनतर्फ प्रस्थान गरेका थिए । त्यहाँ पुगेपछि रिसोर्टसम्म लैजानका लागि गाडीको व्यवस्था गरिएको थियो।
रिसोर्टमा विद्यार्थीहरूका लागि खाजा–नास्ताको व्यवस्था गरिएको थियो। त्यसपछि अनौपचारिक कार्यक्रम सुरु भयो, जसमा विद्यार्थीहरूले विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागिता जनाए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले साथीहरूसँग घुलमिल हुँदै चन्द्रागिरिको मनोरम दृश्यको पनि भरपुर आनन्द लिए ।
अनौपचारिक कार्यक्रमपछि विद्यार्थीहरूलाई आ–आफ्नो कोठाको साँचो प्रदान गरियो। बेलुकी सबै विद्यार्थीहरू सामूहिक रूपमा भोजन कार्यक्रममा सहभागी भए, जहाँ विभिन्न परिकारहरू उपलब्ध गराइएको थियो। त्यसपछि नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
भोलिपल्ट आइतबार बिहान ९ बजे खाजा–नास्तापछि करिब १०ः३० बजे औपचारिक अभिमुखीकरण कार्यक्रम सुरु भएको थियो । उक्त कार्यक्रममा कलेजका विभिन्न शिक्षकहरूले आफ्ना शैक्षिक तथा व्यावसायिक अनुभवहरू साझा गर्दै विद्यार्थीहरूलाई अध्ययन, अनुशासन र करियर निर्माणसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए । साथै, विद्यार्थीहरूलाई भविष्यप्रति आशावादी र आत्मविश्वासी बन्न प्रेरित गरेका थिए ।
कलेजका सीईओ रामकृष्ण पौडेलले एमआईटी कलेजको ब्रान्ड र गुणस्तरीय शिक्षाबारे चर्चा गर्दै कलेजले विद्यार्थीलाई व्यवहारिक ज्ञान र प्रविधिमैत्री सीप प्रदान गर्ने लक्ष्य लिएको बताए । साथै उनले आईटी क्षेत्र मेहनती र सीपयुक्त युवाहरूका लागि अवसरले भरिएको क्षेत्र भएको भन्दै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरूको पनि उपस्थिति रहेको थियाे । अतिथिहरूले विद्यार्थीहरूलाई शुभकामना दिँदै निरन्तर मिहिनेत र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरेका थिए । यसै क्रममा एमआईटी कलेजका सीईओ आरके दाहालले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै केही प्रश्नहरू सोधे र सही उत्तर दिने विद्यार्थीहरूलाई उपहारसमेत प्रदान गरेका थिए ।
कलेज प्रमुख सुरेन्द्र सुबेदीले कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताएका छन् । उनले एमआईटी कलेजको शैक्षिक स्तर र व्यवस्थापनलाई नेपाल सरकारबाट समेत उत्कृष्ट कलेजका रूपमा सम्मान गरिएको उल्लेख गरे ।
यस अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई कलेज जीवन, शैक्षिक वातावरण तथा आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागी विद्यार्थीहरूले बताएका छन्।





























प्रतिक्रिया