इक्यानमा चुनावी सरगर्मीः एन्ड्रयु भन्छन्- ‘जिम्मेवारी बहन गर्न अध्यक्षमा मेरो उम्मेदवारी’

इक्यानमा चुनावी सरगर्मीः एन्ड्रयु भन्छन्- ‘जिम्मेवारी बहन गर्न अध्यक्षमा मेरो उम्मेदवारी’

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औँ साधारणसभा तथा निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। आगामी सोमबार हुने निर्वाचनमा वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ ले अध्यक्ष पदमा आफ्नो सशक्त उम्मेदवारी प्रस्तुत गरेका छन्।

केही व्यवसायीहरूबीच आफ्नो उम्मेदवारीलाई लिएर भइरहेका विभिन्न टिकाटिप्पणीको जवाफ दिँदै पौडेलले आफू कुनै व्यक्तिगत हैसियत बनाउन नभई संस्थाको भविष्यलाई सुन्दर र गतिशील बनाउन चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै पौडेलले भने, ‘समृद्ध इक्यान कुनै एक व्यक्तिको प्रयासले मात्र नभई समग्र इक्यानियनहरूको सामूहिक पहल र सहकार्यबाट मात्र सम्भव छ।’ उनले हिजो कसले के गर्‍यो भन्ने बहस भन्दा पनि अब भोलि के गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

उनले थपे, ‘आज इक्यानलाई ठूला कुरा होइन, सही कुरा चाहिएको छ। भाषण होइन, काम चाहिएको छ। म कसैको विरोध गर्न चाहन्न, तर मलाई प्राप्त हुने जिम्मेवारीलाई परिणाममा बदल्न म पूर्ण प्रतिबद्ध छु।’

नेपालको शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा लिडिङ रोलमा रहेको ग्रेस इन्टरनेसनलका सहसंस्थापक एवं निर्देशकसमेत रहेका एन्ड्र्यु भन्छन्– ‘इक्यान र इक्यानमा आवद्ध साथीहरुका लागि गर्नुपर्ने कामहरु थुप्रै रहेछन्, तर ति विषयमा अहिलेसम्म इक्यानमा बस्नेहरु केन्द्रित हुन सकिरहेका छन् । सफल व्यवसायिक संस्थाहरुको ठुलो छाता संगठन झन शक्तिशाली र नेतृत्वदायी हुनपर्छ भन्ने मेरो मान्यता हो ।’

ग्रेसलाई देश विदेशमा सफल बनाइसकेपछि इक्यानका लागि थप महत्वपूर्ण २ वर्ष मूल नेतृत्वमा रहेर योगदान दिनुपर्ने साथीहरुको आग्रहपछि उनी निर्वाचनमा अघि सरेका हुन् । दुईदशक भन्दा बढीको व्यवसायिक अनुभवलाई उनी इक्यानमा खर्चिन चाहन्छन् । भन्छन्– ‘इक्यानमा वर्षौ राजनीति गरेर बस्ने फुर्सद छैन् मलाई । इक्यानलाई कर्पोरेट संस्कृतिमा ढालेर यो संस्थामार्फत सदस्य संस्थाहरुलाई इज्जतिलो वातावरणमा काम गर्ने स्थितीमा पुर्याउन मैले अध्यक्ष बन्नुपर्ने देखेको छु ।’

यसपटकको निर्वाचनमा इक्यान दुई कित्तामा विभाजित देखिएको छ। अध्यक्ष पदका लागि पौडेल र वर्तमान महासचिव दिपकराज भुसाल प्यानलसहित चुनावी मैदानमा छन्। ७ सयभन्दा बढी व्यवसायी सदस्यहरू आबद्ध रहेको यस संस्थाको नयाँ नेतृत्व कसको हातमा पुग्छ भन्ने कुराले आगामी शैक्षिक परामर्श क्षेत्रको दिशा तय गर्नेछ।

Logo