काठमाडौं । बुद्धनगरस्थित केएमसीमा सम्पन्न पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र रिब्सले उपाधि हात पारेका छन्।
सिनियर ब्वाइजतर्फ गोल्डेनपिकले बाल दीक्षा सदनलाई ४८–४५ को झिनो अन्तरले पराजित गर्दै उपाधि जितेकाे हाे । गोल्डेनपिकका विजय तामाङले उत्कृष्ट प्रदर्शन गर्दै २१ अंक जोडे ।

जुनियर ब्वाइजतर्फ इबीएले ग्रिनफिल्डलाई ४१–२१ ले हराउँदै पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भयो। इबीएका दिग्विजय पुरीले ११ अंक जोडे।

सिनियर ग्रर्ल्सतर्फ डिफेन्डिङ च्याम्पियन रिब्सले चेल्सी वर्ल्ड स्कुललाई २५–२१ ले पाखा लगाउँदै उपाधि रक्षा गर्यो, जसमा सुप्रिया मल्लले ११ अंक जोडे। फाइनलका सर्वाधिक स्कोरकर्तात्रय विजय, दिग्विजय र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

यसैगरी नेपाल सेन्ट्रल (सिनियर ब्वाइज), मानाङ्क चिल्ड्रेन (सिनियर गल्र्स) र गोल्डेन फ्लावर (जुनियर ब्वाइज) ले ‘स्पिरिट अफ केएमसी बास्केटबल अवार्ड’ हात पारे।

विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुस २७ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियर र जुनियर ब्वाइजतर्फ समान १२–१२ टिम तथा गल्र्सतर्फ ८ टिम सहभागी थिए।





























प्रतिक्रिया