काठमाडाैं । द ब्रिटिस कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला गराउने उद्देश्यसहित काठमाडौंमा ‘अलुम्नाइ मिट २०२६’ भव्य रूपमा आयाेजना गरेको छ ।
कार्यक्रममा कलेजबाट स्नातक भएका पूर्वविद्यार्थीहरू, कलेजका स्टाफ, फ्याकल्टी सदस्यहरू तथा विशेष अतिथिहरू सहभागी थिए । कलेज नेतृत्व तथा पूर्वविद्यार्थी वक्ताहरूले संस्थाको दीर्घकालीन दृष्टिकोण, शैक्षिक उपलब्धि तथा भविष्यका योजनाबारे विस्तृत रूपमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा पूर्वविद्यार्थी लक्षित नयाँ ‘इन्क्युबेसन सेन्टर’ को घोषणा गरिएको थियो । उक्त केन्द्रले उद्यमशीलता, नवप्रवर्तन र स्टार्टअप संस्कृतिलाई प्रवद्र्धन गर्दै युवा उद्यमीहरूलाई आवश्यक मार्गदर्शन तथा सहयोग प्रदान गर्ने कलेजले जनाएको छ ।
कार्यक्रममा ई-वर्क्सका सीईओ जोन पार्कले पेशागत नेटवर्कको महत्वमाथि जोड दिँदै विभिन्न क्षेत्रका अलुम्नाइबीच सहकार्य आवश्यक रहेको बताए । यस्तो सहकार्यले व्यक्तिगत करियर विकाससँगै राष्ट्रिय विकासमा समेत योगदान पुग्ने विश्वास उनले व्यक्त गरे। उनले ब्रिटिस कलेजका स्नातकहरूसँग काम गर्दाको अनुभव सकारात्मक रहेको पनि बताए ।
कार्यक्रममा समापन मन्तव्य दिँदै द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेलले कलेजले नेपाली युवालाई विश्वस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धता निरन्तर कायम राखेको उल्लेख गरे । उनले हालसम्म कलेजले ५ हजारभन्दा बढी स्नातक उत्पादन गरिसकेको जानकारी दिँदै, ती विद्यार्थीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलतापूर्वक कार्यरत रहेको बताए।
साथै, सामाजिक सञ्जालमा फैलिएका केही भ्रामक सूचनाप्रति ध्यानाकर्षण गराउँदै कलेज प्रशासनले आफ्नो शैक्षिक इमानदारी, अन्तर्राष्ट्रिय मान्यता प्राप्त पाठ्यक्रम तथा विशिष्ट मान्यताबारे स्पष्ट पारेको थियो । कलेजको अन्तर्राष्ट्रिय विस्तार तथा विश्वव्यापी साझेदारीले नेपाली विद्यार्थीलाई ग्लोबल प्रतिस्पर्धामा सक्षम बनाइरहेको पनि कार्यक्रममा उल्लेख गरिएको थियो ।
कार्यक्रममा पुराना सम्झनालाई समेटिएका विभिन्न भिडियो प्रदर्शन, सांस्कृतिक नृत्य प्रस्तुतिहरू तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको थियो ।





























प्रतिक्रिया