हिमालय कलेज अफ इन्जिनियरिङ्गमा ह्याकाथन सुरु

हिमालय कलेज अफ इन्जिनियरिङ्गमा ह्याकाथन सुरु

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । हिमालय कलेज अफ इन्जिनियरिङ्गमा ह्याकाथन सुरु भएको छ । ललितपुरको च्यासलस्थित कलेजकै प्राङ्गणमा कोड यात्रा २.० नामक ह्याकाथन प्रतियोगिता सुरु भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालयका सीएसआईटी केन्द्रीय विभागका उपप्राध्यापक सर्बिन सायमीकाे उपस्थिति रहेकाे थियो । विद्यार्थीको सिपलाई उजागर गर्ने, नयाँ आइडियालाई मूर्त रुप दिने तथा विभिन्न कलेजका विद्यार्थीहरुको आइडियालाई एकअर्कासँग आदान प्रदान गर्ने उदेश्यले आयोजित ह्याकाथनमा काठमाडौं उपत्यकाका साथै देशभरका विभिन्न इन्जिनियरिङ्ग तथा आईटी क्षेत्रका विद्यार्थीहरुलाई ३१ समूहमा विभाजन गरिएको छ ।

हिमालय कलेज अफ इन्जिनियरिङमा अध्ययनत विद्यार्थीहरुको क्लब हिमालय आईटी क्लब, हिमालय इलेक्ट्रोनिक्स एन्ड कम्प्यूटर र हिमालय रोवोटिक्स क्लवद्धारा संयुक्त आयोजित कोड यात्रा २.० मा सहभागी ३१ वटै समूहलाई फरक फरक थिम दिइएको छ । सोही थिममा आधारित रही विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट ४८ घण्टा भित्र बनाउनु पर्ने कार्यक्रम आयोजक कमिटिका प्रेसिडेन्ट अस्मिता शर्माले जानकारी दिइन् । उक्त समयभित्र विद्यार्थीहरुले आफ्नो आइडियालाई कम्प्युटरको माध्यमबाट पूर्णता दिनु पर्ने पनि उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालयका सीएसआईटी केन्द्रीय विभागका उपप्राध्यापक सर्बिन सायमीले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई आफूले ‘कसरी, कस्तो र के’का लागि आफस्ले पाएको टास्क पूरा गर्ने भनेर विद्यार्थीहरुलाई ब्रिफिङ गरेका थिए ।

त्यस्तै, कलेजका निर्देशक किशोर गौतमले सहभागी विद्यार्थीहरुलाई मेहनत, परिश्रम, बुद्धीमत्ताको महत्व र प्रयोगका बारेमा विभिन्न उदाहरणसहित प्रकाश पारेका थिए ।

तीन दिन अर्थात् फागुन १२ गतेसम्म सञ्चालन हुने उक्त कोड यात्रामा सहभागी विद्यार्थीहरुलाई कलेजमै खाने र बस्ने व्यवस्था मिलाइएको छ । १ लाख पुरस्कार राखिएको उक्त प्रतियोगिताको विजेता समूहले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टोलीले २० हजारका साथैं विभिन्न गिफ्ट ह्याम्परहरु पाउने छन् । कलेजले हरेक वर्ष विभिन्न नाराका साथ यस्तो आयोजना गर्दै आएको छ ।

Logo