जानकी। नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ।
सरोकारवालाले अनुगमन गर्ने क्रममा विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका छन्। विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको छ।
अनुगमनमा श्री देउतादिन माध्यमिक विद्यालय, नारायण मावि, धम्बोजी मावि, सरस्वती मावि, दारुल उलम बर्सतिया मावि, ज्ञानोदय विद्या निकेतन र फुलटेक्रा मावि समेटिएका थिए। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यक्रमले विद्यालयस्तरबाट दिगो वातावरणीय अभ्यासको सुरुआत गरेको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आवश्यक रहेको बताए।
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थीमार्फत विद्यालय र समुदायसम्म सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे। सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले कार्यक्रममार्फत देखिएको सुधार उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप विद्यालयमा कार्यक्रम विस्तार आवश्यक रहेको बताए।
कार्यक्रमअन्तर्गत विद्यार्थीलाई फोहोर व्यवस्थापन, वर्गीकरण, ‘थ्री आर’ विधि, कम्पोष्ट उत्पादन, फोहोर जलाउँदा हुने असर, विद्युतीय फोहोर व्यवस्थापन र फोहोर–जलवायु सम्बन्ध विषयमा कक्षा सञ्चालन गरिएको छ। यसले विद्यालय परिसरलाई सफा, स्वच्छ र वातावरणमैत्री बनाउन सहयोग पुगेको बताइएको छ।
द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित ग्रिन नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजनाअन्तर्गत आइतबार विद्यालयमा कार्यक्रमको अनुगमन गरिएको थियो। अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी र बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा सहभागी थिए।





























प्रतिक्रिया