काठमाडौं।‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन घरबाट निस्कन लागेकी दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडियो कलमा सोध्ने व्यक्ति उनका प्राचार्य, शिक्षक वा अभिभावक होइनन्। सामाजिक अभियन्ता याङजोम शेर्पाले गृष्मा मात्र होइन, अन्य धेरै विद्यार्थीलाई पनि परीक्षा र भविष्यबारे सोधिरहेका छन्।
याङजोमलाई हरेक वर्ष एसइईका विद्यार्थीप्रति यस्तो चासो राख्न प्रेरणा विद्यार्थी र अभिभावकबाट नै मिलेको हो। सानैमा दुर्गम गाउँमा पढ्दा भोगेको संघर्ष र त्यसबाट बनेको अनुभवले उनलाई अहिले विद्यार्थीलाई उत्प्रेरणा दिनतर्फ ल्याएको हो। सानो उमेरमै आमा गुमाएकी उनले अहिलेका विद्यार्थीले आफूले जस्तो अवस्था भोग्न नपरोस् भन्ने सोचका साथ काम गरिरहेकी छन्। निरन्तर मेहनत र इमानदारीले माथि पुग्न सकिन्छ भन्ने उदाहरण उनी विद्यार्थीमाझ प्रस्तुत गरिरहेकी छन्।
ताप्लेजुङको फत्ताङलुङ–घुन्सामा जन्मिएकी याङजोमले त्यहाँबाट फुङलिङ पुग्न सात दिन पैदल हिँड्नुपर्ने अवस्थाबाट आफ्नो शिक्षा यात्रा अघि बढाएकी थिइन्। आमाको निधनपछि उनले तेह्रथुमको आठ्राई सङ्क्रान्ति बजारमा फुपुको होटलमा सघाउँदै पढाइ जारी राखेकी थिइन्। अहिले उनी विद्यालय तहका धेरै विद्यार्थीका लागि मार्गदर्शन दिने भूमिकामा सक्रिय छिन् र सामाजिक सञ्जालमार्फत पढाइ, स्वास्थ्य, अनुशासन र प्रेरणासम्बन्धी सामग्री साझा गरिरहेकी छन्।
केही वर्षअघि एक आमाले आफ्नो स्नातक गरेका छोरालाई जागिर मिलाइदिन आग्रह गरेपछि याङजोमले उनलाई एक कम्पनी प्रमुखसँग भेट गराइन्। तर विद्यार्थीको व्यावहारिक ज्ञान कमजोर देखिएपछि केवल प्रमाणपत्र पर्याप्त नहुने निष्कर्ष उनीसम्म पुगेको थियो।
यही अनुभवपछि उनले निःशुल्क अनलाइन कक्षाको अभियान सुरु गरिन्, जसमा हाल ३५ जना विषय विज्ञ शिक्षक संलग्न छन्। यस अभियानले पढ्न नपाउने वा पढेर पनि रोजगारी नपाउने अवस्थाका विद्यार्थीलाई लक्षित गरेको छ।
गृष्मा अधिकारी र उनकी आमा गीता अधिकारीले भिडियो कलमार्फत यस्तो चासोले आफूलाई सकारात्मक प्रभाव परेको बताएका छन्। याङजोमका अनुसार विद्यार्थी र अभिभावकको सन्तुष्टि नै उनको अभियानको मुख्य उपलब्धि हो।
उन्नती फाउण्डेशनबाट सुरु भएको यो पहल अहिले घुन्सा फाउण्डेशनमार्फत एम्बिसन गुरुको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ। विद्यालयका कोचिङ कक्षाभन्दा प्रभावकारी भएको प्रतिक्रिया आफूले पाएको उनी बताउँछिन्।
विसं २०८० मा ३० हजार विद्यार्थीबाट सुरु भएको यो अभियान २०८१ मा १ लाख ८१ हजार र २०८२ मा १ लाख ७२ हजार विद्यार्थीमा विस्तार भएको छ। नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अनलाइन कक्षा सञ्चालन भइरहेका छन्।
गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईको कमजोर नतिजा सुधार गर्न निःशुल्क अनलाइन कक्षाको आवश्यकता औंल्याएका थिए। सरकारी प्रयास प्रभावकारी नभएको अवस्थामा यो अभियान अगाडि आएको हो। अघिल्लो वर्षको तुलनामा परीक्षाफलमा करिब १३ प्रतिशत सुधार देखिएको बताइएको छ।
याङजोमले विभिन्न जिल्लामा मोटिभेसनल कक्षा सञ्चालन गर्दै विद्यार्थीलाई आत्मविश्वास बढाउने प्रयास गरिरहेकी छन्। ती कक्षामा आनी छोइङ डोल्मा जस्ता व्यक्तित्वलाई पनि सहभागी गराइन्छ।
उनका अनुसार विद्यार्थीलाई केवल कक्षा कोठाभित्र सीमित राख्न नहुने र परीक्षामा आत्मविश्वासका साथ प्रस्तुत हुन सक्ने क्षमता विकास आवश्यक छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत १९ देखि २९ गतेसम्म देशभर एसइई परीक्षा सञ्चालन भइरहेको छ। यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन् भने १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।































प्रतिक्रिया