बालेन सरकारको निर्देशन अवज्ञा गर्दै स्थानीय तहले थाल्यो धमाधम विद्यार्थी भर्ना

बालेन सरकारको निर्देशन अवज्ञा गर्दै स्थानीय तहले थाल्यो धमाधम विद्यार्थी भर्ना

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । बालेन सरकारको स्पष्ट निर्णयविपरीत केही स्थानीय तहले विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गर्न थालेका छन् । बालेन सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्देशन दिएको थियो । तर तनहुँ, रुपन्देही र प्युठानका स्थानीय तहले यो परिपत्रलाई सीधै लत्याउँदै शैक्षिक सत्र अघि बढाएका हुन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले वैशाख २ गतेदेखि भर्ना अभियानसँगै नियमित पठनपाठन सञ्चालन गर्ने सूचना जारी गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले जारी गरेको सूचनामा ‘संविधानअनुसार आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन स्थानीय तहको अधिकार हो’ भन्दै सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई तत्काल भर्ना र पठनपाठन सुरु गर्न निर्देशन दिइएको छ।

यसैगरी, तनहुँकै बन्दीपुर गाउँपालिकाले वैशाख २ देखि ८ गतेसम्म भर्ना र ९ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख ७ गतेदेखि भर्ना कार्यक्रम र १० गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । प्युठानको झिमरुक गाउँपालिकाले पनि आजैदेखि भर्ना सुरु गरेको छ ।

अर्कोतर्फ निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सनले पनि वैशाख २ गतेदेखि भर्ना अभियान, ७ गतेदेखि पूर्वतयारी कक्षा र १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने सूचना जारी गरेको छ । बुधबार प्याब्सन टोलीले शिक्षा मन्त्री सस्मित पोखरेललाई यस विषयमा भेटेर ध्यानाकर्षण गराएको थियो ।

Logo