‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ आज

‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ आज

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज मंगलबार ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ आयोजना हुँदैछ । ललितपुरस्थित ‘द प्लाजा’मा आयोजना हुने एक विशेष समारोहका बीच शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै अब्बल साबित भएका संस्थागत तथा सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरूलाई सम्मान गर्न लागिएको हो ।

शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका देशभरका उत्कृष्ट कलेज तथा विद्यालयहरूलाई यस अवार्डले चिनाउने र उनीहरूको योगदानको कदर गर्ने केन्द्रबिन्दुले लक्ष्य राखेको छ ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा प्रायोजित यस कार्यक्रममा अवार्ड वितरण हुनुअघि शिक्षा क्षेत्रको वर्तमान अवस्था, यसका चुनौतीहरू र आगामी दिशाबारे गहन विमर्श गरिनेछ । जसका लागि दुईवटा महत्त्वपूर्ण प्यानल डिस्कसन समेत सञ्चालन गरिने कार्यक्रम तय भएको छ ।

जसअनुसार कार्यक्रमको पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयमा केन्द्रित रहेर छलफल हुनेछ भने दोस्रो प्यानल डिस्कसन ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ भन्ने विषयमा केन्द्रित रहनेछ । उक्त बहसहरूमा शिक्षा क्षेत्रका विज्ञ, सरोकारवाला तथा नीति निर्माताहरूको सहभागिता रहनेछ ।

देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्थाहरूलाई एकै थलोमा समेटेर गरिन लागिएको यस सम्मान कार्यक्रमले नेपाली शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।

Logo