प्यालेस्टिनी राष्ट्रपतिका लागि सन् २०२७ को सुरुमा निर्वाचन गर्ने नेता अब्बासद्वारा घोषणा

प्यालेस्टिनी राष्ट्रपतिका लागि सन् २०२७ को सुरुमा निर्वाचन गर्ने नेता अब्बासद्वारा घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यसै वर्षको नोभेम्बरमा विधायिका चुनाव गर्न आह्वान गरेको प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ । सन् २०२७ को सुरुवातमा राष्ट्रपतिको पनि चुनाव गर्नेगरी तयारी गर्न निर्देशन जारी गरेका छन् ।

प्यालेष्टिनी नेता अब्बासको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले यस वर्षको नोभेम्बरमा विधायिका चुनाव गर्न र सन् २०२७ को शुरुमा राष्ट्रपतीय निर्वाचन गर्ने घोषणा गरेका छन् ।

सन् २००५ मा प्यालेस्टाइनको राष्ट्रपतीय निर्वाचनमा बिजय हाँसिल गरेका ९० वर्षीय अब्बासले चार वर्षको लागि जनादेशसहित सत्ताको बागडोर सम्हालेका थिए ।

अब्बासले राष्ट्रपतीय अधिकारको प्रयोग गर्दै कार्यकाल थप गरेका थिए । त्यसपछि कुनै पनि राष्ट्रपति चुनाव भएको छैन । कार्यकाल थप्ने उहाँको निर्णयका लागि देश र विदेशमा आलोचना हुँदै आएको थियो ।

अब्बासले आफ्नो आदेशमा भनेका छन्, “नोभेम्बरमा हुने प्यालेस्टाइन राष्ट्रिय परिषद्को चुनाव आयोजना गर्न पूर्ण रूपमा तयार हुनुपर्छ । प्यालेस्टाइन राष्ट्रिय परिषद् प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ) को संसद हो, जसमा प्यालेस्टाइन क्षेत्र र विदेशका ७०० भन्दा बढी सदस्यहरू छन्।

प्यालेस्टाइन क्षेत्रमा पछिल्लो विधायिका चुनाव सन् २००६ मा भएको थियो, जसमा हमासले अब्बासको फताह पार्टीलाई पराजित गरेको थियो । फलस्वरूप, अब्बासको प्यालेस्टाइन प्राधिकरणको संसद प्यालेस्टाइन विधान परिषद्को सन् २००७ देखि बैठक हुन सकेको छैन ।

चुनाव गराउनु अन्तर्राष्ट्रिय समुदायले माग गरेको सुधारको एक हिस्सा हो, जसले प्यालेस्टाइन प्राधिकरणलाई आर्थिक रूपमा समर्थन गर्दछ । प्यालेस्टिनी कानुनी अनुसन्धानकर्ता महमुद अल–अफ्रान्जीले प्यालेस्टिनी प्राधिकरणमा निर्वाचन गराउन राजनीतिक इच्छाशक्ति र अन्तर्राष्ट्रिय दबाब दुवै रहेको बताएका छन् ।

उनले एएफपीसँग भने, “पूर्वी जेरुसेलम र गाजा पट्टीमा चुनाव हुने सुनिश्चितताको अभाव ‘विधायिका चुनाव गर्नका लागि अवरोध’ बनेको थियो ।”
सन् २०२१ मा, अब्बासले क्रमशः त्यस वर्षको मे र जुलाईमा विधायिका र राष्ट्रपति चुनावको घोषणा गरेका थिए ।

Logo