काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जनता माध्यमिक विद्यालय मधेश प्रदेशका सामुदायिक विद्यालयमध्ये प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा गुणस्तरीय शिक्षा प्रवाह, उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्याएको उल्लेखनीय योगदानका आधारमा जनता माविले उक्त सम्मान प्राप्त गरेको हो।
जनता माविले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाउँदै शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । आधुनिक शिक्षण–सिकाइ अभ्यास, दक्ष शिक्षक टोली तथा विद्यार्थीमैत्री वातावरणका माध्यमबाट विद्यालयले मधेश प्रदेशमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ।
विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्दै आएको छ। यसले विद्यार्थीलाई सक्षम, जिम्मेवार र प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्न योगदान पुर्याउँदै आएको छ।
केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।





























प्रतिक्रिया