देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा भने नियमित पठनपाठन

देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा भने नियमित पठनपाठन


बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ। 

तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो। तुँवालोको प्रभाव खासै नदेखिएपछि पठनपाठन जारी राख्ने निर्णयमा गाउँपालिका पुगेको गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए।

प्रदूषणको प्रभाव नभएपछि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो। नाम्खा गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन्। 

कोरोना कहरको लामो समयपछि गत फागुन १ गतेबाट गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु भएको थियो। यता सोही गाउँपालिका–६ को लिमीका दुईवटा विद्यालयमा भने कोरोना कहरको समयमा समेत नियमित पठनपाठन जारी थियो ।रासस

Logo