धनकुमारले अब अनलाइन पढ्न रुखमा डेरा बनाउन नपर्ने

धनकुमारले अब अनलाइन पढ्न रुखमा डेरा बनाउन नपर्ने


खोटाङमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई नेपाल टेलिकमले पकेट वाइफाइ डिभाइस प्रदान गरेको छ ।

कोभिड-१९ महामारीमा अनलाइन कक्षामा सहभागी हुने हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई नेपाल टेलिकम ओखलढुंगाले एक थान पकेट वाइफाइ डिभाइस उपलब्ध गराएको हो । 

मगर सरस्वती मावि कक्षा १० मा अध्ययनरत छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपास्थित फोरजीको नयाँ टावरकाे सेवा सुरु भएसँगै टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थी मगरको घरैमा पुगेर पकेट वाइफाइ डिभाइस प्रदान गरेका हुन् ।

बुईपास्थित फोरजीको टावर आइतबारदेखि सञ्चानमा ल्याइएको हो । फोरजीको टावर सञ्चालनमा आएसँगै मगरको घर गाउँमा फोरजी सेवा चल्न थालेको छ ।

अनलाइन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने बाध्यताले चर्चा पाएपछि अर्खौले लगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा नयाँ फोरजी टावर राख्ने योजना अघि सारिएको प्रमुख पन्थीले बताए । नयाँ टावर राख्नका लागि जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलिकमले जनाएको छ । 

Logo