प्रिमियर स्कुलद्वारा आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

प्रिमियर स्कुलद्वारा आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण


शिक्षा ऐनमा गरिएको व्यवस्था अनुसार वि. सं. २०७७ सालमा विशिष्ट श्रेणी प्राप्त गर्न सफल प्रिमियर इन्टरनेशनल आई बी वर्ल्ड स्कुल सातदोबाटो खुमलटारले विद्यालय साझेदारी शीर्षक अन्तर्गते ललितपुर महानगरपालिकाका आधारभूत विद्यालयहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

बुधवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त थापाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा विद्यालय साझेदारी शीर्षक अन्तर्गत विद्यालयले गर्ने आगामी कार्यक्रमहरूको बारेमा प्रकाश पार्दै विद्यालयकी निर्देशिका पवित्रा लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत नवराज रिजालले विशिष्ट श्रेणी कायम गरिएका विद्यालयद्वारा सामुदायिक विद्यालयसँग सहकार्य गरी बाल केन्द्रित अभ्यास सम्बन्धी क्षमता विकास गर्नका लागि आवश्यक शिक्षक तालिम, शैक्षिक सामग्री तथा अन्य शैक्षिक क्रियाकलापले शैक्षिक गुणस्तर वृद्धि गर्नमा महत्त्वपूर्ण  सहयोग पुर्‍याउने भएकाले यस्तो कार्यमा अग्रसर भई महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा  स्कुल परिवार प्रति धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा बोल्दै ललितपुर प्याव्सनका अध्यक्ष निरोज महर्जनले निजी स्तर र सामुदायिक स्तरका विद्यालयबीचमा सहकार्य हुनु पर्ने र यस्ता कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्ने कुरामा जोड दिए । 

उक्त कार्यक्रममा प्रदान गरिएका शैक्षिक सामग्रीहरूले आधारभूत विद्यालयलाई प्रविधि मैत्री बनाउन सुरुवात गर्ने र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई सुधार गर्दै बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा महानगरपालिकाले राखेको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले प्रस्ट पारे । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रमुख चिरीबाबु महर्जनले शैक्षिक राजधानीका रूपमा स्थापित रहेको ललितपुर महानगरपालिका भित्रका विद्यालयले सञ्चालन  गर्ने यस्ता किसिमका गतिविधिले महानगरपालिकाको शिर उच्च बनाएको र आगामी दिनमा अरू स्कुलका लागि पनि यो कार्य प्रेरणादायी हुने विश्वास लिएको बताए । प्रिमियर स्कुल छिर्दा अन्तर्राष्ट्रिय स्तरको झझल्को दिने विद्यालयका रूपमा पाउँदा आफूलाई अत्यन्तै हर्षित भएको बताए । यसका साथै प्रमुख चिरीबाबु महर्जनले समग्र ललितपुरको विकासका लागि चालिएका कदमहरूको बारेमा चर्चा गरेका थिए ।   

प्रमुख कार्यकारी अधिकृत राजेश शर्माले  सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अभिभावक, पत्रकार, शिक्षकहरूको उपस्थितिमा ललितपुर जिल्लाका आधारभूत विद्यालयहरू चोईना विना गुरुगणेश लोहाचोक, बाखेल कुमारी फर्सीडोल, ललित कल्याण केन्द्र भोलढोका, चुनिदेवी शिक्षा मन्दिर चुनिखेल, मिननाथ आदर्श शिक्षा सदन टंगाल, बालकुमारी सैंबु, सचेतना धोविघाट र मोतिविनायक ढोलाहिटीलार्ई एक एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरिएको थियो । कार्यक्रमका सभापति वसन्त थापाले यो कार्यक्रम सुरुवात मात्र भएको र आगामी दिनमा अझ थप कार्यक्रमहरू विद्यालयले ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गदै सम्पूर्ण महानुभाव प्रति आभार व्यक्त गदै उक्त कार्यक्रमको समापन गरेका हुन् । 

Logo