पूर्व सिकाई मान्यता विधिद्वारा सीप परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यशाला

पूर्व सिकाई मान्यता विधिद्वारा सीप परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यशाला

केन्द्रबिन्दु
0
Shares

सामाजिक विकास मन्त्रालयद्वारा आयोजित पूर्व सिकाई मान्यता विधिको माध्यमले सीप परीक्षण गर्ने सम्बन्धी अभिमुखीकरण कार्यशाला सम्पन्न भयको छ । सामाजिक विकास मन्त्रालयका प्रशासन,योजना, अनुगमन तथा शिक्षा विकास महाशाखाका प्रमुख रुद्रहरि भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व सिकाई मान्यता सीप परीक्षण के हो ? पूर्व सिकाई मान्यता सीप परीक्षण किन गर्ने ?, यसबाट उद्योग, कलकारखाना, निर्माण कम्पनी र कामदार कसरी लाभान्वित हुन् सक्छन् ? र पूर्व सिकाई मान्यता सीप परीक्षण  कहाँ, कहिले र कसरी गरिन्छ ? आदि विषयमा सहजीकरण गरिएको थियो ।

नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको सहयोग तथा सामाजिक विकास मन्त्रालयको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय सीप  परीक्षण समितिले रोजगारीको सिलसिलामा स्वदेश वा विदेशमा उद्योग, कलकारखाना, निर्माण कम्पनीमा सीपसँग सम्बन्धित काम गरी अनुभव प्राप्त गरेका व्यक्तिहरुलाई लक्षित गरी पूर्व सिकाइको मान्यता विधि बाट बागमती प्रदेशमा विभिन्न पेसामा सीप परीक्षण गर्ने कार्ययोजना भए अनुरूप यो अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा हेटौंडा स्थित विभिन्न औद्योगिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई सामाजिक विकास मन्त्रालयका प्रशासन,योजना, अनुगमन तथा शिक्षा विकास महाशाखाका प्रमुख रुद्रहरि भण्डारी,  राष्ट्रिय सीप  परीक्षण समितिकी उप निर्देशक निशा श्रेष्ठ, नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्तर्गतका कर्मचारी प्रतिभा जोशी, डेपुटी टिम लिडर, सञ्जीव पन्थी, प्रक्रिया व्यवस्थापक र प्रदेश स्थित परियोजना सहयोग इकाईका प्राविधिक संयोजक राम सापकोटा द्वारा सहजीकरण गरिएको थियो । 

कार्यक्रममा मकवानपुर उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल तथा विभिन्न मजदुर संघ संगठनका प्रतिनिधिले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको पूर्ण कार्यान्वयनमा जोड दिनु भएको थियो । कार्यक्रममा चैत्र १४ र १५ गते तिन समूहमा गरि जम्मा १८० जनाको सहभागिता रहेको थियो | कार्यक्रममा सहभागीहरूले ६ वटा  पेसा मात्र नभएर अन्य थप पेसामा पनि पूर्व सिकाई मान्यता विधिद्वारा सीप परीक्षण गरिनु पर्नेमा जोड दिनु भएको थियो | पूर्व सिकाई मान्यता विधिद्वारा सीप परीक्षण गर्न इच्छुक व्यक्तिहरूका लागि बाग्मती प्रदेशमा ६ वटा पेसामा सीप परीक्षण गर्न लागेको हुँदा तालिम परिषद्/परीक्षण समितिले आवेदन का लागि यही २०७८ चैत्र १४ मा प्रकाशित गोरखापत्रमा सूचना समेत गरेको छ ।   

नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना, नेपाल सरकार र स्विस सरकार को द्विपक्षीय परियोजना हो र यो परियोजना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्/राष्ट्रिय सीप  परीक्षण समितिले कार्यान्वयन गरिरहेको छ । परियोजनालाई स्विस सरकार विकास सहयोगको तर्फ बाट स्विस  कन्ट्याक्टले प्राविधिक सहयोग प्रदान गर्दछ ।

Logo