कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु हुने

कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु हुने

केन्द्रबिन्दु
0
Shares

यस वर्षको कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु हुने भएको छ। परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुने भएका छन्। जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ। अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा लिइएको थियो । 

महामारी हटेको र लकडाउनको अवस्था पनि नरहेकाले बोर्डले तोकेको निश्चित केन्द्रमा मात्रै परीक्षा लिइने र त्यसका लागि बोर्डले जिल्लागत रूपमा परीक्षा केन्द्रहरू निर्धारण गरिसकेको छ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षाकै दिन केन्द्रहरूमा प्रश्नपत्र पठाइने छ। बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। यसअघि बोर्डले वैशाख ९ देखि २० सम्म एसईई परीक्षा सञ्चालन गरेको थियो। 

Logo