‘सान्नानी तिमीलाई’ को रिमेकको प्रिमियर सम्पन्न

‘सान्नानी तिमीलाई’ को रिमेकको प्रिमियर सम्पन्न


चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा, प्रिन्सी खतिवडा र नन्दिता केसीलाई फिचर्ड गरिएको छ । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका हुन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गरेका छन् । 

२०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित भएका हुन् । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए । कार्यक्रममा बोल्दै गायक बोगटीले सान्नानी गीतकै कारण आफू सांगितिक क्षेत्रमा स्थापित भएको बताए । आफुलाई स्थापित गर्न र पहिचान दिनलाई गीतको महत्वपुर्ण भुमिका भएको र नयाँ पुस्तासम्म पुर्याउन नयाँ भर्जन ल्याएको उनको भनाइ थियो । 

बोगटीले धेरैले पुरानो गीत भन्दा नयाँ गीत गाउन सुझाव दिएपनि आफूले १२ वर्षमा खोला त फर्किन्छ यो त २० वर्ष भइसक्यो भन्ने हिसावले नयाँ बनाएको दाबी गरे । नेपाली सिने क्षेत्रमा सान्नानी भनेर चिनिने नन्दिता केसीले रिमेकमा पनि अभिनय गर्न पाँउदा खुसी लागेको बताइन् । 

कार्यक्रममा अभिनेता पुष्प खड्काले यो गीत अहिलेका दर्शकसामु पुनः पु-याउनु आफैँमा सुन्दर पक्ष भएको बताएका छन् । 

फरक स्वर, संगीत र अभिनयमा सजिएको सान्नानी तिमीलाई रिमेक नै भनेर बुझ्न पर्ने बाबु बोगटीले बताएका छन । उनले चाँडै नै सान्नानीको दोस्रो भर्सन ल्याउने घोषणा गरेका छन् ।

सान्नानी २ मा फरक कथा र विषयवस्तु समेटिएको नन्दिताले बताएकी छिन् । 
 

Logo