करिष्मा मानन्धरको गुनासोः ‘करियरमा कहिल्यै पनि बेस्ट नायिकाको अवार्ड पाइनँ’

करिष्मा मानन्धरको गुनासोः ‘करियरमा कहिल्यै पनि बेस्ट नायिकाको अवार्ड पाइनँ’


नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सोमवार चलचित्रको गीत सार्वजनिक गरिएको हो । 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्र निर्देशक एवं नायक सरोज खनालले चलचित्रमा वधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको बताए । उनले अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो भएझैँ महिलालाई पनि अर्को जीवनसाथीको खाँचो हुनेकुरा चलचित्रमा रहेको बताए  । 
 
उनले भने- ‘अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो हुन्छ भने महिलाहरुलाई हुँदैन ? हामी २१ औं शताब्दीमा छौँ । समानताको कुरा गर्छौं । कुरा गर्छौं, कर्म गर्दैनौँ । मैले यो सिनेमाबाट कर्म गर्न खोजेको छु । विधुवा पुरुषको मात्रै कुरा होइन, अहिले विधुवा पुरुषको कथाबाट बनेको महापुरुषले तहल्का पिटिरहेको छ, मैले यस फिल्ममा विधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको छु । त्यो उठाउने जिम्मा आजको पिढीको हो ।’

त्यस्तै अग्रज कलाकार वसुन्धरा भुसालले दर्शकहरुले यो चलचित्र मन पराइदिने विश्वास व्यक्त गरिन् । उनले चलचित्रले समाजमा महिलालाई परेको दुःखलाई देखाएको बताइन् । चलचित्रमा महिलाको हक, अधिकार र वेदनालाई समेटिएको बताइन् । 

अर्का अग्रज कलाकार नीर शाहले समाजलाई परिवर्तन गर्न चलचित्रको माध्यमबाट परिवर्तन गर्नका लागि यो चलचित्र आवश्यक रहेको बताए । उनले चलचित्रले सामाजिक कुरीतिबिरुद्ध एउटा सशक्त आवाज उठाएको उल्लेख गरे । 

त्यस्तै नायिका करिष्मा मानन्धरले बेस्ट नायिकाको रुपमा आफूलाई कुनै अवार्ड नआएको भन्दै गुनासो गरिन् । उनले आफूलाई जहिले पनि मेकअप र लुगाले मात्रै मूल्यांकन गर्ने गरेको बताइन्  ।  

उनले भनिन्- ‘उमेरसँगै मानिसले आफूलाई अर्को धारमा लैजानुपर्ने हुन्छ । त्यसको लागि म हाई ममी, बाई ममी भन्ने रोलमा गर्न रेडी थिइनँ । ग्ल्यामरस हिरोइनको छाप ममा छ, त्यसलाई कायम गर्नुपर्ने बाध्यता मलाई छ । करिष्मा मानन्धरले कहिले पनि बेस्ट नायिका भनेर अवार्ड पाएन । जहिले पनि यत्रो लामो करियर भयो, कहिले पनि पाएन । जहिले पनि मेकअप र लुगाको मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो मेरो । यो फिल्ममा मैले अभिनयबाट चिनाउने रोल गर्न पाएँ ।’
 
खनाल निर्देशित चलचित्र बगान आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । 

 

Logo