‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को पहिलो फिल्ड अडिसन नेपालगन्जमा

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को पहिलो फिल्ड अडिसन नेपालगन्जमा

केन्द्रबिन्दु
0
Shares

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन हुने भएको छ।
 
यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै इन्डियाको सिलिगुडीमा हुने भएको हो । जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १० गते, सिलिगुडीमा फागुन १४ र १५ गते, दमकमा  फागुन २० र २१ गते र काठमाडौंमा फागुन  २७ र २८ गते हुनेछ ।
 
अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने आयोजकले जनाएको छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरु काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्।
 
साथसाथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने बताइएको छ। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ। 

त्यस बाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चाहानेले पनि एपमार्फत् अडिसन दिन सक्नेछन् । सांस्कृतिक समूहमार्फत् सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुन पर्नेछैन। डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ  भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ।
  
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भने- ‘हामी हाम्रो संस्कृति जोगाउन  एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दु:खमा  परेकाहरूलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।’

‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । 

यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्नेछन्। उनले यस अघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन जस्तै नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल्च्याम्पस् । 

यी दुई शोहरु नेपालकै सर्वाधिक धेरैधनराशी भएको रियालीटी शोहरु हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाकोविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

Skip This
Skip This
Logo